समाज

धरानमा विपन्न परिवारलाई रासन कार्ड विरतण

कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।  

त्यतिबेला नै धरानको वडा नं १६ का जनप्रतिनिधिहरु आफ्नो वडाका विपन्न परिवारको तथ्यांक संकलन गर्न जुटेका थिए । लकडाउनमा उनीहरुले विपन्न परिवारलाई ४ पटक राहत वितरण गरेका थिए । त्यसक्रममा नै उनीहरुले थाहा पाएका थिए, वडामा ९२ जना अतिविपन्न, अशक्त व्यक्ति तथा खानै नपुग्ने परिवार छन् । जसलाई सरकारले सधैं खाद्यान्न सहयोग नगरि हुदैन । उनीहरुको अवस्था देखेर चिन्तित बनेका धरानको वडा नं १६ का जनप्रतिनिधिहरुले आज (शनिबार) देखि विपन्न परिवारलाई वार्षिक रासन कार्ड वितरण गरेर नौलो कार्यक्रम शुरुवात गरेका छन् ।  

वडा अध्यक्ष दिलकुमार गिरीका अनुसार वडाका अतिविपन्न ३२ जनाको परिवारलाई रासन कार्ड वितरण भएको छ । रासन कार्ड पाएका व्यक्ति तथा परिवारले हरेक महिना वडा कार्यालयबाट खाद्यान्न राहत पाउनेछन् । लक्षित वर्गको बजेटलाई कार्यक्रम गरेर सिध्याउनु भन्दा विपन्न जनताले प्रत्यक्ष लाभ पाउन सकुन् भनेर रासन कार्ड वितरण गरिएको उनको भनाई छ । ‘हरेक बर्ष लक्षित वर्गको बजेट के के कार्यक्रम गरेर सकिन्छ, उपलब्धी पनि खासै देखिन्न,’ उनले भने, ‘अरु अतिविपन्न परिवारलाई रासन कार्ड दिएर सधैलाई राहत दिनु उत्तम ठानेर यो कार्यक्रम शुरु गरेका हौं ।’

शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी र धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले छनौट भएका विपन्न परिवारलाई रासन कार्ड हस्तान्तरण गरेका थिए ।तत्काल आवश्यक ३२ परिवारलाई कार्ड वितरण गरिएको उनले बताए । बाँकी परिवारलाई पनि आवश्यक बजेट तथा दाताको सहयोगमा रासन कार्ड वितरण गर्ने उनको भनाई छ ।  

रासन कार्ड पाएका व्यक्ति तथा परिवारलाई हरेक महिना वडा कार्यालयले खाद्यान्न उपलब्ध गराउनेछ । कार्ड पाएका व्यक्ति वा परिवारमा १ जना मात्र भए महिनामा १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल पाउनेछन् । एक जना भन्दा बढी परिवारको सदस्य भए २५ किलो चामल पाउनेछ । उनीहरुलाई शनिबार कार्ड पाएसँगै रासन पनि वितरण गरिएको थियो । ‘वडामा जनप्रतिनिधिकोरुपमा हामी रहुञ्जेल यो कार्यक्रम जारी राख्छांै, अर्को पटकको स्थानीय तहको चुनावबाट आउने जनप्रतिनिधिहरुले पनि यो कार्यक्रमलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’वडाअध्यक्ष गिरीले भने ।

एक सय जनाको स्वास्थ्य विमा

वडा नं १६ को कार्यालयले विपन्न परिवारका एक सय जनाको स्वास्थ्य विमा पनि गरिदिएको छ । उनीहरुलाई पनि शनिबार कार्ड वितरण गरिएको थियो । वडा सदस्य सुरेश श्रेष्ठका अनुसार वडाका विपन्न २० परिवारका एक सय जनाको स्वास्थ्य विमा गरिएको हो । खान पुग्ने परिवार भएपनि आर्थिक अभावले स्वास्थ्य विमा गर्न नसक्ने परिवार भएकोले वडा कार्यालयले ३५ सय तिरेर विमा गरिएको सदस्य श्रेष्ठको भनाई छ ।

 ‘उहाँहरुको खानसम्म पुग्ने छ, तर पैसा नभएकोले स्वास्थ्य विमाबाट पनि बञ्चित थियो । त्यसैले वडा कार्यालयले नै गरिदिएको हो,’उनले भने,‘विमा गरेको परिवारले एक लाखसम्मको उपचार सुविधा पाउनेछन् ।’

प्रकाशित: १७ माघ २०७७ १२:४२ शनिबार