समाज

सुदूरपश्चिममा बालिका जन्मदर घट्दै

सुदूरपश्चिम प्रदेशमा नवजात शिशुमा बालिकाभन्दा बालक बढी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको चार वर्षदेखिको तथ्यांकले सुदूरपश्चिम प्रदेशमा बालिकाभन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ। तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा जम्मा जन्मेका नवजात शिशुमध्ये ४७.६ प्रतिशत बालिकाको जन्म भएको थियो, भने ५२.४ प्रतिशत बालक जन्मेका थिए।  

यस्तै ०७५/०७६ मा बालकको अनुपात अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले बढेर ५३.९ प्रतिशत भयो भने बालिकाको अनुपात १.५ प्रतिशतले घटेर ४६.१ प्रतिशतमा झर्‍यो। त्यो आर्थिक वर्षको तुलनामा अझ पछिल्लो आर्थिक वर्षमा बालकको जन्मदर बढ्दै गएको र बालिकाको जन्मदर घट्दै गएको देखिन्छ।  

आर्थिक वर्ष २०७६/०७७ मा ०.२ प्रतिशतले बढेर ५४.१ प्रतिशतमा उक्लेको देखिन्छ भने बालिकाको जन्मदरको अनुपात ०.२ प्रतिशतले घटेर ४५.९ प्रतिशतमा झरेको छ। यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले बढेर ५५ प्रतिशतमा बालकको जन्मदर बढेको देखिन्छ भने बालिकाको जन्मदर अनुपात ०.९ प्रतिशतले घटेर ४५ प्रतिशतमा झरेको छ। यो अनुपात हेर्दा चार वर्ष यता बालकको जन्मदर बढ्दै गएको छ, भने बालिकाको जन्मदर घट्दै गएको पुष्टि हुन्छ।

यस्तै सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार ४ सय ७२ बालक र २० हजार ७ सय ५० बालिकाको जन्म भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ हजार ७ सय १३ नवजात शिशुमध्ये १५ हजार २ सय ३४ बालक र १२ हजार ४ सय ७९ बालिकाको जन्म भएको छ। जुन तथ्यांक हेर्दा बालकभन्दा बालिकाको जन्मदर घट्दो क्रममा रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले पछिल्ला वर्षहरूमा बालकको जन्मदर बढ्दो क्रममा छ, भने बालिकाको जन्मदर घट्दो क्रममा रहेको देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।  

‘बालकको जन्मदर बढ्दै जानु र बालिकाको जन्मदर घट्दो क्रममा हुँदा लैंगिक समानतामा उतार चढाव हुन्छ,’ उनले भने, ‘जसले गर्दा यौनिक हिंसामा बढोत्तरी हुन्छ।’ पुरुषको तुलनामा महिलाको संख्या घट्दै जाने हो भने वैवाहिक समस्या निम्तने खतरा पनि उत्तिकै रहेको बताउँदै उनले थपे, ‘जसले गर्दा वैवाहिक सम्बन्धका लागि महिलाको कमी हुने र जनसंख्या घट्दो तथा स्थिर रहने सम्भावना हुन्छ।’

अस्पतालमा पनि पहिलो बच्चा छोरा जन्मेका दम्पती दोस्रो सन्तान जे भए पनि (छोरा वा छोरी) चाहने गरेको बताउँदै सेती प्रादेशिक अस्पताल धनगढीकी प्रसुति वार्ड इन्चार्ज यशोदा ढकालले भनिन्, ‘पहिलो सन्तान छोरी भएको खण्डमा दोस्रो सन्तान छोरा नै जन्माउन अवैधानिक भु्रण हत्यासम्म गर्ने गरेका छन्।’ भु्रण पहिचान गर्न नपाइने कानुनी प्रावधान भए पनि दम्पतीहरूले लुकीछिपी पहिचान गरेर छोरी देखिएमा हत्या गर्ने गरेका कारण पनि जन्मने नवजात शिशुमा छोरीको संख्या घट्दै गएको उनी बताउँछिन्।  

अवैधानिकता रहेको भ्रुण पहिचान विधिलाई सरकारले कानुनी दायरामा ल्याएर भ्रुण पहिचान गरी हत्या गर्नेलाई कारबाही गर्न सकेमा बालक र बालिकाको जन्मदरमा समानता आउने उनी बताउँछिन्। छोरा र छोरीलाई समान व्यवहारले हेर्ने र यसलाई पितृसत्तात्मक सोच परिवर्तन गरी जनचेतना फैलाउनु पर्ने उनको भनाइ छ।

प्रकाशित: २३ माघ २०७७ ०२:१९ शुक्रबार

सुदूरपश्चिम प्रदेश बालिका जन्मदर