समाज

तस्करीको नयाँ रुप : बहुमुल्य सामानको ओसारपसारमा यात्रुको प्रयोग

सरकारले विदेशबाट फर्कनेहरुलाई काँचो सुन लैजान प्रतिबन्ध लगाएपछि पछिल्लो समय तस्करहरुले वैदेशिक रोजगारीबाट स्वदेश फर्कने यात्रु मार्फत सुनको ओसारपसार गर्न थालेका छन्।

सुन तस्करी गर्नेहरुले नेपाल फर्कन तयार भएकाहरुको कोठामै गएर सुन लगायतका बहुमुल्य सामाग्री सुम्पने गरेका छन्। कतिपयले त विमानस्थल मै गएर नेपाली यात्रुलाई सुन थमाउने गरेको सम्म भेटिएको छ। त्यसबापत यात्रुलाई ५ हजार देखि १५ हजार रुपैयाँसम्म खर्च दिने गरेका छन। काँचो सुन लैजान प्रतिबन्ध भएकोले तस्करहरुले सुन बटारेर बाला जस्तो बनाई यात्रुलाई थमाउने गरेका छन्।  

खाडीमुलकहरुबाट फर्किने नेपालीहरुलाई ५० ग्रामसम्म सुनको गरगहना बिना भन्सार लैजान छुट दिएको छ। यसरी पठाईएका सुन नेपाल हुँदै भारतीय व्यापारीलाई बिक्री गरिने गरिएको श्रोतले जानकारी दिएको छ। नेपाली व्यापारीले भन्दा भारतीय व्यापारीले सुनको बढी मूल्य तिर्ने हुनाले भारतीय बजारमा यस्ता सुन बेचिने गरेको देखिन्छ।  

तस्करहरुले सुनसँगै ल्यापटप, मोबाईल, टेलिभिजन लगायतका बहुमुल्य सामाग्री समेत यात्रुलाई भिराएर पठाउने गरेका छन्। ती सामाग्री हरु नेपाल पुग्नसाथ विमानस्थल बाटै तस्करका एजेन्टहरुले बुझ्ने गरेको श्रोतले जानकारी दिएको छ। सर्वसाधारण यात्रुले लिएर गएका कतिपय सामाग्रीको त बिल समेत नहुने गरेको बताईन्छ। ती सामाग्री नेपालमा पुर्यासएर बेच्दा प्रशस्त मुनाफा हुने गरेकाले तस्करहरुले यस्तो धन्धा गर्ने गरेका हुन्।

विदेशबाट लगिएका मोबाइल, टेलिभिजन, ल्यापटप लगायतका सामाग्री बढी गुणस्तरीय र भरपर्दो हुने भएकाले पनि नेपालमा यि सामाग्री सजिलै बिक्री वितरण हुने गरेका छन। यहि अवसरको फाईदा उठाउन तस्करहरुले यात्रुलाई प्रयोग गरेर भन्सार छली गरिरहेका छन्। तस्करहरुले यस्तो धन्धामा बिदा वा क्यान्सिलमा जानेहरुलाई भन्दा विभिन्न समस्यामा परेर नेपाल फर्किएकाहरुलाई बढि प्रयोग गर्ने गरेका छन्। कतिपयलाई त घर फर्कने खर्च नभएका नेपालीहरुलाई आफै टिकट काटेर समेत पठाउने गरेका छन्।

दूतावासको ध्यानाकर्षण  

विदेशबाट घर फर्कने यात्रुले लगेका सामाग्रीहरु तस्करी गर्नेहरुको सक्रियता बढेपछि कतार र युएईमा रहेका नेपाली दूतावासले सूचना निकालेर सर्वसाधारणलाई त्यस्ता सामाग्री नलैजान सचेत गराएको छ।  

कतार स्थित नेपाली दूतावासले सूचना जारी गर्दै यात्रुले प्रलोभनमा परि सुन लगायतका बहुमुल्य सामाग्री लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको जानकारीमा आएकोले यात्रा गर्दा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानुनले तोकेको परिणाम भन्दा बढी वस्तु नलैजान सचेत गराएको छ।

यस्तै अबुधाबी स्थित नेपाली दूतावासले संयुक्त अरब ईमिरेट्सका विभिन्न विमानस्थलहरुबाट नेपाल यात्रा गर्दा केही नेपालीहरुले आफ्नो स्वामित्व नभएका अन्य व्यक्तिका सुन, ल्यापटप, मोबाईल जस्ता बहुमुल्य वस्तुहरु साथमा बोक्ने र सो क्रममा विभिन्न समस्यामा पर्ने गरेका घटनाहरु पछिल्लो समय बढ्दै गएकाले त्यस्ता सामाग्री बोकेर यात्रा नगर्न सचेत गराएको छ।

 

प्रकाशित: २४ पुस २०७७ ०६:०४ शुक्रबार

सुन तस्करी