समाज

झी पुचःमा सामूहिक बेलविवाह

नेवारी समुदायमा कन्याहरूको बेलविवाह गरिदिने प्रचलन छ। ५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ। केही संस्थाहरू आफ्नो संस्कृति र परम्परालाई जोगाउन कम्मर कसेर लागेका छन्। विराटनगरस्थित झी पुचः पनि नेवारी भाषा, संस्कृति र परम्पराको जर्गेनामा चार दशकभन्दा लामो समयदेखि सक्रिय छ।  

झी पुचःले गर्ने विविध कार्यक्रममध्ये बेलविवाह पनि एक हो। बेलविवाहलाई नेवारी भाषामा ‘इही’ भनिन्छ। झी पुचःको भवनमा सोमबार सुरु भएको सामूहिक बेलविवाह मंगलबार समापन हुँदैछ। झी पुचः स्थापना भएदेखि नै निरन्तररूपमा बेलविवाह सञ्चालन गर्ने गरेको अध्यक्ष जयन्त प्रधानांगले बताए। बेलविवाह गर्दा नेवार समुदायका महिलाहरू पतीको निधनपछि पनि एक महिला नहुने परम्परा रहेको छ।

विगत ४० वर्षदेखि झी पुचःले बेलविवाह, व्रतबन्ध, गाईजात्रालगायतका गतिविधि सञ्चालन गरिरहेको झी पुचः का उपाध्यक्ष भविसकुमार श्रेष्ठ बताए। विगतमा ४० जनाभन्दा बढी सहभागी हुने गरे पनि यस पटक कोभिडका कारण २० जना कन्यालाई मात्रै समावेश गरिएको श्रेष्ठले बताए। बेलविवाह नेवारी कन्याहरूको गर्नै पर्ने संस्कार भएको हो।

५ देखि ११ वर्षभित्रका कन्याको विधिपूर्वक बेलविवाह गरिन्छ। नेवारी संस्कृतिमा बेलविवाहको धेरै नै महत्व रहेको झी पुचः का पूर्वअध्यक्ष राजन श्रेष्ठले बताए। उनले भने,  

सबै वर्गका मानिसको सजिलोका लागि र कमजोर आर्थिक अवस्था भएकाहरूलाई सामूहिक बेलविवाह निकै महत्वपूर्ण हुने गरेको छ।  

सामूहिक बेलविवाहले आर्थिकरूपमा कमजोर भएका व्यक्तिलाई निकै नै सहज हुनेछ। बेलविवाहमा बेहुलीझैं कन्याहरू चिटिक्क सिंगाएर बस्छन्। नेवारी परम्पराअनुसार नेवार पुरोहितले विधिपूर्वक बेलविवाह सम्पन्न गराउँछन्। बेलविवाह गर्दा पतीको निधन भएपछि पनि रातो टीका, सारी र चोलोलगायतका रंगिन लुगा लगाउन सकिने भएकाले यसको छुट्टै महत्व रहेको नेवारी संस्कृतिका जानकार तोरेन्द्रमानसिंह प्रधानले बताए। बेलविवाहमा झापा, सुनसरी, धनकुटालगायत जिल्लाबाट सहभागी भएका छन्।

प्रकाशित: ४ फाल्गुन २०७७ ०२:१५ मंगलबार

सामूहिक बेलविवाह