समाज

असहाय बालकहरुलाई जेलब्रेकरको सहयोग, टाइगर ग्रुपको साथ

टाइगर ग्रुप पोखराले दिएको सहयोग रकम ग्रहण गर्दै जेल ब्रेकर राजु क्षेत्री । तस्बिर ः सन्देश÷नागरिक

आमा मानसिक सन्तुलन गुमाएकी । बुबा सानैमा बिते । ३ छोरा र १ छोरी मध्ये सबैभन्दा जेठी दिदी विवाह भएर गइन् । १३ वर्षिय छोरा मानसिक सन्तुलन गुमाएर घरमै छन् । ९ र ५ वर्षिय नाबालक २ छोरा बिचल्लीमा छन् । यो बागलुङ जिल्लाको विकट क्षेत्र मानिने बडिगाड गाउँपालिका– २ को टोपबहादुर विकको परिवारको पीडा हो ।

आर्थिक अवस्था कमजोर रहेका ती २ नाबालक विद्यालय जान समेत बञ्चित छन् । रेखदेख गर्ने बुबा सानैमा बिते । आमा आफै मानसिक समस्याका कारण सन्तान छुट्याउन समेत नसक्ने अवस्थामा छन् । तीनै बिचल्लीमा रहेका नाबालकलाई जेलब्रेकर राजु क्षेत्री तथा उनका साथीहरुले सहयोग गरेका छन् । माओवादीको जनयुद्धका क्रममा जेल पर्दा सुरुङ खनेर जेल ब्रेक गरेका क्षेत्री र उनका एसएलसी समुहका साथीहरु मिलेर विक परिवारलाई सहयोग गरेका हुन् ।

क्षेत्री र साथीहरुले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेर विक परिवारलाई प्रदान गरेका छन् । सो अभियानमा टाइगर ग्रुप पोखराले ५० हजार तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेशकुमार गुरुङले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । संकलित रकम क्षेत्री र उनका साथीहरु बागलुङ बडिगाड पुगेर शनिबार हस्तान्तरण गरे ।

जेल ब्रेकर क्षेत्रीले विक परिवारका २ नाबालकहरुको शैक्षिक तथा आर्थिक जीवनमा सघाउन पुग्नेगरी खर्च गरिने बताए । जसका लागि कोष खडा गरेर रकम जम्मा गरिएको उनको भनाई छ । आगामी दिनमापनि सहयोग निरन्तर गर्ने योजना रहेको क्षेत्रीले बताए ।

प्रकाशित: १५ फाल्गुन २०७७ ११:२६ शनिबार

सहयोग जेलब्रेकर