समाज

चितुवाको छाला सहित तीन पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट सल्यानका तीन जना पक्राउ परेका हुन्। चितुवाको छाला ओसार–पोसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बाघचौर नगरपालिका वडा नम्बर ३ का ३१ बर्षिय जितबहादुर डि.सी, कुमाख गाउँपालिका वडा नम्बर ७ निवासी २१ वर्षका कमल डि.सी र सोही ठाउँका २४ वर्षिय हिमेन्द्र ओलीलाई पक्राउ गरेको हो।  

पक्राउ परेका द्धय डिसी कृषि पेशामा आवद्ध छन्, भने ओली हेल्थ असिष्टेन्ट हुन्। पक्राउ परेका मध्ये जितबहादुर लामो समयदेखी वन्यजन्तुका छाला र अंग खरिद बिक्री गर्ने कार्यमा संलग्न रहदै आएको खुलेको छ। प्रहरीका अनुसार जितबहादुरले नै दुई वर्षअघि चितुवालाई पासोमा मारेर छाला निकालेका थिए। उक्त छाला नेपालगन्जमा ल्याएर ब्यापारीलाई बिक्री गर्ने भनि ल्याउँदै गरेको सूचनाका आधारमा कुसुमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए। पक्राउ परेका ब्यक्तिलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाखदेखी २५ लाख सम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्ने उनले बताए।

 

 

प्रकाशित: १० फाल्गुन २०७७ ११:५८ सोमबार

पक्राउ