समाज

पुराणको पथमा स्वस्थानी व्रतकथा

अक्षर

माघमा जब सूर्य थकित भएर अष्टाचलबाट अस्ताउन खोजिरहेको हुन्छ, तब काठमाडौंको घरघरमा कनिकुथी गरेरै भए पनि एउटा श्लोक सुनिने गर्छ, त्यो हो– यं ब्रह्मां बरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवै...। श्लोकको पारणपछि संसारको सृष्टिदेखि विलयसम्मको कथा सुरु हुन्छ। यसरी सुरु हुने कथा हो– स्वस्थानी व्रतकथा।

काठमाडौं सांस्कृतिक रूपमा विविधता रहेकामा कुनै शंका छैन। त्यसमाथि यहाँको धार्मिक मूल्य–मान्यता, आस्था र विश्वासले विश्व समुदायले काठमाडौंलाई जादुयी बाकसको रूपमा हेर्ने गर्छ। त्यसैले यहाँ जति खोतल्यो, त्यति नयाँपन पाइन्छ। एउटा नवीनताको उदाहरण स्वस्थानी व्रतकथा हो। जुन दक्षिणी एसियामा मात्र होइन, विश्वको साहित्य परम्परामा पनि आजपर्यन्त नवीन नै भइरहेको छ।  

काठमाडौंमा फागुनमा शिवरात्रि महिमाका कथा सुन्न पाइन्छ। चतुर्मास अवधिभर विभिन्न पुराणमा आधारित कथा र अन्य समयमा पनि विभिन्न कथा सुन्न पाइन्छ। बौद्धधर्मावलम्बीबीच पनि आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म स्वयम्भु पुराण सुनाउने परम्परा छ। तर, जनस्तर वा घरघरमा कथा सुनाउने प्रचलनको प्रारम्भ स्वस्थानीबाटै सुरु भएको मान्न सकिन्छ। घरैपिच्छे सुनाइने स्वस्थानीमा देव र दानवबीचको आरोह–अवरोह र अन्तमा मत्र्यमण्डलमा रहेका मानिसबीचका अवनति र उन्नतिका कथा समेटिएका छन्। त्यसैले माघमा स्वस्थानी कथा सुन्न महिला तनमनका साथ एकचित्त हुन्छन्। केटाकेटी भने कथामा भन्दा पनि कथा वाचनपछि बाँडिने बाखंपा अर्थात् प्रसादले मुख मिठ्याउनका लागि कथावाचकको वरिपरि झुम्मिरहन्छन्, जुन अन्य कथा वाचन परम्पराभन्दा पृथक छ।

पहिलोपटक देखापरेको यो कथा आठ पत्रको थियो। तर, त्यसको तीन दशकपछि नेपाल संवत् ७२३ मा स्वस्थानी व्रतकथाले आकारमा बृहत् स्वरूप पायो। प्रारम्भमा संस्कृतबाट सुरु भएको यस कथा अर्को संस्करणसम्म पुग्दा नेपालभाषामा रूपान्तरित भई व्यापकता पाइसकेको थियो। जनमानसमा स्थान पाएपछि यसको स्वरूपमा पनि विविधता थपिँदै आएको देखिन्छ।

स्वस्थानी व्रतकथाको प्रारम्भ कहिले भयो, यकिन तिथिमितिको अभाव छ। इतिहासकार महेशराज पन्तको स्वस्थानी व्रतकथाको रचनासम्बन्धी लेख (२०७१ माघ १५, राजधानी दैनिक) अनुसार, पद्मपुराणमा पहिलोपटक स्वस्थान भन्ने शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा–  

‘स्वस्थानीपरमेश्वर्या विधिवद् व्रतमाचर

तेन स्वस्थानलाभस्ते भविष्यति न संशय’  

