समाज

जमिन माग्दै मुख्यमन्त्री कार्यालयको गेट नजिकै वादी समुदायको धर्ना

छ महिने नातिनीलाई दूध खुवाउँदै लक्ष्मी वादी ।

जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालयको गेट नजिकै धर्नामा बसेका छन्। कालिकोट र दैलेखबाट पैदल हिँडेका वादी समुदायका ४०२ जना नागरिक राति साढे आठ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए। वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताएको छ।

‘गाउँको सिंहदरवारबाट हाम्रा माग सम्बोधन नहुने देखेपछि प्रदेशको सिंहदरवारको गेटमा धर्ना दिन आएका हौं,’ वादी अधिकार संघर्ष समितिका अध्यक्ष प्रेम वादीले भने, ‘स्थायी पूर्जासहितको जमिन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर फर्किदैनौं।’ स्थायी पूर्जाको माग गर्दै आएका वादी समुदायसँग अहिले छाना, नाना र खाना छैन। चिसो मौसममा चार महिने काखेाबालकदेखि ७० वर्षसम्मका वृद्धसम्म खुल्ला चौरमा धर्नामा बसेका छन्।  

कालिकोटकी लक्ष्मी वादी छ महिने नातिनी काखमा च्यापेर धर्नामा बसिरहेकी छन्। लक्ष्मीको परिवार काम खोज्दै २०६० सालतिर कालिकोट पुगेको थियो। परम्परागत पेशाले दैनिकी चलाउन गाह्रो भएपछि छोरा–बुहारी कमाउन कालापहाड जान्थे। गत साउनमा विशालु च्याउ खाँदा छाेरा डम्वर र बुहारी बत्तीसरा कालापहाडै विते। नौ दिनकी श्रृष्टी टुहुरी भइन्। उनी कमाउने जमिन र ओत लाग्ने छानो माग्न कालिकोटबाट हिँडेरै आएकी हुन्।

माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय अहिले संकटमा छ। उनीहरुसँग खेतीयोग्य जमिन छैन। ‘माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ, ठेकेदारले खोला पस्न दिँदैनन्, मादल र सुल्पा विक्री हुँदैनन्,’ वादी समुदायका अगुवा हिक्मत वादीले भने, ‘केही विकल्प नभएपछि जमिन र घर माग्दै प्रदेश सरकार गुहार्न आएका हौं।’  

दैलेखमा मात्रै ६६९ परिवार वादी समुदायको छ। ति मध्ये केहीलाई सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएर दिएको छ। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका हरिवोदन वादीको २१ जनाको परिवार छ। जनता आवासमार्फत बनेको एउटा घरमा पाँच जनाबढी अट्दैनन्। उनको पूरै परिवार जमिन माग्दै अहिले मुख्यमन्त्री कार्यालयमा धर्ना दिइरहेको छ। ‘परम्परागत पेशाले जीवन धान्न नसकिने भएकाले जमिन माग्न आएका हौं,’ उनले भने, ‘हातमा जमिनको लालपूर्जा नआउँदासम्म आन्दोलन रोक्दैनौं।’

विष्टको सहयोग

जमिन र छानो माग्दै आन्दोलन गर्न आइपुगेका वादी समुदायलाई नेपाल दरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले खाद्यान्न उपलब्ध गराएका छन्। कालिकोट र दैलेखबाट भोकभोकै हिँडेर आएका उनीहरुलाई विष्टले खाना पकाउनका लागि ग्याँस, दाउरा, खाद्यान्न र खानेपानी उपलब्ध गराएका हुन्।

‘खुल्ला चौरमा चिसोमा भोकभोकै सुतेको देखेपछि खाद्यान्न र अन्य सामाग्रीहरु उपलब्ध गरेको हुँ,’ विष्टले भने, ‘राज्यले वादी समुदायसँग तत्काल संवाद गरेर उनीहरुका माग सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ।’  

प्रकाशित: ११ फाल्गुन २०७७ ०२:०५ मंगलबार

धर्ना वादी समुदाय जमिन घर र रोजगारी