समाज

चर्चित मास्टर सेफ सन्तोष साह भन्छन् : ‘नेपाली खाना विश्वभर पस्किँदैछु’

तस्बिर रासस

नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनै मध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह  ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए। पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उहाँको सामान्य र सरल जीवन, दुःख, संघर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले।  

‘नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ’ , सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने।  

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए। बेलायतमा छिट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेष्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताएका छन्। उनी भन्छन्, ‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ ।जब म ‘प्लाष्टिकको झोला बेच्दथेँ र पाउरोटी बेच्थेँ त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु।’

अहिले जतिपनि सेफहरूछन्  उनीहरु नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए। ‘नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन। खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ’, उनले भने, ‘हाम्रो ‘फुड इन हाइजिन’ छैन, चिसो खाना नखानू र बोतलबिनाको पानी नपिउनू भन्ने हाम्रो सन्देश हो। चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ। मेरा जति साथी छन् तीनलाई तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ। विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ।’

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वास थिएन। देशभित्र भान्से र खानाका लागि मान्यतै छैन। यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागि संघर्षको यात्रा सुरु गरिएको साहले बताए। उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए। ‘अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ’, उनले भने।  

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन्।  चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ। पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए। खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए। भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ। खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ। सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उनको भनाइ छ।  

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका साह करिब एक महिना नेपालमा रहनेछन्।  

यसरी विश्वभर चर्चित बने  

बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स २०२०’ मा साह उपविजेता बनेका थिए। संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए।  ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने। उनको अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशांसा बटुलेका थिए।  

साहको यो सफलतालाई संसारभरका सञ्चारमाध्यमले स्थान दिए । नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ । अन्तिम प्रतिस्पर्धामा सेफ साहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए।  

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशवदेशका लाखौँ नेपालीको मन जित्न सफल भए। नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने जानकारी दिए्।  

प्रकाशित: १३ फाल्गुन २०७७ ११:५९ बिहीबार