समाज

बन्द प्रभावः विपन्नको अगेनोमा बलेन आगो

बन्दले प्रभावित भएपछि घरमा परिवारसहित बसेका तुलबहादुर सुनार। तस्बिरः गणेश विशु/नागरिक

वीरेन्द्रनगरका बाढीपीडित तुलबहादुर सुनार अटो चलाउँछन्। जसबाट उनी दैनिक सात/आठ सय रुपैयाँसम्म आम्दानी गर्छन्। उनले आम्दानीको पाँच सय रुपैयाँ अटोको मासिक किस्ता बुझाउन छुट्याउनु पर्छ भने बाँकी रकमले साँझबिहानको छाक टार्न र छोराछोरीको शिक्षादीक्षामा खर्चिन्छन्। तर प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार गरेको बन्दको प्रभावले गर्दा उनले अटो चलाउन पाएनन्।

एक दिन बन्द हुँदा उनलाई सात/आठ सय रुपैयाँ मात्र घाटा लाग्दैन, अटोको मासिक किस्ता तिर्न र बेलुकीको छाक टार्नसम्म प्रभाव पर्छ। ‘हेर्दा एक दिन काम नगरेर खान नपुग्ने होइन जस्तो लाग्छ,’ उनले भने, ‘वास्तवमा हेर्दा त्यस्तो हुँदैन। एक दिन काम नहुँदा किस्ता तिर्न जम्मा हुने पैसा त परको कुरा हो साँझको छाकसम्म टार्न मुस्किल हुन्छ।’ किस्ता बन्दीमा अटो किनेका उनलाई कोभिड–१९ (कोरोना भाइरस) ले पनि उस्तै समस्या पारेको थियो। ‘अहिले अवस्था सामान्य हुँदा किस्ता तिर्ने रकम जम्मा गर्दै थिएँ,’ उनले भने, ‘बन्दले त्यो पनि प्रभावित बनायो।’ सातजनाको परिवारको छाक टार्न र किस्ता तिर्न समस्या भएको उनको भनाइ छ। शेरबहादुर नेपाली पनि बन्दको प्रभावले गर्दा बिहीबार काममा जान सकेनन्। बन्दको असरले गर्दा उनलाई पनि साँझ र बिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलेको छ। काम नगरे घरमा खान मुस्किल हुने भन्दै उनले भने, ‘बन्दले विपन्न मजदुरको गाँस खोसेको छ।’

ऐरिचौकमा ठेला व्यवसाय गर्ने थानेश्वर अधिकारको ठेलामा दैनिक राम्रै व्यापार हुन्थ्यो। दैनिक पाँय सय रुपैयाँसम्म आम्दानी गर्ने उनलाई कोठा भाडा तिर्न र दैनिक छाक टार्न ठीकै थियो। तर बिहीबारको बन्दले उनको व्यवसायमा पनि ठूलो मार पर्‍यो। उनले सडकमा ठेला त ल्याए तर ग्राहक भने आएनन्। बिहीबार दिउँसोसम्म थानेश्वरले एक रुपैयाँ पनि कारोबार गरेनन्। ‘भाडा त अर्काे दिन आम्दानी भयो भने तिरौँलो,’ उनले भने, ‘साँझको छाक पो कसरी जोहो गर्ने।’ उनीहरु मात्र होइन कयौं विपन्न परिवारका मजदुरहरुलाई बिहीबारको बन्दले छाक टार्न समस्या गराएको छ। कतिपय सापटी गरेर पेट भरेका छन् भने केही भोकै बसे। 

जनताको मुक्ति र अधिकारका लागि गरिने आन्दोलन, बन्दले जनतालाई ठूलो सास्ती दिने र उक्त आन्दोलन र बन्दबाट भएको प्राप्तिले नेताहरुको जीवनशैली मात्रै परिवतर्न हुने गरेको मजदुरहरुको भनाइ छ। ‘आन्दोलन, बन्दबाट आएको प्राप्तिले जनताको दैनिकी परिवर्तन हुने भए त ठीकै हो,’ वीरेन्द्रनगरकी तुल्सी सुनारले भनिन्, ‘तर उक्त उपलब्धिले नेताको दैनिकी मात्र फेरिन्छ।’

जति ठूला आन्दोलन र बन्द हड्तालभए पनि जनताको अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाइ छ। जनताको पेट भोकै राख्ने बन्द, हड्तालभन्दा उनीहरुको दैनिक सहज गर्ने गरी आन्दोलन गर्न सकिने उनले जनाइन्। प्रचण्ड–माधव समूहको हड्तालले सुर्खेतलगायत कर्णालीका जिल्लामा प्रभाव पारेको थियो। यातायातका साधन, कलकारखाना र उद्योग बन्द हुँदा श्रमिकहरु प्रत्यक्षरुपमा प्रभावित भए। जसले गर्दा उनीहरुले दैनिक ज्यालासमेत पाएनन्। 

आइतबार आम हड्ताल भनिएको बन्दको प्रभाव देखिए पनि के कारणले बन्द भयो भन्ने विपन्न वर्गका मदजुरहरु अनविज्ञ थिए। ‘केका लागि बन्द भएको हो थाहा छैन,’ दैलेख घर भइ सुर्खेतमा ज्यालादारी काम गर्दै आएकी भावना पराजुलीले भनिन्, ‘बन्दले दैनिकी असहज बनायो तर कसले केका लागि गर्‍यो भन्ने थाहा छैन।’ जसले बन्द हड्तालगरे पनि मजदुरहरुको गाँस भोकै राख्ने गरी गर्नु हुँदैन।

प्रकाशित: २३ माघ २०७७ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App