गएको २८ असोजमा मेरो श्रीमान्को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो, तर त्यसको भोलिपल्टदेखि उहाँलाई हल्का ज्वरो आउन थाल्यो। अर्को दिनदेखि रुघा लागेर बेसरी टाउको र शरीर पनि दुख्न थालेपछि कोराना संक्रमणको आशंकामा उहाँ ‘होम क्वारेन्टिन’ बस्न थाल्नुभयो। एक दिन, दुई दिन गर्दागर्दै सात दिनसम्म ज्वरो नघटेपछि पुनः परीक्षण गर्यौँ, कोरोना पोजिटिभको रिपोर्ट आयो। श्रीमान्सहित परिवार सबै झस्कियौँ। मनमा अनेक पीर–चिन्ता हुँडलिए, त्यसलाई लुकाएर मैले स्वास्थ्यकर्मीबाट पाएको परामर्श अनुसार उहाँलाई ढाडस दिन थालेँ। ज्वरो आएको चौथो दिनदेखि नै अमेरिकामा नर्स पेसा अँगालेकी बहिनीको परामर्शमा दश दिनसम्म सिटामोल खुवाइयो, तर सय डिग्रीबाट ज्वरो तल नओर्लिएपछि हंसले ठाउँ छाड्लाजस्तो भयो।
औषधि खाँदा पनि १० दिनसम्म पटक्कै ज्वरो नघटेपछि उहाँले आत्मबल गिरेकोजस्तो अनुभव सुनाउनुभयो। डाक्टर सुुरेश दाहालको स्वास्थ्य परामर्शसँगै नआत्तिन सुझाउँदै तुलसीको पात राखेर उमालेको तातोपानी र टुसा उमारेको गेडागुडीको रस प्रशस्त खुवाइरहेँ। खानामा स्वाद र रुचि हराएको भन्दै श्रीमान्ले ठोस खाना १५ दिनसम्म खान मन गर्नुभएन। स्वास्थ्य मापदण्ड अनुसार संक्रमितले १४ दिन क्वारेन्टिन बसी स्वास्थ्य परीक्षण गर्नुपथ्र्यो। त्यसअनुसार दोस्रोपल्ट परीक्षण गराउँदा पनि पोजिटिभ रिपोर्ट आएपछि हामीमा झन् चिन्ता थपियो। श्रीमान्को ज्यान सुकेर दुब्लो, पातलो र थकित भइसकेको थियो। ‘अहो ! कति गलाउँदो रहेछ कोरोना संक्रमणले, उठ्न सकिएला त अब !’ भन्दै श्रीमानले पटकपटक अत्यास मानेझैँ लामो लामो सुस्केरा हालिरहँदा उहाँको आत्मबल निकै खस्किएको महसुस गरेँ मैले।
सुगरको बिरामी, त्यसमाथि संक्रमितमा हुने जटिल अवस्थाले उहाँलाई औधि गालेको थियो, मैले हर प्रयत्नले आत्मबल र स्फूर्ति बढाउने प्रयास गरिरहेँ। उहाँलाई मानसिक रूपमा खिन्नता नहोस् भनी काम–धन्दाबाट फुर्सद भयो कि दूरी कायम गरी सकारात्मक समाचार, गीत, कथा, कविता सुनाउने गर्न थालेँ। बिरामी श्रीमान्को सक्दो सेवा गर्न र हौसला बढाउन म चुकिनँ। उहाँले केही समय मोबाइल हेर्दा पनि कोरोना कहर, चित्कार र मृत्युका समाचारले आत्मबल कमजोर बनाउने हो कि भन्ने चिन्ता र छटपटी मनमा छँदै थियो। छातीमा समस्या नआइदिए हुन्थ्यो भनेर धेरै घरेलु उपचारका प्रयत्न र कामना एकसाथ गरिरहेँ। दिनमा भन्दा रातमा संक्रमितलाई झन् कठिन हुने। अक्सिजनको समस्या नहोस् र एक्लोपनाले अत्यास नहोस् भनेर भान्छासँगैको झ्याल–ढोका खुला भएको एटेच बाथरुम सहितको कोठामा क्वारेन्टिन बनाइदिएकी थिएँ।
मैले बिहान एक–दुई घन्टा नियमित रेडियोमा समाचार सुन्ने गर्थें। पछिल्ला दिन भने संक्रमित र मृत्यु हुनेको संख्या बढेकाले अत्तालिएर समाचार सुन्न र हेर्न छाडेँ। बिहान सधैँ घरमै आइपुग्ने पत्रिका नियमित पढ्ने उहाँको बानी थियो, तर पछिल्ला कोरोनाका समाचारले उहाँलाई आघात पार्छ कि भनेर दुई हप्तासम्म पत्रिका पढ्न दिइनँ। बरु गीत–संगीत सुन्न र आराम गर्न आग्रह गरिरहेँ। प्रत्येक संक्रमित र उसका परिवार मजस्तै तड्पेका होलान् भनेर लामै समय मन चिमोटिइरह्यो। केही समयअघि प्रधानमन्त्रीले ‘हाछ्युँसाछ्युँ गर्ने, बेसारपानी खाने र कोरोना भगाउने’ भनेर सार्वजनिक रूपमै गरेको भाषण सम्झेँ। प्रधानमन्त्रीले गरेको महामारीबाट बच्ने उक्त ठट्यौली र श्रीमान्को अवस्थाबीच मैले धेरै नै अन्तर देखेकी थिएँ, अझ बिरामी स्वयंलाई कस्तो हुँदो हो !
