समाज

छोडेन पुस्तौनी रोगले

पुस्तौनी रोगले परिचित कुष्ठरोगले सुदूरपश्चिमलाई अझै छोड्न सकेको छैन। नेपाल कुष्ठरोग निवारण संघले  सरकारले विगत ४७ वर्षदेखि नेपालमा कुष्ठरोग नियन्त्रण, निवारण र न्यूनीकरण अभियान सञ्चालन गर्दै आए पनि अहिलेसम्म यसको नियन्त्रण र न्यूनीकणको साटो भित्रभित्रै बल्झदै गइरहेको छ।  

कुष्ठरोगका कारण कैलालीको गौरीगंगाका एक बयोवृद्ध अपाङ्ग छन्। उनको हातका औला झरेका छन्। कुष्ठरोग लागेपछि उनी विगत दस वर्षदेखि आफन्त तथा छरछिमेकमा पनि जान सकेका छैनन्। ‘पुस्तौनी रोग (कुष्ठरोग) ले विगत दस वर्षदेखि आफन्त कहाँ जान सकेको छैन,’ नाम नबताउने शर्तमा गौरीगंगाका एक कुष्ठरोगीले भने,‘त्यही पुस्तौनी रोगले अहिले मलाई एक्लाएको छ।’ कुष्ठरोग समाजमा पापका कारण भएको हो र एक व्यक्तिबाट अर्कोमा सर्छ  भन्ने गतल बुझाइले गर्दा कुष्ठ रोगीहरुलाई खुलेर समाजमा आउन गाह्रो भइरहेको उनले बताए। विश्व महामारीको रुपमा देखिएको कोभिड –१९ (कोरोना) रोगले त्रसित समाज भर्खरै मात्र सरकारले भित्र्याएको कोरोनाविरुद्धको खोपले आशासित छ। यही आशासित त्यान्द्रोको उज्यालो भित्रभित्रै वर्षौदेखि ननिभेको पुस्तौनी रोगले छोप्दै गएको छ। ‘अन्य रोग लाग्दा मानिस सहयोग गर्न नजिक पुग्छ,’ उनले भने,‘तर यो पुस्तौदेखि रहेको कुष्ठरोग लागेको मानिस देख्दा सद्देले सहयोग गर्नु त कहाँ हो कहाँ नजिकै आउन मान्दैनन्।’ मानिसको व्यवहारले गर्दा आफूहरु अहिले पनि अपहेलित हुनु परेको कुष्ठरोगीहरुको गुनासो छ।  

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने हरेक वर्ष कुष्ठरोगका बिरामी देखिन छोडेका छैनन्। २०७३/७४मा  एक सय ७९ जना नयाँ विरामी पत्ता लागेको सुदूरपश्चिममा आर्थिक वर्ष २०७४/०७५ मा बढेर दुई सय ९८ बिरामी देखिए। त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ५४ जनामा देखिएको कुष्ठरोग २०७६/०७७ मा घटेर एक सय ३७ जनामा देखिए छ। २०७६/०७७ मा कोरोनाका कारण भएको बन्दान्दीले चैतदेखि असार मसान्तसम्म चेकजाँच गराउन आउनेको संख्या घटेकाले नयाँ बिरामी कम देखिएको सुदूरपश्चिम प्रदेश निर्देशनालय दिपायलको तथ्याङ्कले देखाउँछ।  

यस्तै सुदूरपश्चिममा जिल्लावत रुपमा हेर्ने हो भने कुष्ठरोगमा कैलाली उच्च जोखिममा देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा कैलालीमा सबैभन्दा बढी ५४ जना नयाँ कुष्ठरोगी पत्ता लागेका थिए भने दार्चुलामा एक जनामा पनि देखिएन। यस्तै कञ्चनपुरमा ३६, अछाममा २०, डोटीमा १०, बाजुरामा ७, बैतडी र बझाङमा ४/४ र डडेल्धुरामा २ जनामा कुष्ठरोग देखिएको छ। गत आर्थिक वर्षको चैतदेखि कोरोनाका कारण भएको बन्दाबन्दीले स्वास्थ्य केन्द्रमा कुष्ठरोगको परीक्षण गर्न जानेको संख्यामा कमी आएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा न्यून संख्यामा नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य निर्देशनालय दिपायलका मेडिकल अधिकृत भूषण मिश्र बताउँछन्। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा कुष्ठरोगीको संख्या देखिएको छ। यसले पनि कैलाली बढी जोखिममा देखिएको उनी बताउँछन्। ‘उपचारका साथै अन्य जिल्लाबाट चेकजाँच गराउन पनि कैलाली आउनेको संख्या बढी छ,’ उनले भने,‘त्यसकारण पनि कैलालीमा कुष्ठरोगीको तथ्याङ्क बढी देखिएको हो।’

 

 

प्रकाशित: १८ माघ २०७७ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App