समाज

कान्ति देवीको हत्या आरोपमा पक्राउ परेका दुई जना सार्वजनिक

तस्वीर: पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै बारा प्रहरी।

बारा प्रहरीले महागढीमाई नगरपालिका–१ बरियारपुरका बैजनाथ महतोकी श्रीमती कान्ति देवीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन गरि महागढीमाई नगरपालिका–१ का लालबाबु प्रसाद कुशवाहा र धनेश्वरी देवीलाई सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले लालबाबुलाई धनेश्वरीले परिचालन गरि कान्ति देवीको हत्या गराएको अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार कान्ति देवीको परिवार र धनेश्वरीको परिवारबीच जमिनको विषयमा विवाद रहेको र पुरानो विवादको कारण नै धनेश्वरीले कान्ति देवीको हत्या गराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शाहीले घरमै सुतिरहेका अवस्थामा हत्या गरिएकी कान्ति देवीको घरबाट बरामत भएको रातो गम्छा र औंठीको बारेमा स्थानीयहरुसँग सोधपुछ गर्दै जाँदा दुबै जनाको संलग्नतामा कान्तिको हत्या भएको देखिएको बताए।  प्रहरीले गम्छा र औंठी भएको व्यक्तिलाई पहिचान गर्न ३२ जनासँग सोधपुछ गरेको जनाएको छ।

कान्तिको हत्या अभियोगमा पक्राउ परेका लालबाबु यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको देखिएको प्रहरीको भनाई छ। उनी डकैती, हातहतियार तथा विभिन्न सार्वजनिक अपराधका घटनामा पटक–पटक पक्राउ परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

महागढीमाई नगरपालिका १ का कुशवाहाकी श्रीमती ४८ वर्षीया कान्ति देवीको माघ २५ गते राति आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियाे।

प्रकाशित: ३० माघ २०७७ १३:४२ शुक्रबार

कान्ति देवीको हत्या अपराध