समाज

महाशिवरात्रिमा साधुसन्तको दक्षिणाको लागि २८ लाख ६५ हजार माग

गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी सुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८ सय किलो दाउराको व्यवस्था गरिएको छ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिए। यस वर्ष ९ सय५१ रूपैयाँ, ७सय५१ रूपैयाँ, रु ५ सय५१ रूपैयाँ, ३ सय५१, २ सय५१ र १ सय५१ रूपैयाँ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ। सोका लागि केन्द्रीय कार्यालयसँग २८ लाख ६५ हजार ३ सय७६ रूपैयाँ माग गरिएको छ।  

साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ। नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ। संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र  धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ। औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ। यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ। साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ।  

कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ। पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो। कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ। महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए। रासस

प्रकाशित: १० फाल्गुन २०७७ ०८:१२ सोमबार

पशुपति क्षेत्र महाशिवरात्रि साधुसन्त