समाज

आठ सय वर्ष पुरानो पोखरीको मध्यभागको मन्दिर शिलान्यास

भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको बिहीबार शिलान्यस गरिएको छ। आठ सय वर्ष पुरानो पोखरीको मध्यभागमा रहेको मन्दिरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच शिलान्यास गरेका हुन्।

मन्दिरको शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले  भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नपाले हासिल गरेको विशेषत भएको बताउँदै उनले ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताए। जलेश्वर मन्दिर भक्तपुरकै गहना रहेको भन्दै उनले साँस्कृतिक महत्व बोकेको काठमाडाैंको रानी पोखरी पुनःनिर्माणमा भक्तपुरका जनताको योगदान रहेको र देशको सम्पदा संरक्षणमा भक्तपुरले सहयोग गर्न पाउनु भक्तपुरबासीको लागि गौरवको कुरा भएको बताए।  

प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्यापोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताउदै भाज्या पोखरीको अध्ययन अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको मन्दिर भएको थाहा हुन आएको जनाए। उनले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गरिरहनु सुन्दर पक्ष रहेको बताए। भाज्या पोखरीको जलेश्वर मन्दिर पुनःनिर्माणको निम्ति मन्दिरको उत्खननमा फेला परेका अवशेषहरुबाट निकै सहयोग पुगेको बताउँदै उत्खनन्कै क्रममा भेटिएका शिलालेखले पनि उक्त मन्दिरबारे तथ्यहरु पत्ता लगाउन मद्दत पुर्‍याएको बताए। 

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जलेश्वर मन्दिर र भाज्या पोखरी पुनःनिर्माण कार्यमा स्थानीय जनताको साथ र सहयोग रहँदै जाने विश्वास व्यक्त गरे। जलेश्वर मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण खत्री, समितिका कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र रामगोपाल बमनूले मन्दिरबारे चर्चा गरे।

प्रकाशित: २२ माघ २०७७ ०७:५५ बिहीबार

भाजु पोखरी जलेश्वर मन्दिर