समाज

खप्तडमा पनि हिमपात

हिउँले ढाकिएको खप्तड । तस्बिर : नागरिक

ससाना थुम्का भएका पाटन । पाटनको भुइँमा सेतो गलैंचा ओछ्याएझैं सेताम्य हिउँ । प्राकृतिक हिमगलैंचा नजिकैको घना जंगलका रूखहरूसमेत सेताम्य हिउँले ढाकिँदा उसै त सुन्दर ठाउँ अझै आकर्षक बनेको छ । यो मनोरम दृश्य भू–स्वर्गका रूपमा चिनिने खप्तडको हो । बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि खप्तड हिउँको घुम्टोले छोपिएको हो ।

‘खप्तड अहिले सेताम्य छ,’ खप्तड होमस्टेद्वारा सञ्चालित ‘खप्तड हेली टुर’ का सञ्चालक दीपकबहादुर खड्काले भने, ‘हिजो रातिदेखि खप्तड क्षेत्रमा भारी हिमपात भइरहेको छ ।’ हिमपातका कारण खप्तडमा अहिले रमाइलो दृश्य देखिएको उनले बताए ।  

बिहीबार रातिदेखि त्रिवेणीलगायत खप्तडका फाँटहरूमा डेढ फिटजति हिउँ परेको उनले बताए । ‘खप्तडमा हिजो रातिदेखि हिमपात हुँदा डेढ फिटजति हिउँ जमेको छ भने खप्तडको मध्यवर्ती क्षेत्र झिग्रानामा पनि बाक्लो हिमपात भएको छ ।’ हिमपातले खप्तड क्षेत्र पूरै सेताम्य भएको उनले बताए ।  छिनमै वर्षात्, छिनमै हिउँ । केही बेर हावाहुरी त उत्तिखेरै टन्टलापुर घाम । यस किसिमको अनौठो मौसमी विशेषता खप्तडमा पाइन्छ । खप्तड बाबाको कुटीछेउमा झैं लाग्ने दार्चुलाको अपी र बझाङको सैपाल हिमालका साथै डाँफे कोटको भ्यु टावरबाट भारतको नन्दादेवी हिमालदेखि बाजुराको बडीमालिकासम्म देखिन्छन् ।

डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल खप्तडको त्रिवेणीमा अवस्थित त्रिवेणी मन्दिर र वरपर २२ वटा पाटन छन् । पर्यटकीय स्थल मात्रै नभएर खप्तड बाबाले ५० वर्ष तपस्या गरेको ज्ञानभूमिसमेत भएकाले पनि खप्तड धार्मिक रूपमा प्रसिद्ध छ । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थान मानिन्छ । यहाँ खप्तड बाबाको कुटी, सहस्र लिंग, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल छन् । 

पुराणअनुसार महादेवले खप्तडको जडीबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेला सदियौंदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्ल पक्षको गंगा दसहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ ।

प्रकाशित: २४ माघ २०७७ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App