समाज

साझा प्रकाशनमा निर्वाचन सुरु

साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन सुरु भएको छ। अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो। अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा र डा. जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन्।

सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित भएका छन्। सदस्यमा उम्मेदवारी दिएका वियोगी बुढाथोकी, महेश प्रसाईँ, ज्ञानु अधिकारी र यशोदा अधिकारीले सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए। निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईका अनुसार  पुस २१ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचनका लागि समय निर्धारण गरिएको छ।

कूल एक हजार ४५७ अंशियार (शेयर सदस्य) रहेको भाषा–साहित्यको सो ऐतिहासिक संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन हुन लागेको हो। विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति हुने गरेको थियो। यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि पनि निर्वाचन हुनेछ। संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र विषयगत मन्त्रालयबाट एकएक  सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ। रासस

प्रकाशित: २१ पुस २०७७ ०५:४० मंगलबार

साझा प्रकाशन