निरन्तर औषधि खाएको १५ दिनपछि मात्र श्रीमान्लाई ज्वरो केही कम हुँदै गयो, तर शरीर अत्यन्त गलेको थियो। जाउलो, दूधभात लगायत ठोस खाना थोरै–थोरै खान थाल्नुभयो। कौसीमा बिहान १५ मिनेट सुस्तरी हिँड्न पनि थाल्नुभयो। चार हप्ता बितेपछि चौथो पटकसम्म परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ आयो। शारीरिक अशक्तता उत्तिकै भएकाले एक महिनासम्म उहाँ क्वारेन्टिनमै रहनुभयो। नेगेटिभ रिपोर्ट लिने दिन गन्दै र हप्ता कुर्दै बसिरह्यौँ। एक महिनासम्म परीक्षणका लागि अस्पताल जानुबाहेक उहाँ घरबाहिर पनि निस्कनुभएन। परीक्षणका लागि अस्पताल लैजान–ल्याउन उस्तै समस्या। अस्पताल जाँदा पनि उहाँलाई कहीँकतै छुन नदिई घरको ढोका मैले आफैँ खोल्ने बन्द गर्ने गरिदिन्थेँ। परिवार लगायत छरछिमेकमा संक्रमण होला कि भनेर उहाँ सचेत हुनुहुन्थ्यो।
लामो समयको अत्यासलाग्दो कोरोना कहरले दशैँ–तिहार दुवै पर्व खल्लो भयो। कोरोना संक्रमितले एक–एक हप्तामा परीक्षण गराउने र नेगेटिभ रिपोर्ट आएको एक हप्तापछि मात्र कार्यालय उपस्थित हुने श्रीमान्को अफिसको निर्णयले पनि एक महिनासम्म एक–एक हप्तामा परीक्षण गराइरह्यौँ। एक महिनापछि मात्र उहाँले अलि स्वस्थ भएको महसुस गर्नुभयो, रिपोर्ट भने पोजिटिभ आइरह्यो। उहाँलाई ६ हप्तापछि जनस्वास्थ्य कार्यालय टेकुस्थित कोरोना अस्पतालबाट कोरोना संक्रमणबारे सोधपुछ भयो।
स्वास्थ्यमा जटिलता देखापरे फोन गर्नु भनेर फोन नम्बर दिएपछि सरकारको थोरै जिम्मेवारी बोधको महसुस भयो। फेरि दुई दिनपछि आफ्नो बसोबासको वडा कार्यालयबाट समेत संक्रमणबारे सोधपुछ भयो। कोरोना संंक्रमित र मृतक गणनाको तथ्यांकका लागि खोजीखोजी संक्रमितसँग जानकारी लिन सक्रियता देखाउनुभन्दा संक्रमितको परीक्षण र उपचारमा आवश्यक रकम र उपचार सेवा प्रदान गरे हुन्थ्यो भन्ने लाग्यो। संक्रमण भएको सातौँ हप्ता बितेपछि मंसिर २४ गते छैटौँपटक जचाउँदा मात्र रिपोर्ट नेगेटिभ आयो र सँगै श्रीमान्को मुहारमा मुस्कान अनि परिवारमा खुसी पनि।
होम आइसोलेसन बस्नेलाई पीडा हुन्छ नै, सँगै परिवारलाई पनि त्रास हुँदो रहेछ– श्वास फेर्न समस्या होला कि, फोक्सोमा आक्रमण गर्ला कि भन्ने चिन्ताले बिरामी र परिवारलाई उत्तिकै सताउँदो रहेछ। बिरामीको मनमा ‘कतै मर्छु कि’ भन्ने चिन्ता र त्रासले बारबार घर जमाउँदो रहेछ र थप कमजोर बनाउँदो रहेछ। कोरोना भएर मृत्यु भएका, अस्पतालमा उपचार नपाएर छटपटाएका र आर्थिक अभाव तथा त्रासका कारण आत्महत्या गरेका घटनाले त परिवारलाई समेत अत्याउँदो रहेछ। यस समयमा कोही आफन्त वा शुभचिन्तक संक्रमितका छेउ गएर सकारात्मक कुरा सुनाइदिँदा र स्वास्थ्य परामर्श दिँदा पनि बिरामीलाई एक प्रकारको उपचार पाएको अनुभव हुँदो रहेछ, कोरोना कहर जित्न राहत मिल्दो रहेछ। संक्रमितको सम्पर्कबाट रोग सर्ने भए पनि बिरामीलाई हेर्नै नहुने, वरपर बस्नै नहुने र साथ सहयोग दिनै नहुने भन्ने परिवार र आफन्तकै सोचाइ र व्यवहारले कैयौँ संक्रमितले थप चिन्ता र त्रास झेलिरहेको अनुमान गरेँ मैले।
