समाज

चार वर्षसम्म बनेन दश अवतार मन्दिर

हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन। निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ।  

 विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनःनिर्माणका लागि प्राकृतिक/सानुबाबु/एसटी जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनःनिर्माण सक्नुपर्ने थियो।  

 सुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई नै मन्दिर पुनःनिर्माणको जिम्मेवारी दिनुपर्ने जनाउँदै काम रोकेका थिए। केही समय काम रोकिएको भन्दै विभागले पहिलोपटक २०७६ असोज १५ गतेसम्मका लागि म्याद थप गरेको इञ्जिनीयर लक्ष्मण लम्सालले राससलाई जानकारी दिए।

यसबीचमा स्थानीयवासीको मागअनुसार निर्माणका केही पक्षमा संशोधन गरिएको थियो। पहिलोपटक थप गरिएको म्यादमा काम नसकेपछि विभागले दोस्रोपटक २०७६ चैत मसान्तसम्मका लागि म्याद थप गरेको थियो। कोरोना महामारीका कारण काम गर्न सकिएन जनाउँदै निर्माण व्यवसायीले २०७७ वैशाख २३ गते विभागमा निवेदन दिई पुनःम्याद थपको माग गरेको थियो। निर्माण व्यवसायीकै मागअनुसार अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्मका लागि मन्दिर पुनःनिर्माण सम्पन्न गर्न म्याद दिइएको जनाइएको छ।  

 चैत मसान्तसम्म पनि काम नसके कालोसूचीमा राखी कारवाहीको सिफारिस गरिने विभागका महानिर्देशक दामोदर गौतम बताउँछन्। कानूनी कारवाही गरेर मात्र मन्दिर पुनःनिर्माण नहुने भएकाले समय भएसम्म काम गराउने गरी प्रोत्साहन गरिएको उनले बताए। आइतबार महानिर्देशकले मन्दिर पुनःनिर्माणको अवलोकन गरेका थिए।  

 तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पाएकामा पहिले काम गरेको कम्पनीले नसकी हाल अर्कोले काम गरिरहेको छ। तीन करोड ९२ लाख ७८ हजार ९०६ रुपैयाँ लागत अनुमान गरिएकामा तीन करोड ७५ लाख नौ हजार ८५५ रुपैयाँमा ठेक्का गरिएको थियो। हालसम्म पुनःनिर्माणको ५४.४७ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ। पछिल्लो समय काठ नपाएर पुनःनिर्माणमा समस्या आएको छ।रासस

प्रकाशित: २० पुस २०७७ ०८:३१ सोमबार