अर्थात्, स्वस्थानी परमेश्वरीको विधिपूर्वक व्रत गर। त्यसबाट तिम्रो स्वस्थानको लाभ हुन्छ। तिथिमितिलाई आधार मान्ने हो भने नेपाल संवत् ६९३ मा पहिलोपटक स्वस्थानी व्रतकथा अस्तित्वमा देखापरेको थियो। पहिलोपटक देखापरेको यो कथा आठ पत्रको थियो। तर, त्यसको तीन दशकपछि नेपाल संवत् ७२३ मा स्वस्थानी व्रतकथाले आकारमा बृहत् स्वरूप पायो। प्रारम्भिक स्वस्थानीभन्दा चार गुणा बढी अर्थात् ३४ पत्र पुगेको थियो। प्रारम्भमा संस्कृतबाट सुरु भएको यस कथा अर्को संस्करणसम्म पुग्दा नेपालभाषामा रूपान्तरित भई व्यापकता पाइसकेको थियो। कथाले जनमानसमा स्थान पाएपछि यसको स्वरूपमा पनि विविधता थपिँदै आएको देखिन्छ। फलतः काठमाडौंबाट प्रारम्भ भएको स्वस्थानी कथा परम्परा मैथिली, नेपाली हुँदै हिन्दीसम्म पुगेको छ। यसरी बहुभाषिक बन्न पुगेको स्वस्थानी स्वरूपमा विविधता देखिए पनि कथावस्तुमा भने तात्विक फेरबदल भएको छैन।  

प्रारम्भको स्वस्थानी कथामा शिवभक्त ब्राह्मण र सती ब्राह्मणीको प्रसंग छ। गंगाको किनारमा गाईले गोब्य्राएको र उक्त गोबरबाट गोमय्जु जन्मिएको उल्लेख छ। यसरी जन्मिएका गोमय्जुको शिल–स्वभावका कारण तिनले इन्द्रासन नै हरण गर्न सक्ने सम्भावना देखेपछि त्यसबाट जोगाइ पाऊँ भनी इन्द्रले शिवलाई अनुरोध गरेका थिए। इन्द्रको अनुनय–विनयमा शिव कापालिक भई भिक्षा माग्न गए। गोमय्जु नांगै भिक्षा दिन आउँदा शिव रिसाउँदै ‘आठ वर्षको उमेरमा ज्येष्ठ नागरिकसँग विवाह होस्’ भनी श्राप दिए। श्रापित गोमय्जु श्राप अनुसार नै वृद्ध ब्राह्मणसँग विवाह गर्नुपरेको थियो। गोमय्जु दुई जिउकी भएपछि उनका पति शिव शर्मा धनार्जनका लागि परदेश हिँडे, तर उनको बीचबाटैमा निधन हुन्छ। यता गोमय्जुले नवराजदेव ब्राह्मणलाई जन्म दिइन्। उनले अत्यन्त निर्धनताका बीच नवराज ब्राह्मणलाई गाउँलेको सहयोगमा हुर्काइन् र पछि एक ब्राह्मणीसँग विवाह गराइदिइन्। पत्नीलाई आफ्नी आमाको रेखदेख गर्ने जिम्मेवारी दिई नवराजदेव बाबु खोज्न हिँडे। उनले बाबुको मृत्यु भइसकेको थाहा पाएपछि आवश्यक सद्गति गरे। यता निर्धन गोमय्जुलाई बुहारीले उपेक्षापूर्ण व्यवहार गरेर माइती हिँडिन्। गोमय्जु अत्यन्त कष्टकर जीवन देखेर शिव–पार्वतीले ऋषि आसवलाई पठाए। ऋषि आसवले गोमय्जुलाई गरिबी हटाउन स्वस्थानी देवीको व्रत बस्न सुझाए र आफू बसेको पिर्कामुनि धन छाडेर गए। सोही व्रतको प्रभावले नवराज ब्राह्मण राजा भएको कथा समेटिएको छ। 

