समाज

झोलामा कार्यालय !

नयाँ भवन प्रयोगविहीन

गोरखाको गण्डकी गाउँपालिका–२ ताङ्लिचोकमा रहेको पशु र कृषि सेवा केन्द्रको प्रयोगविहीन नयाँ भवन । तस्विर ः नागरिक

गण्डकी गाउँपालिका–२ ताङ्लिचोकमा रहेको पशु र कृषि सेवा केन्द्रको नयाँ भवन बनेको करिब चारवर्ष पुग्न लाग्यो । भवनमा बसेर सेवा दिनुपर्ने कर्मचारी भने झोलामा कार्यालय राखेर हिँडेपछि नयाँ भवन प्रयोग नहुँदै जिर्ण बन्ने अवस्थामा पुगेको छ ।  

भूकम्पपछि दातृ संस्थाले निर्माण गरेको प्रिफ्याब भवन निर्माण भएदेखि एकदिन पनि खुलेको छैन । कार्यालय नखुल्ने र सेवाग्राही नआउने उक्त भवनमा एनजिओ–आइएनजिओले खुट्टाको सहायताले हात धुने प्रविधि पनि जोडिदिएका छन् ।  

‘यो कार्यालय खुल्दैन, हामी कृषिको सेवा लिन वडा कार्यालय र पशुको सेवा लिन कर्मचारी घुम्दै आएको बेला भन्नुपर्छ,’ स्थानीय भीमप्रसाद अर्यालले भने, ‘अहिले कार्यालय कर्मचारीको झोलामा छ, हामीले सेवा लिन कर्मचारी खोज्दै हिड््नुपर्छ । कार्यालय कहिल्यै खुल्दैन ।’

प्रिफ्याबका दुईवटा भवन छन् । चर्पी, पानीटंकी सबै दुई–दुईवटा छन् । भवनभित्र फर्निचर पनि छन् । तर अहिलेसम्म प्रयोगमा आएका छैनन् । २०४२ सालमा त्यहाँ पशु र कृषिको केन्द्र स्थापना भएको थियो । गोरखा–१ को तल्लो भेगका नागरिकले त्यहाँबाट कृषि र पशु सेवा पाउँथे । १३ रोपनी जग्गा कृषिको नाममा छ । अन्य १२ रोपनी सहित २५ रोपनी जग्गामा पहिले सेवाकेन्द्र थियो । द्वन्द्वकालमा उक्त केन्द्र ध्वस्त भएपछि बिस्थापित भयो ।

‘हामीले पटक–पटक सेवा केन्द्र राखिदिन गाउँपालिकालाई पनि भन्यौं,’ स्थानीय शिक्षक मदन पन्तले भने, ‘पशुपालन र कृषिको सम्भावना रहेको यस क्षेत्रमा सेवा केन्द्रको भवन मात्रै छ । सेवा नहुँदा किसान खुसी छैनन् ।’ ताङ्लिचोक र आसपासको ठाउँ सुन्तला खेती, पशुपालनका लागि राम्रो मानिन्छ । त्यहाँ सेवा केन्द्र हुँदा किसानलाई ठुलो राहत मिल्ने शिक्षक पन्तले बताए । ‘लाखौं रुपैयाँ खर्च गरेर बनाएको सेवा केन्द्रको भवन प्रयोगविहीन भएर जिर्ण बन्दै गएको छ,’ उनले भने ‘यसलाई प्रयोग नगर्ने भए निर्माण गर्नु हुँदैनथ्यो, राज्यको लगानी बालुवामा पानी भयो ।’

वडा अध्यक्ष देउबहादुर गुरुङले उक्त भवन आफु निर्वाचित भएर आउनुअघि बनेको बताउँदै भने ‘कसले बनाईदिए थाहा भएन, तर त्यहाँ वडा समितिको बैठक, कृषिको प्राविधिक बस्ने निर्णय भने हामीले गरेका छौं,’  तर बस्न सुरु भईसकेको छैन ।’ अहिले वडाबाटै काम गरिरहेको उनले बताए । बत्ती, पानी, सडक सबै सुविधा पुगेको उक्त ठाउँमा भवन निर्माण भएर प्रयोगहिन बनेको हो ।  गाउँपालिका अध्यक्ष होमबहादुर रानाले उक्त भवन छिट्टै नियमित प्रयोगमा आउने बताए । ‘त्यस क्षेत्रका जनतालाई कृषि, पशुको सेवा दिने गरी इकाईको रुपमा विकास गर्ने योजना छ,’ उनले भने ।

प्रकाशित: ९ फाल्गुन २०७७ १०:२१ आइतबार

गण्डकी गाउँपालिका