समाज

सधैँ दुर्गन्धित अत्तरिया चाेक !

सुदूरपश्चिम प्रदेश सभाको बैठकले २०७५ असोज १२ गतेका दिन  सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरीमा  राख्ने निर्णय गर्‍यो । राजधानी गोदावरी नगरपालिकाको तेघरीमा घोषणा भएसँगै नगरपालिकाको एकमात्रै ठूलो र प्रदेशकै मुख्य प्रवेशद्वारका रुपमा रहेको अत्तरिया बजाले गति पाउने आशा लियो । तर, प्रदेशकै प्रवेश द्वारका रुपमा रहेको अत्तरियाले गति पाउन त कहाँ हो कहाँ उल्टै दुर्गन्धित ढलले बद्नामित हुन थालेको छ ।  

अत्तरिया चाेक सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वारका रुपमा रहे पनि यहाँ पुग्ने वित्तिकै सुन्दर सुदूरपश्चिमको कल्पना गरेर आएका आगन्तुकहरूले सोचेभन्दा फरक वातावरण पाउन थालेका छन् । वर्षौंदेखि अत्तरिया मुख्य चौकको सडक फुटेर खाल्डा खुल्डी पर्नुका साथै चौकको पहाड रोड किनारमै दुर्गन्धित ढलले प्रदेशको परिचय ‘निच’ बनाइदिएको छ ।  

अत्तरिया चाेककै फुटेको सडकमा गुडिरहने गाडीले उडाउने धुलोले साँच्चै प्रदेशको स्थायी राजधानी तथा प्रदेशकै प्रमुख प्रवेश द्वारका रुपमा रहेको अत्तरियालाई ‘गिज्याइ’ रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा बताउँछन् । ‘सुन्दर सुदूरपश्चिम भनेर आउने जो कोहीलाई अत्तरिया आउने वित्तिकै साँच्चै सोचेभन्दा फरक लाग्न सक्छ,’ उनले भने,‘फुटेको सडकबाट उडेको धुलो खाँदै नजिकैको दुर्गन्धित नालको दुर्गन्धमा नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।’ आफूहरूले पटक–पटक अत्तरिया चाेकको फुटेको सडक टालिदिन र किनारमै खुला रुपमा बग्ने दुर्गन्धित नालालाई व्यवस्थित गरिदिन नगरपालिका, प्रदेश सरकार र सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई अनुरोध गर्दा पनि सुनुवाई नभएको उनको गुनासो छ । ‘हामीले अत्तरिया चौकको अव्यवस्थित तथा दुर्गन्धित सडक र नालालाई व्यवस्थित गर्न पटक पटक सम्बन्धित निकायलाई अनुरोध गर्‍यौं,’ उनले भने,‘अहिलेसम्म कुनै सुनुवाई नै भएन ।’  

मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडक कालोपत्रे भइसकेको छ । सीमा क्षेत्र मोहनापुलदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन । चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘धुलाम्य चोक’ र दुर्गन्धित वातावरणले मन कटक्क हुने गरेको स्थानीय व्यापारी नरेन्द्र भट्टले भने,‘चाेकमै पुग्दा लाग्छ कुनै दुर्गम ग्रामीण क्षेत्रको ग्राभेल सडकमा सवारी सधान गुडिरहेको छ र नजिकै दुर्गन्धित नालाले नाक थुनेर हिँड्नु पर्ने हुन्छ ।’

प्रवेशद्वारकै सडकको अवस्था नाजुक रहेको अत्तरिया अर्की स्थानीय माया पाण्डेय बताउँछिन् । ‘यो अत्तरिया चोक वर्षौंदेखि बिग्रिएको अवस्थामा छ,’ उनले भनिन्,‘अहिलेसम्म कसैले पनि बनाउने प्रयास गरेको छैन ।’ खाल्डाखुल्डी परेको ठाउँमा टाल्न नसके पनि ग्राभेल हालेर खाडल पुरिदिन पटक–पटक स्थानीय तह र सडक डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कसैले नसुनिदिएको गुनासो उनले गरिन् । ‘अगाडि पछाडि राम्रो सडक छ, अत्तरिया चाेकैमुनि खाल्डाखुल्डी छन्,’ उनले भनिन्,‘ठीक त्यसकै उत्तरतर्फ सडक किनारमै दुर्गन्धित नालाले नाक थुनेर हिँड्नु पर्ने बाध्यता छ ।’  अगाडि पछाडिको चिप्लो सडक देखेर सवारी हुइँक्याउँदै आउनेहरु चाेकमा पुगेपछि ब्रेक हान्दा दुर्घटना हुने भय बढेको बताउँदै उनले भनिन्,‘खाल्डा खुल्डीले दैनिक दुर्घटना बढीरहेका हुन्छन् ।’  

अत्तरिया चाेकको फुटेको सडकलाई चालू आर्थिक वर्षमा मर्मत सम्भार गरिने बताउँदै सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले भने,‘हामीले दसैं लगत्तै निर्माण गर्ने भनिए पनि विविध कारणले रोकियो, अब दुई हप्ता भित्रै टेण्डर प्रक्रिया अगाडि बढाउने छौँ ।’ विश्व बैंकको आर्थिक सहयोगमा अत्तरिया चाेकलाई व्यवस्थित  बनाउने भएका कारण केही ढिलाई भएको स्वीकार्दै उनले भने,‘हामीले अत्तरिया चाेकको स्टमेट बनाएर सडक विभागमा पठाइ सकेका छौँ, अब तुरुन्तै ठेक्का आह्वान भएर काम अगाडि बढ्ने छ ।’ 

अत्तरिया चाेकसँगै नालामा रहेका स्ल्यावलाई पनि मर्मत सम्भार गरिने बताए ।  उनले अबको केही दिनमै अत्तरिया चाेकमा परेका खाडललाई टेण्डर आह्वान गरेरै पूर्व–पश्चिम र उत्तरी सडकलाई चार लेनको बनाइने समेत बताए ।

प्रकाशित: २४ माघ २०७७ ०८:३३ शनिबार

अत्तरिया चाेक दुर्गन्धित सुदूरपश्चिम प्रदेश