युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले ललितपुरको एकान्तकुनामा जीप, कार, ट्याक्सी जस्ता साना गाडी चलाउने एक महिने ड्राइभिङ तालिम सुरु गरेको हो । कतिपय विदेशबाट फर्किएका तथा कतिपय गाउँमै बसिरहेका युवा सहभागी ड्राइभिङ तालिम हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले उद्घाटन गरेकी हुन् । ड्राइभिङ तालिम लिएका कोही पनि युवा बेरोजगार भएर बस्नु नपरेको तथ्यलाई ध्यानमा राखेर ड्राइभिङ तालिम सुरु गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए।
वडा कार्यालयले चालु आर्थिक वर्ष बिनियोजन गरेको २ लाखमा युवालाई एकान्तकुनामा भेला गरेर ‘सीप सिकौं, स्ववलम्बी बनौं’ भन्ने नारासहित ड्राइभिङ तालिमको आयोजना गरेको हो । १५ जनादेखि २० जनालाई लक्ष्यीत गरेर ड्राइभिङ तालिमको आयोजना गरिएको भए पनि ४५ जना सहभागी आएको वडाध्यक्ष राउतले बताए । काठ्माण्डौंमा बसिरहेका युवालाई लक्ष्यीत गरेर आयोजना गरिएको ड्राइभिङ तालिममा गाउँका २० जना युवा पुगेका छन् । ड्राइभिङ तालिममा सबैभन्दा बढि बैदेसिक रोजगारीबाट फर्किएका युवा सहभागी भएको वडाध्यक्ष राउतले बताए । ‘रोजगारको कुरा गर्ने वित्तिकै सीपको कुरा आउँदो रहेछ । तर हाम्रो अनुभवमा युवाका लागि सञ्चालन गरिएका कुनै पनि सीपमुलक तालिम प्रभावकारी भएनन् । अध्ययन गर्दा ड्राईभिङ सिकेका युवा कोही पनि खाली बस्नु परेको देखिएन,’ वडाध्यक्ष राउतले भने, ‘वडाबाट पनि ड्राईभिङ तालिमकै माग आयो । सीपमध्ये ड्राईभिङको सम्भावना राम्रो देखिएकाले सोही सम्वन्धी तालिम आयोजना गर्ने निर्णयमा पुगेका हौँ ।’ लक्ष्यभन्दा बढि सहभागी भएकाले अन्य शिर्षकको बजेट रकमान्तर गरेर खर्च गर्नुपर्ने अवस्था आएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले प्याराडाइज ड्राईभिङ स्कुलमा ड्राईभिङ तालिम सञ्चालन सुरु गरेको हो । ड्राईभिङ तालिममा बैदेसिक रोजगारीबाट फर्किएका युवाको आकर्षण बढि देखिएको छ । खाने–बस्ने व्यवस्था आफै गर्नुपर्ने तालिममा आफ्नै खर्च गरेर गाउँबाट समेत युवा पुग्दा उत्साहित बनाएको वडाध्यक्ष राउतले बताए । ‘काठ्माण्डौंमा बसिरहेका युवाका लागि भनेर ड्राईभिङ तालिम आयोजना गरिएको थियो,’ वडाध्यक्ष राउतले भने, ‘तर आफै खाने बस्ने व्यवस्था गर्छौँ, आफन्तकोमा बसेर तालिम लिन्छौं भन्दै गाउँबाट पनि युवा पुगेका छन् । युवाले चासो देखाएकाले तालिम फलदायी हुनेमा हामी उत्साहित छौँ ।’
प्रकाशित: ८ फाल्गुन २०७७ ०५:०९ शनिबार