आफन्त र इष्टमित्रको विवाह व्रतबन्ध हुँदा होस् वा बिरामी भेट्न वा मलामी जाँदा होस्– मेरो श्रीमान्ले सकेसम्म गोजीमा केही रकम बोकेर हिँड्ने र गारो अप्ठेरो पर्दा साथ सहयोग गर्ने गर्नुहुन्थ्यो, तर उहाँ स्वयं संक्रमित भएर महिनौँ थला पर्दा सधैँ हाई–हेलो भइरहने आफन्त र इष्टमित्रले आफूलाई बेवास्ता गरी फोनबाट सोधपुछ गर्न समेत कोरोना सर्ला कि भनी तर्सेको देखेर ताजुब लाग्यो। कोरोना रोगसँग लड्दै आफ्नै घरको ओछ्यान र अस्पतालका शड्ढयामा छटपटाइरहेकालाई स्वास्थ्य सेवा र परामर्शका अलाबा परिवार तथा आफन्तले दिने साथ–सहयोगले पनि कोरोना कहरका कारण हुने मृत्युदर धेरै कम गर्न सकिने कुरा कोरोना कहरका साक्षीका हैसियतले मैले महसुस गरेकी छु।
महामारीका समयमा निःशुल्क स्वास्थोपचार गर्ने संवैधानिक व्यवस्थाको उपेक्षा गर्दै सरकारले उपचारबाट हात झिक्यो। जसका कारण कोरोनाको लक्षण देखिए पनि आफूलाई शारीरिक समस्या नभएको भन्दै कोरोना परीक्षण नगरी बस्ने र समुदायमा घुलमिल गर्नेहरूले संक्रमण फैलाइरहेछन्। केही समयअघि हास्य कलाकार मनोज गजुरेलले कोरोना संक्रमणपछि उपचारका लागि अस्पतालको आइसियुमा रहँदा आफू मरिसकेको समाचार बाहिरिएपछि साँच्चै मरिसकेँ र भनी आफूले आफैँलाई चिमोटेको भनाइले पनि कोरोना संक्रमणको पीडा, छटपटी र अत्यास छर्लंग हुन्छ। आफूलाई संक्रमण नहुन्जेल कोरोना त के हो र भनेर हेलचेक्र्याइँ गर्नेहरू आफैँलाई पोजिटिभ भएपछि जन्म–मरणको दोसाँधमा कति रात छटपटाउँछन्, मृत्युसँग कति संघर्ष गर्छन् भन्ने यथार्थकी साक्षी हुँ म।
कोरोना महामारी फैलिएको एक वर्ष पुगिसकेकाले कति थुनिएर बस्ने भनी मानिसहरू निस्फिक्री घरबाहिर निस्किरहेछन्। यही समयमा दुईतिहाइ जनमत पाएको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले आफ्नै दललाई मिलाउन नसकी आवेग, शक्ति र सनकमा संसद् विघटन गरिदिँदा यसको विरोधमा सडकमा दलहरूको हुलमुल र जमघट बढेको छ। संसद् विघटन गरी कामचलाउ बनिसकेको सरकारको नेतृत्व नै लाज पचाएर हाल कोरोना कहरलाई चुनौती दिँदै दलबलसहित देशव्यापी सभा, सम्मेलन र भाषणमा उत्रिएको छ। पछिल्लो जानकारीमा नेपालमा कुल संक्रमित संख्या २ लाख ७१ हजार ६ सय र मृतकको संख्या दुई हजार ३३ पुगेको छ।
विश्वभर १० करोड ५४ लाख संक्रमित भएका छन् भने २२ लाख ९४ हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ। महामारीको यो विषम परिस्थितिमा सर्वप्रथम सबैले आफ्नो सुरक्षाको ख्याल गर्न र सरकारले परीक्षण तथा स्वास्थ्यसेवा सुलभ र निःशुल्क बनाउन कन्जुस्याइँ गर्नु हुँदैन।
प्रकाशित: २४ माघ २०७७ ०४:१८ शनिबार