समाज

सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सामूहिक रूपमा सम्पदा संरक्षणको काम अघि बढाएको बताएका छन्। शनिबार लखतीर्थमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको कार्यालय उद्घाटन गर्दै शाक्यले सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध रहेको बताएका हुन्।

सम्पदा संरक्षण गर्ने नाममा नेवार समुदायलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरू बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरूबाट बच्नसमेत आग्रह गरे। हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए।  

कमलपोखरीमा पहिला नै कंक्रिट राखेर निर्माण गरिएको भन्दै उनले अहिले सम्पदा मैत्री पोखरी बनाउन लाग्दासमेत विरोध गरिएकोमा दुखेसो पोखे। कांग्रेस नेता गगन थापालाई पत्र पठाएको सन्दर्भमा उनले भने, ‘त्यहाँ फुलाउने कमलको फूल नै हो। हामीले सम्पदा मैत्री पोखरी बनाउने प्रयास गरे पनि केहीले विरोध गर्दै हिँडे।

एक वर्षअघि गगन थापा र अन्य जनप्रतिनिधिसँग बसेर नै त्यहाँको डिजाइन गरेका हौं। अहिले उनीहरू विरोध गरिरहेका छन्।’ थापाले कमलपोखरी निर्माणका क्रममा करौडौं रकम खर्च गरेको बताउँदै आएको भन्दै शाक्यले अब त्यसको हिसाब माग्ने जनाए।  

‘करोडभन्दा बढीको काम गर्‍यौँ भन्छन् रे। खै केही काम देखिँदैन। अब गगन थापासँग यसै विषयमा म बहस गर्छु। अहिले लिखित रूपमा थापाले त्यहाँ केके गर्नुभयो भनेर मैले सोधेको छु,’ शाक्यले भने। शाक्यका अनुसार थापाले कमलपोखरीलाई छठ पोखरीमा रूपान्तरण गर्न चाहेको बताए। ‘उनीहरूले त त्यहाँ छठ पोखरी बनाउन माग गरेका थिए। तर मैले मानिन्। त्यहाँ पोखरीको संरक्षण गरेर हामीले मौलिक संरचना बनाउने प्रयास गरेका हौं,’ शाक्यले भने।

उनले रानी पोखरीलाई ३६५ दिन नै खोल्नेसमेत बताए। रानी पोखरी क्षेत्रलाई खुला गर्न पहिला त्यहाँ शौचालय जस्ता भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै उनले आफूले रानी पोखरी खोलेरै छाड्ने बताए। ‘अब रानी पोखरी ३६५ दिन नै खोल्छु। अदालत वा अख्तियारले रोके छुट्टै कुरा हो। तर म रानी पोखरी वर्ष भरी खोलेरै छाड्छु। त्यहाँ त पहिला बत्ती पनि बाल्न दिन्न भन्नेहरू थिए।

प्रताप मल्लको पालामा बगैंचा थिएन भनेर विरोध गर्नेहरू पनि थिए। अहिले विरोध गर्नेहरू नै बत्ती र बगैंचा बनाउन भन्न आइरहेका छन्,’ शाक्यले भने। मेयरलाई सम्पदा मास्ने व्यक्तिका रूपमा देखाउने प्रयास भएको भन्दै आफूले हात राखेको सम्पदा क्षेत्रमा विरोध गर्ने तत्व नै सक्रिय रहेको उनले बताए। ‘सम्पदा क्षेत्रमा नै शौचालय, फुड स्टलहरू छन्। त्यहाँ कसैको विरोध छैन। तर मेयरले त्यहाँभन्दा राम्रो संरचना बनाउँछु भन्यो भने विरोध गर्नेहरू लाइन लाग्छन्,’ उनले भने।

महानगरले सम्पदा संरक्षणका लागि स्थानीयसँग सहकार्य गरिरहेको भन्दै बहाः, बहीः लगायतका संरचना पुनर्निर्माण प्राथमिकतामा राखेको उनले बताए। यस्ता धार्मिक संरचना महानगरले बनाएर महानगरले नै अधिग्रहण गर्ने हल्लाबाट सचेत रहन पनि उनले आग्रह गरे। ‘महानगरले बनाएर महानगरले नै लिन्छ भनेर भ्रम फैलाइरहेका छन्। महानगरले लिँदैन। गुठी र स्थानीयलाई हस्तान्तरण गर्ने हो,’ शाक्यले भने।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाका अध्यक्ष अरबिन्द्रमान सिंहको सभापतित्वमा भएको कार्यक्रममा मनोजरत्न शाहीले स्वागत मन्तव्य र शाखाका उपाध्यक्ष प्रवीण महर्जन प्रजापति, सचिव रत्नकाजी मन तथा नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले संस्थाका बारेमा प्रकाश पारेका थिए।

प्रकाशित: १८ माघ २०७७ ०२:५० आइतबार

काठमाडौं महानगरपालिका सम्पदा संरक्षण