कथामा नवराज राजा भएपछि उनलाई भेट्न आतुर भएकी उनकी पत्नीले बाटोमा स्वस्थानी व्रत बस्दै गरेकाहरूले दिएको प्रसादप्रति उपेक्षा र निन्दा गरेका कारण उनी १२ वर्षसम्म नदीमा शिलाको रूप भएर बाँच्न बाध्य भएको र पछि कसैगरी पुनः स्वस्थानी व्रत बसेर आफ्नो जीवनमा सुधार ल्याई सुखीपूर्वक जीवन निर्वाह गरेको कथा छ। यसरी प्रारम्भ भएको कथाको अन्तर विषयमा खासै फरक देखिएको छैन। तर, गोमय्जुको स्थानमा हाल आएर गोमा ब्राह्मणी हुन पुगेको छ। उनको नांगो शरीरमा लुगाले प्रवेश पाएको छ भने नामविहीन नवराज ब्राह्मणकी पत्नीले चन्द्रावती नाम पाएकी छिन्। ऋषि आसवको स्थानमा हाल सप्तऋषिले स्थान पाएका छन्। यद्यपि नेवार समुदायमा स्वस्थानी कथालाई गोमय्जुको कथा भनी चिनिँदै आएको छ। करिब चार सय ५० वर्षबीच यसमा अनगिन्ती कथा, उपकथा जोडिएपछि यो कथाले नयाँ स्वरूप पाउन थालेको छ।  

आठ पत्रबाट सुरु भएको स्वस्थानी कथा जनमानसबीच लोकप्रिय भएपछि हालसम्म हजारौँ नयाँ संस्करण सिर्जना भएको छ। राष्ट्रिय अभिलेखालयमा मात्रै ६८४ वटा ग्रन्थ रहेको छ। यसबाहेक आशा सफूकुथी र व्यक्तिगत रूपमा हजारौँको संख्यामा घरघरमा सुरक्षित भइरहेको यस ग्रन्थमा समयको अन्तरालसँगै कथा–उपकथा, तीर्थ महात्म्य, भूगोल वर्णन लगायत थपिए, जसले स्वस्थानी कथालाई पुराणको सूचीमा उभ्याएको छ। र, प्रत्येक अध्यायको प्रारम्भमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि’ भन्दै प्रारम्भ गरिने यस कथामा ब्रह्माण्ड सृष्टिका कथा, मधू–कैटभ वध, सतीदेवी विवाह, आत्मदाह र अंगपतन, त्रिपुरा ध्वस्त, पार्वती विवाह, जालन्धर वधका कथा आदि समेटिएको छ। विभिन्न पुराण एवं धार्मिक ग्रन्थबाट संकलित कथाहरूको मिश्रणबाट बन्न पुगेको स्वस्थानी कथालाई प्रारम्भमा लिंग पुराणको अंगको रूपमा राखिएको थियो। हाल आएर ‘इति श्रीस्कन्दपुराणे केदारखण्डे’ भनी स्कन्दपुराणको केदारखण्डको अंगको रूपमा राखिएको यस कथालाई शिवपुराण र पद्मपुराणको अंगको रूपमा पनि राखेको प्राचीन स्वस्थानी ग्रन्थहरूमा उल्लेख छ। जुन शास्त्रीय रूपमा पुराणको संख्या १८ भनी संख्यात्मक निर्धारणका कारण यसलाई सहपुराणको रूपमा ग्रहण गरेको मान्न सकिन्छ।  

काठमाडौंका नेवारबीचबाट थालनी भएको स्वस्थानी जातीय रूपमा सीमित नरही विभिन्न समुदायमा पुगेको यस कथा पछिल्लोपटक इसाई धर्मावलम्बीबीच पनि लोकप्रिय बन्न पुगेको छ। नेपाली भाषामा स्वस्थानी ग्रन्थ प्रकाशित गर्दै आएका वाराणसीका प्रकाशक बाबु माधवप्रसाद शर्माको प्रकाशन गृहबाट सागर शर्माले २०७४ सालमा प्रकाशन गरेको श्री स्वस्थानी कथामा बाइबलका मुर्कुस, लुका, यूहन्नासँग सम्बन्धित कथालाई समावेश गरिएको छ।

