समाज

एक जोर लुगाको लोभमा पर्दा...

व्यक्तिको जग्गा किर्ते प्रकरण

अर्काको जग्गा किर्ते गरेर आफ्नो नाममा ल्याएका मुख्य अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफु फसेको बयान दिएका छन् । पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफु काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफुलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन् ।

‘साहुले भनेपछि नाई भन्न सकिनँ,’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्, ‘बाचा अनुसार नयाँ कपडा पनि किनिदिएनन् ।’ कार्कीका अनुसार असार पाँच गते तीनै जना वीरेन्द्रनगर–१ स्थित घरमा आएर जग्गा तपाईको नाममा गरिदिन्छौं, त्यसवापत नयाँ कपडा किनेर दिन्छौं भनेका थिए । ‘असार आठ गते वडा कार्यालय, नापी र मालपोत कार्यालयमा पु¥याए,’ उनले बयानमा भनेका छन्, ‘एकै दिन जमिन मेरो नाममा आयो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर–१२ को करोडौं मूल्यको सौगात रावतको नाममा रहेको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते एकैदिन वडादेखि मालपोतसम्म फाइल पु¥याएर कार्कीको नाममा दर्ता गरिएको थियो । ‘आम सर्वसाधारणलाई जमिन किनबेच गर्न महिनौं समय लाग्छ,’ अनुसन्धान अधिकारीसमेत रहेका प्रहरी निरीक्षक कनकबहादुर शाहीले भने, ‘यो घटनामा भने एकै दिन वडादेखि मालपोतससम्मको काम सकेर जमिन नामसारी गरिएको छ ।’  

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी खत्री, नायव सुब्बा विश्वरुप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा ख।िदकर्ता सहवीर कार्की, जग्गा कारोवारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायण बहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्धा दर्ता गरेको थियो ।

ति मध्ये कार्की र कम्प्युटर अपरेटर राना पुर्पक्षका लागि थुनामा छन् । मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठ जनही पाँच–पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारी जनही दुई–दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्री दुई–दुई लाख धरौटीमा छुटेका छन् । अन्य सरकारी कर्मचारी र जग्गा कारोवारीहरु भने फरार छन् ।

प्रहरीका अनुसार बुढाको बाख्रा फर्ममा काम गर्ने कार्कीसँग वीरेन्द्रनगरमा एक छुक्रा जमिन किन्ने आर्थिक हैसियत छैन् । दैलेखबाट मजदुरी गर्न झरेका उनी बुढाको सम्पर्कमा पुगेका थिए । जग्गा दलालहरुले असार आठ गते कार्कीको नाममा नामसारी गरेको जमिन त्यसको भोलिपल्टै अरुलाई विक्री गरेका थिए ।  

‘असार ९ गते फेरि मालपोत कार्यालय लगेर गए,’ कार्कीले दिएको बयानमा भनिएको छ, ‘माक्स लगाएका मालपोतका कर्मचारीले भनेको ठाउँमा ल्याप्चे लगाएर फर्किएँ ।’ उनले मुल जग्गाधनीलाई आफुले नचिनेको बताएका छन् । ‘वडादेखि मालपोतसम्म कहीँ पनि मुल जग्गाधनी आएनन्, सबै काम बुढा, ठाकुर र गिरीलेनै गरेका हुन्,’ उनले भनेका छन्, ‘वडा, नापी र मालपोतका कर्मचारीसँग पहिलेनै मिलाएका रहेछन्, मैले ल्याप्चे र हस्ताक्षर मात्रै गरेको हुँ ।’ प्रहरीका अनुसार आफु काम गर्ने फर्मका सञ्चालकको कुरा काट्न नसकेर कार्की यो अपराधमा संलग्न भएका हुन् ।  

प्रकाशित: २९ माघ २०७७ ११:११ बिहीबार

जग्गा किर्ते एक जोर कपडाको लोभ मालपोत कार्यालय सुर्खेत