समाज

बाटो सुधार नहुँदा मेन्च्यु डुप्चे मेलामा दर्शनार्थी घटे

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, चिप्लेटीमा लाग्ने मेन्च्यु डुप्चे मेलाका लागि उकालो चढ्दै दर्शनार्थी । तस्वीर/हिमनाथ

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, चिप्लेटीमा लाग्ने मेन्च्यु डुप्चे मेलामा दर्शनार्थी घटेका छन् । हरेक वर्ष माघे संक्रान्तीको दिन मेला लाग्दै आएकोमा पछिल्लो समय दर्शनार्थी घट्दै गएका छन् ।  

मेला लाग्ने स्थानसम्म जाने बाटो सुधार नभएको र उचित प्रचारप्रसार नहुँदा पछिल्लो समय मेलामा जानेको संख्या घटेको स्थानीय किप्पा सोनाम वाइवाले बताए । ‘यहाँ २०१३ सालदेखि मेला लाग्दै आएको छ’, उनले भने, ‘ भूकम्पपछि बाटो सुधार नहुँदा मान्छे जाने क्रम घटेको छ ।’ यस क्षेत्रमा दर्शनाथीका लागि विश्रामस्थल र मूर्ति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।  

मेन्च्यु डुप्चेमा गएरपछि बोली नफुटेका बच्चाको बोली फुट्ने र लुतो ठिक हुने जनविश्वास रही आएको छ । असार, साउन र भदौमा त्यहाँ कोही पनि नजाने र अरु समयमा पूजाआजा गर्नका लागि त्यहाँ पुग्ने गरेका उनको भनाइ छ । ‘यहाँ गएर नुहाएपछि छाला सम्बन्धी रोग ठिक हुन्छ’, उनले भने, ‘त्यसकारण पनि यहाँ जानेको संख्या बढ्दै गएको थियो ।’ चिप्लेटीमा जाने बाटोको सुधार गर्न सकिएमा दर्शनार्थीको संख्या बढ्ने स्थानीय सोनाम तामाङले बताए ।  

सदरमुकाम धुन्चेदेखि सोलेसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । यसको दूरी ४ किलोमिटर रहेको छ । त्यसपछि करिब डेड घण्टाको उकालो चढेपछि त्यहाँ पुग्न सकिन्छ । मेलामा रसुवा जिल्लाको विभिन्न स्थानका झाँक्री जाने गरेका छन् । जिल्लाको सोले, भिमली, बोकेझुण्डा, ठाडे लगायतका क्षेत्रका झाँक्री तथा स्थानीय बासिन्दा जाने गरेका छन् ।  

गत वर्षतिर मेला लाग्ने समयमा हिउँ जम्ने गरेको थियो । तर यो पटक हिउँ नपरेको कारण यात्रामा सहज भएको छ । मेलाको समयमा स्थानीयले झाडी फाडेर केही सहज बनाउने गरेका छन् ।  तर यो पर्याप्त छैन । बाटो साँघुरो भएकाले हिँड्नलाई कठिन हुने गरेको छ ।  

प्रकाशित: १ माघ २०७७ ११:१४ बिहीबार