स्वस्थानीको देवत्वकरण

स्वस्थानीलाई जीवनको आरोह र अवरोहसँग सम्बन्धित कथाको रूपमा लिए पनि यसभित्र समेटिएका विविध कथाले यसलाई धर्मको रूपमा रूपान्तरित गरेको छ। पहिलो स्वस्थानी कथामा पार्वतीले शिवलाई पतिका रूपमा पाउनका लागि स्वस्थानी देवीको आराधना गरेको देखिन्छ। स्वस्थानी देवीको व्रत बसेर शिव पति पाएकी पार्वतीले सुनजस्तो वर्ण भएकी कमलजस्तो तीन नेत्रयुक्त सिंहमा आरुढ देवीको व्रत बसेकी थिइन्। ती देवीले हातमा खड्ग, ढाल धारण गरेको र दुई हात वरद र अभय मुद्रा रहेको वर्णन छ।  

सुवण्र्णवण्र्णदीप्ताभा त्रिनेत्रा कमलानन।।

सिंहासनासमासीता सव्र्वालंकार भूषिता।।

नीलोत्पलाभया वामे दक्षिणे वरदा शुभा।।

खड्गचर्मधरा चाद्र्ध वामदक्षिणयोः क्रमात्।।

चतुर्भुजन्तुमा तत्र पूजयेद् वृषकेतनं।।

एवं ध्यात्वा महादेवि स्वस्थानजगदीश्वरौ।।

एकातर्फ पार्वती स्वयं स्वस्थानीको व्रत बसेको उक्त ग्रन्थले देखाएको छ, अर्कोतर्फ राजा प्रताप मल्लले नेपाल संवत् ७९४ मा उमा–महेश्वरको मूर्तिको पादपीठमा स्वस्थानी भनी उल्लेख गरेपछि यो ग्रन्थ कथामा सीमित रहेन। पछिल्लोपटक भारतको हिमाञ्चल प्रदेश र काठमाडौंको साँखुमा समेत स्वस्थानी देवीको मूर्तिहरू निर्माण भएको छ। स्वस्थानी व्रतकथामा समेत यो देवीको प्रतिमा लक्षण र यन्त्रहरूको वर्णन गरिएको पाइन्छ। जुन शास्त्रीय ग्रन्थहरूमा हालसम्म उल्लेख गरेको पाइन्न।  

व्रत देवीको तर पूजा नारायणको  

स्वस्थानी व्रतकथामा एकपछि अर्को कथा क्षेपकको रूपमा थपिँदै नेसं १०३९ सम्म पुग्दा यो कथा ३१ अध्याय र ५३१ पत्रसम्म पुगेको छ, जुन राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। समयको अन्तरालसँगै आकारमा वृद्धि हुँदै गएको यस ग्रन्थलाई प्रारम्भिक समयदेखि देवीको व्रतको रूपमा लिइए पनि यसमा विष्णु र शिवको भूमिका प्रमुख रहेको छ। स्वस्थानीदेवीको व्रतको क्रममा व्रतालुले पानीमा बसी उदाउँदो सूर्यको आराधना गर्ने गर्छन्। काठमाडौंको साँखुमा माधवनारायणले मायासुर दैत्यको वधका लागि स्वस्थानी देवीको व्रत बस्न आएका थिए, हाल आएर सोही देवताको नाममा पूजापाठ गर्ने गरिन्छ। एक महिनासम्म बसिने व्रतमा हरेक क्रियाकलापमा माधव–माधव भनी वैष्णव परम्परा अनुसार माघ महिनाको देवता माधवनारायण पुकार्ने गरिन्छ। 

