समाज

पालिका अध्यक्षले कर्मचारी धम्क्याए

नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित शैलुङ गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै दुव्र्यवहार गरेका छन् । गाउँपालिका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहलाई कार्यालयभित्रै हातपात प्रयाससमेत गरी धम्क्याएका हुन् ।

अध्यक्षको धम्की र मानसिक यातनापछि प्रमुख प्रशासकीय अधिकृत साहले प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीसमक्ष उजुरी दिएका छन् । उजुरीमा साहले आफूमाथि कार्यालय समयभित्रै अध्यक्षबाट दुव्र्यवहार भएको, मानसिक रुपमा  यातना दिएको र काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन् ।

ओली समूहको आमसभामा कार्यकर्ता ओसारेको गाडीको भाडा तिर्न नमानेपछि शैलुङ गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई दुव्र्यवहार गरेका छन् ।  

स्रोतका अनुसार अध्यक्ष दुलालले ओली पक्षको सभामा लगिएको बसको भाडा तिर्न र गाउँपालिकामा आयोजना भएको खेलकुद प्रतियोगिताका रेफ्रीलाई दैनिक ८ हजारका दरले भत्ता पाउनेगरी पेस भएको भुक्तानीको कागजात अगाडि बढाउन दबाब दिएका थिए । साहले बसको भाडाबापतको रकम भुक्तानी गर्न कार्यालयमा चन्दा शीर्षक नभएको र रेफ्रीलाई दैनिक ८ हजार रुपैयाँ भत्ता दिन नियमले नमिल्ने बताएका थिए । ‘करिब ८० हजार हाराहारीमा बस भाडाको प्रस्ताव र खेलकुद प्रतियोगिताको करिब २ लाख बराबरको बिल भर्पाई पेस भएकोमा हाकिम सा’प ले एक लाखको बिल नमिलेको भन्दै भुक्तानी दिन आनाकानी गर्नुभयो’, एक कर्मचारीले भने, ‘त्यसपछि उहाँहरूबीच द्वन्द्व बढ्दै जादा कार्यालय हाताभित्रै धम्कीसहित दुव्र्यवहारसम्मको स्थिति बनेको हो ।’ साहले भने खुलेर प्रतिक्रिया दिन मानेनन् । ‘मानसिक यातना र दुव्र्यवहार सहन सकिनँ, त्यसैले हामी सबै कर्मचारीका अभिभावक सिडिओलाई उजुरी दिएको छु’, उनले भने, ‘अहिले मेरो भन्नु केही छैन’ ।  

गाउँपालिका अध्यक्ष दुलालले भने बसभाडा तिर्न भनेर दबाब नदिएको दाबी गरे । ‘अलिअलि भनाभन भएको हो तर बस भाडा तिर्न दबाब दिएको होइन’, उनले भने । आफू र वडाध्यक्षहरूसहित गाउँपालिकाका जनप्रतिनिधिले पैसा उठाएर बस रिजर्भ लगेको उनले बताए । दुलालले गाउँपालिकाको दैनिक काममा प्रशासकीय अधिकृतका कारण नै समस्या भएको आरोप लगाए । ‘जिल्ला प्रशासन कार्यालय र माथिल्लो निकायमा उनका कारण गाउँपालिकाको दैनिक कार्य सञ्चालनमा समस्या परेको कुरा जानकारी गराइसकेको छु’, उनले भने ।

अध्यक्षसँगको टकरावका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत पनि छोटो समयमा सरुवा जाने गरेका थिए । साहसहित ५ जना अधिकृतमध्ये ४ जना ६ महिना पनि नपुगी सरुवा भएर फर्किएको गाउँपालिकाका एक कर्मचारीले बताए । प्रमुख जिल्ला अधिकारी शिवाकोटीले साहको उजुरी परेको बताए । ‘हिजो आएर अध्यक्षले समेत साहका कारण काम गर्न नसकेको भन्दै मौखिक उजुरी गर्नुभएको छ’, उनले भने, ‘दुवै पक्षलाई राखेर छलफल गर्ने तयारीमा छौं’ ।

प्रकाशित: १ फाल्गुन २०७७ ०१:२६ शनिबार

नेकपा ‌ओली समूह