समाज

५ वर्षिया बालिका बलात्कार घटना : उपचारका लागि आर्थिक अभाव झेल्दै परिवार

रुपन्देहीको तिलोत्तमा १५ की  पाँच वर्षिया बालिका चार दिनदेखि काठमाडौं स्थित टिचिङ अस्पतालको बेडमा छटपटाइरहेकी छन्। अस्पतालमासँगै रहेकी बालिकाकी आमाका अनुसार उनको योनाङ्गमा गहिरो चोट छ। दिशा पिसावका लागि कोखाबाट पाइप लगाइएको छ। गालामा धारीलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ। कलिला ओठमा टोकेर बनाइएको गहिरो घाउ छ। दाहिने आँखाको परेला च्यातीने गरी चोट लागेको छ। अधिकांस समय बेहोसी अवस्थामै रहेकी बालिका छिनछिनमा बिउँझिदा चिच्याँउछीन, छट्पटाउँछिन। माघ २ गते काठमाडौं  पुर्याइएकी बालिकालाई आइतबार दिउँसो आइसीयुबाट जनरल वार्डमा सारीएको बालिकाकी आमाले बताइन। ‘छोरीलाई आइसीयुबाट अर्को कोठामा सारेका छन। शरिरभरी घाउ छन। घरी घरी दुख्यो भनेर चिच्याउँछे। अप्रेसन गरेपछि अब त बाँच्छे की भन्ने लागेको छ’ उनले टेलिफोन कुराकानीमा भनिन्।

स्थानीय एक कक्षामा पढ्ने ५ वर्षिया ती बालिका माघ १ गते छिमेककै एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन्। बलात्कारमा संलग्न २८ वर्षे होमबहादुर बिकलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ। अभियुक्त कपिलबस्तुको बाणगंगा १२ घर भइ तिलोत्तमा स्थित हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे। पसलमा सामान किन्न गएकी बालिकालाइ बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।  

घटनाको दिन साँझ पाँच बजेतिर बालिका समान लिन गाँउकै पसलमा गएकी थिइन। पौने  घण्टासम्म  छोरी नफर्के पछि आमाले खोजी गरिन।  गाँउमा नभेटिए पछि आफन्तले झाडी तिर खोज्दै जाँदा बाँसको झाङ्गमा बालिका अर्धमुर्छित अवस्थामा भेटिइन। रगताम्मे भएकी बालिकाको योनाङ्ग,ओठ,आँखा,गाला,घाँटीमा डरलाग्दा चोट थिए। बालिकाका मामाका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निशान थियो। बालिकालाई तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगेपनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल पठाइयो। लुम्बिनीले तत्कालै काठमाडौं रेफर गरिदियो।  

अहिले बालिका खतरा मुक्त रहेपनि स्वास्थ्य अवस्था गम्भिर नै रहेको अस्पतालका चिकित्सकलाई उदृत रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए। ‘अप्रेसन पछि बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं’एसपि पोखरेलले भने। अभियुक्त बिकले बलात्कार पछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनु पर्ने माग परिवार र आफन्तले गरेका छन। बालिकाका आफन्त र गाँउलेले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिए।

बलात्कारी होमबहादुरका गलत क्रियाकलापलाइ ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले  हिरालाल मल्लाहलाई पनि कारबाहीको माग गरेका छन। होमबहादुरको चालचलन पहिलेदेखि नै ठिक नभएकाले गाँउमा नराख्न स्थनीयले गरेको आग्रहलाइ बेवास्ता गर्दा पाँच वर्षे बालिका जघन्य अपराधको सिकार भएको भन्दै गाँउलेले हिरालाललाई कारबाहीको माग गरेका हुन। स्थानीयको दवाव पछि प्रहरीले हिरालाललाइ घटनाको तीन दिन पछि नियन्त्रणमा लिएको छ।

बिकलाइ केही वर्षदेखि हिरालालले कामदारको रुपमा घरमा आश्रय दिएका थिए। स्थानीय स्कुलकी शिक्षिका सरस्वती भण्डारीका अनुसार अभियुक्त बिकले यस अघिपनि पटक पटक महिला,बालबालिकहरुलाई जिस्काउने,संवेदनशिल अंगमा छुन खोज्ने, रक्सीको बहानामा अश्लिल शब्द बोल्ने क्रियाकलाप दोहोर्याईएपछि गाँउमा नराख्न आग्रह गरेका थिए। तर हिरालालले उल्टै आफ्ना छोरी चेलीको सुरक्षा आँफै गर भन्दै गाँउलेलाई धम्काए। ‘घटना घटाएपछि पनि बिक हिरालालसँगै आगो तापेर बसेको थियो उसँग सोध्न खोज्दा आफ्ना छोरीचेलीको सुरक्षा गर्न सक्दैनौ यसलाई दोष दिन्छौ भनेर हिरालालले हामीलाइनै धम्काए’ बालिकाका मामाले भने।  

उपचारकालागि आर्थिक अभाव झेल्दै पीडित परिवार

बलात्कारको सिकार भएकी पाँच वर्षे बालिका चार सन्तान मध्येकी साइली हुन। उनका दुइ दिदि र एक बहिनी छन।  बाबुआमा एक वर्षकी छोरीलाइ काखमा च्यापेर चार दिनदेखि टिचिङ अस्पतालको चक्कर काटिरहेका छन। दैनिक ज्यालादारी गरेर गुजारा गर्ने दम्पत्तीको सम्पत्तीको नाममा एक तले घर छ। घटना लगत्तै छोरीलाइ उपचारका लागि काठमाडौं लैजाँदा आफन्त र छिमेकले ऋण धन गरेर दिएको पैसा सकिन लागेको बालिकाका बुवाले बताए। छोरीको पीरले बाबुआमा भोकभोकै बसेपनि पैसा सकिएपछि काखे नानीलाइ केले दुध किनेर खुवाउने भन्ने चिन्ता थपिएको उनीहरुसँगै रहेका एक आफन्तले गुनासो गरे।  

 

प्रकाशित: ५ माघ २०७७ १३:२२ सोमबार

बलात्कार बालिका