समाज

मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा विज्ञ बोलाइने

बैतडीमा मानव र वन्यजन्तुबीच देखिएको द्वन्द्व व्यवस्थापनका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ। वन क्षेत्र समन्वय समितिको बैठकले मानव र वन्यजन्तुबीच देखिएको द्वन्द्व समाधानका लागि बिशेषज्ञ बोलाउने निर्णय गरेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिए। यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष लगायतका निकायमा पत्राचार गरिने उनले जानकारी दिए।

जिल्लामा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेकाले मानव र चितुवाबीच देखिएको द्वन्द्व समाधानमा बिशेषज्ञहरुले अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको हो। जिल्ल्लाको दक्षिणी क्षेत्रमा चितुवाले मानव बस्तीमा पसेर आक्रमण गर्दै आएको छ। मानव बस्तीमा पस्नाको कारणबारे अहिलेसम्म एकीन नभएकाले बिशेषज्ञ टोली पठाएर अध्ययन अनुसन्धानका लागि विज्ञ निकायहरुसँग अनुरोध गरिने डिभिजन वन प्रमुख पराजुलीले बताए।

यस्तै जिल्लाका विभिन्न स्थानमा भइरहेको वन अतिक्रमण रोक्नका लागि आवश्यक कदम चाल्ने निर्णय समेत भएको पराजुलीले जानकारी दिए। यसका साथै जंगली जनावरको शिकार गर्ने क्रम बढिरहेकाले त्यसको नियन्त्रणका लागि सुरक्षा निकायहरुसँग मिलेर अघि बढ्ने निर्णय समेत गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रकाशित: ९ माघ २०७७ ०५:५२ शुक्रबार