समाज

हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदूषण

हिउँदे वर्षा नहुँदा काठमाडौंलगायत देशभर प्रदूषण ह्वात्तै बढेको छ। वातावरण विभागका अनुसार सोमबार दिउँसो काठमाडौंको रत्नपार्कमा एयर क्वालिटी इन्डेक्स (वायु गुणस्तर सूचकांक) १ सय ६१ सम्म पुगेको छ। जुन मानव स्वास्थ्यका लागि हानिकारक भएको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए। ‘हिउँद याममा त्यसै पनि काठमाडौंमा प्रदूषण बढ्छ। त्यसमा पनि वर्षा भएन भने प्रदूषण झनै खतरनाक हुन्छ,’ जोशीले भने, ‘अहिले काठमाडौंमा त्यस्तै भइरहेको छ।’  

एयर क्वालिटी इन्डेक्स ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनले ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ। वातावरणविद्का अनुसार प्रदूषणको मात्रा एक सयसम्म देखाए त्यसलाई एलो जोन अर्थात् पहेलो रङ मान्ने गरिएको छ। प्रदूषण मापन गर्न राखिएका स्टेसनहरूले सयभन्दा कम देखिए त्यस क्षेत्रलाई बस्न ‘ठिकै अवस्था’ मान्ने गरिन्छ। तर १ सय ५० र त्योभन्दा माथि देखिएमा रेड जोन अर्थात् रातो चिह्न मान्ने गरिएको छ, जसले बस्न जोखिमपूर्ण रहेको संकेत गर्छ। १ सय ५० र २ सयबीचमा देखिए मानव स्वास्थ्यका लागि हानिकारक तथा २ सयभन्दा माथि देखिए अत्यन्त हाकिकारक हुने वातावरणविद्हरूको भनाइ छ।  

वातावरणविद्का अनुसार हिउँदयाममा त्यसमा पनि बदली भएका बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने गरेको छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथा चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्ने उनीहरूको भनाइ छ। मौसमविद्हरू भन्छन्, ‘चिसोयाममा हावाको बहाव कम हुन्छ, त्यसकारण धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै त्यस्ता कणहरू उड्ने गर्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने जोशी बताउँछन्। वातावरणविद्का अनुसार काठमाडौं जस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र रहने गरेको पाइएको छ। वातावरणविद्हरू गर्मीयामभन्दा वर्षायाम बढी उपयुक्त हुने बताउँछन्। वर्षायाममा वर्षा हुने भएकाले धुलोका कणहरू वर्षासँगे हट्ने भएकाले वर्षायाम उपयुक्त हुने उनीहरूको भनाइ छ।  

वन तथा वातावारण मन्त्रालयका अनुसार नेपालमा प्रदूषणको मात्रा बढ्नुमा गाडीबाट निस्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ। यसैगरी उद्योग तथा कलकारखानाले २५ प्रतिशत र इँटाभट्टाले २५ प्रतिशत प्रदूषण बढाउने गरेका छन्। बाँकी १५ प्रतिशत अन्य क्षेत्र जिम्मेवार हुने मन्त्रालयको भनाइ छ।  

शुक्रबारपछि हिउँदे वर्षा हुने सम्भावना  

मौसमविद्हरूले आगामी शुक्रबारपछि काठमाडौंलगायत देशभर हिँउदे वर्षा हुने सम्भावना जनाएका छन्। समान्यता हिउँदे वर्षा जनवरी/फेब्रुअरीमा हुने गर्छ तर यस वर्ष काठमाडौमा हिउँदे वर्षा भएको छैन। काठमाडाैंमा हिउँदे वर्षा नभए पनि काठमाडौंबाहिर फाट्टफुट्ट वर्षा भएको मौसमविद् मञ्जु भासीले बताइन्। ‘खासगरी आगामी शुक्रबार पछि काठमाडौंलगायत देशभर मौसममा परिवर्तन भई हिउँदे वर्षा हुने सम्भावना छ,’ भासीले भनिन्, ‘त्यसका लागि अहिलेदेखि नै पश्चिमी वायु सक्रिय हुँदै गएको छ।’

मौसम पूर्वानमान महाशाखाका अनुसर मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। उक्त दिन प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टा प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरूमा हल्का हिमपात र तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाउँदै चिसोबाट बच्नकोलागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: २२ माघ २०७७ ०५:५२ बिहीबार

हिउँदे वर्षा काठमाडौंमा प्रदूषण