प्रहरीले बाँकेको कोहलपुरबाट लोपउन्मुख वन्यजन्तु रेड पाण्डाको अवैध कारोबारमा संलग्न तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका–१०का ४० वर्षे दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका–११ का ४२ वर्षे धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका–४ का ३३ वर्षे भरत बहादुर पुन रहेका छन ।
पछिल्लो समय रेडपाण्डाको अवैध कारोबार बढदै गएको छ । प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ पनि गरिरहेको छ । तर रेडपाण्डाको अवैध कारोबार गर्नेको संख्यामा भने कमी आएको छैन । बाँके प्रहरीले पछिल्लो दुइ महिनामा करिब एक दर्जन ब्यक्तिलाई अवैध रुपमा रेडपाण्डाको कारोबार गरेको आरोपमा पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडी बढाइसकेको छ । बुधबार पनि प्रहरीले रेडपाण्डाको कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ ।
बाँके कोहलपुर नगरपालिका–१२ चप्परगौरी स्थित दैलेखी होटलमा रेड पाण्डाको छालाको अवैध कारोबार गर्ने क्रममा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो । रेड पाण्डाको अवैध कारोबार भैरहेको भन्ने सुचना आधारमा प्रहरीले होटलमा छानबिनका लागी टोली पठाएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले दैलेखी होटलको कोठा नम्बर १ सय १३ बाट तिन जनालाई पक्राउ गरेको थियो । प्रक्राउ परेकाहरुले झोलामा रेडपाण्डाको दुइ थान छाला राखेका थिए । प्रक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको छ ।
प्रकाशित: १४ माघ २०७७ १४:१७ बुधबार