जसले गर्दा काठमाडौंबाट प्रारम्भ भएको स्वस्थानी व्रतकथा ओझेल पर्ने अवस्था छ। नेवार समाजमा स्वस्थानी व्रतकथाको क्रममा पार्वती विवाहका दिन माछामासुसहितको समय्बजि नै बाखंपाः बाँड्ने विधान छ। तर स्वस्थानी व्रतका नाममा माधवनारायणको प्रवेशले गर्दा यो कथा वैष्णवीकरण हुनुका साथै एक महिनासम्म नुन बार्नुपर्ने परम्पराको विकास भएको छ। यसले गर्दा नेवार समाजबीच स्वस्थानीको सांगेमा व्रतालुलाई अन्डा, माछामासु र रक्सीको सगुन दिने कार्य पूर्णविराम लाग्ने क्रममा छ। यसका साथै व्रत समापनमा समेत परिवर्तन देखापर्न थालेको छ। व्रतको सांगेका दिन व्रतालुले स्वस्थानीदेवीको नाममा गौरीपूजा गर्ने गरिन्छ। गौरीपूजामा गौरीको प्रतीक पान र शिवको रूपमा सुपारी पुजिन्छ। यसरी पान र सुपारीको पूजा गरी १०८ अक्षतारोटी बनाई आठवटा गौरीलाई चढाइन्छ। 

बाँकी सम्पूर्ण व्रतालुले नै पारण (भोजन) गरिन्छ। गौरीलाई समर्पित आठवटा रोटी श्रीमान्लाई अर्पण गरी व्रत सम्पन्न गर्ने गरिन्छ। यस अवसरमा पतिको आयुवृद्धिको कामना गर्ने गरिन्छ। यदि पति नभएको खण्डमा उक्त रोटी छोरालाई, छोरा पनि नभए मीतछोरालाई, मीतछोरा पनि नभए नदीमा बगाउने परम्परा छ। तर, स्वस्थानीदेवीको नाममा माधवनारायण पूजनले गर्दा यो व्रतकथा कुन सम्प्रदायको भन्ने नै यकिन गर्न नसकिने अवस्था छ। काठमाडौं उपत्यकामा यस अवसरमा टाउकोमा सहस्रधारा पानीले अभिषेक गर्दै नगर परिक्रमा गर्ने गरिन्छ। साथै, खासी (खड्कुलो)मा बसेर शंख फुक्दै नगर परिक्रमा गर्नेहरूलाई नगरबासीले पानी खन्याई जलप्रसाद लिने गर्छन्। जुन अद्यापि ललितपुरको थेचोमा प्रचलन छ। भक्तपुर र साँखुमा व्रतालुहरू नदीमा डुबेर उदाउँदो सूर्यको आराधना गर्ने गर्छन्। यसरी नदीमा डुबेर आराधना गर्ने व्रतालुहरू अर्धनग्न भई माधवनारायण उच्चारण गर्दै बाटोमा गुल्टिँदै वा भुँइमा पस्रेर साष्टांग दण्डवत गरी यात्रा गर्छन्। यसले गर्दा यो स्वस्थानी व्रत कि माधवनारायणको आराधना भन्ने नै अन्योल सिर्जना हुन पुगेको छ।

अन्तमा, नेपाली मौलिक सिर्जनाको रूपमा रहेको स्वस्थानी विश्वको इतिकथानात्मक परम्पराको प्राचीन पद्धतिमध्ये एक हो। सीमित पत्रबाट प्रारम्भ भई ३१ अध्यायसम्मको विस्तार, पुराण र अन्य नीतिकथाका कथाहरूको उपस्थितिका साथै इसाई परम्परामा समेत स्थान पाउन पुगेको छ। यस कथा मात्र कथाको रूपमा सीमित छैन। धर्मग्रन्थको रूपमा र पुराणको रूपमा रूपान्तरित बन्ने पथमा छ। भारत र अन्य मुलुकमा समेत स्वस्थानी विस्तार भइसकेको यो परम्परामा बढ्दो विविध प्रभावले व्यापकता पाइरहेको छ। यसले गर्दा यसको मौलिकता गुम्ने सम्भावना देखापरेको छ।

प्रकाशित: २४ माघ २०७७ ०३:१४ शनिबार

अक्षर पुराणको पथ स्वस्थानी व्रतकथा