समाज

गुलजार बन्दै मधेस

अढाइ दशकअघि मिर्चैया–कटारी सडक निर्माण पूरा भएपछि सिरहा, मिर्चैयामा विकासको लहर सुरु भयो। उदयपुर, सिन्धुली, खोटाङलगायत पहाडी जिल्लाका मानिस यहाँ आएर बस्न थाले। सिरहा तथा धनुषाका ‘देहात’ का मानिसले पनि बसोबासका लागि त्यही क्षेत्र रोजे। मधेसी तथा पहाडी समुदायको मिश्रित बस्ती बढ्दै गएको केही वर्षमै यो बजार गुलजार बन्दै गयो। भौतिक संरचना विस्तारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा पनि प्रगति देखिन थाल्यो।

२०६२/६३ सालको जनआन्दोलनपछि मिर्चैया बजारले रूप फेर्दै गयो। ‘पछिल्लो १० वर्षमा यो बजार सिरहाको व्यापारिक केन्द्र बनेको छ,’ मिर्चैयाका बुद्धिजीवी विजय साह भन्छन्, ‘पहाड तथा मधेसका विभिन्न ठाउँबाट बसाइँ सरेर आएका मानिसको साझा अठोटले यहाँ उन्नति सम्भव भएको हो।’ गाउँ–सहरको समृद्धिका लागि सद्भाव र स्थानीयबीच अन्तर्घुलन अपरिहार्य रहेको साहको भनाइ छ।

२०७२ सालको तेस्रो मधेस आन्दोलनका बेला अन्य जिल्लाभन्दा तुलनात्मक रूपमा संयम र शान्त देखिएको सिरहामा मिश्रित जातजातिको बसोबास भएका गाउँसहर समृद्ध बन्दै गएको देखिन्छ। साहका अनुसार सिरहाको मिर्चैया, लहान, गोलबजार र महोत्तरीको बर्दिबासमा केही वर्षयता चहलपहल बढ्दै गएको छ। 

जातीय सद्भावको नमुना बसोबासमा मात्र होइन, व्यापार, संस्कृति र विकासमा पनि झल्किन्छ यहाँ। ‘सिरहाको लहान, मिर्चैया र गोलबजारबाट खाद्यान्नलगायत विभिन्न सामग्री मिर्चैया हुँदै कटारी, घुर्मी, ओखलढुंगा र सोलुको बजारसम्म पुग्छ,’ मिर्चैया व्यापार संघको सल्लाहकार अशोक साह भन्छन्, ‘यहाँको व्यापारको मियो पहाड हो।’ यही भएर यहाँको व्यापार बढ्दो क्रममा छ। कोरोना कहरका कारण पछिल्लो समय व्यापारमा पहिलेजस्तो तेजी छैन।

मिर्चैया उत्तरतर्फको सगरमाथा राजमार्ग हुँदै सिन्धुली, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुसम्म गाडी चल्छ। सडकको पहुँचसँगै पहाडबाट मधेसमा बसाइँ सर्ने क्रम बढेको र त्यसले सामाजिक सद्भाव बढाउनुका साथै मिश्रित संस्कृतिको विकासमा पनि टेवा पुगेको अशोक बताउँछन्। ‘यहाँ मधेसी र पहाडी समुदायबीच अत्यन्त राम्रो सम्बन्ध छ। दसैं, तिहार, छठजस्ता पर्व दुवै समुदायका मानिसले उल्लासका साथ मनाउँछन्,’ उनी भन्छन्, ‘यो सामाजिक सम्बन्धले समन्वय बढाउँदै लगेको छ।’ उनका अनुसार सिरहाका मुख्य मुख्य व्यवसायमा मधेसी समुदायको बाहुल्य रहे पनि क्रेताचाहिँ पहाडबाट आउने गरेका छन्।  

गुणस्तरीय शिक्षा, सहज व्यापार, पहुँच मार्गको समुचित व्यवस्था तथा रोजगारीले पहाड र मधेसबाट बसोबास गर्न आउनेको संख्या बढेकाले बर्दिबास, मिर्चैया, लहान र गोलबजार गुलजार बन्दै गएका छन्। प्रजातन्त्र पुनःस्थापनापछि आठ वर्षसम्म यी बजारमा विकासको काम निकै अगाडि बढेको थियो। २०५२ सालमा माओवादीले ‘जनयुद्ध’ का नाममा हिंसात्मक गतिविधि थालेपछि १० वर्षजति विकासको गति अवरुद्ध भए पनि पछिल्लो समय आर्थिक तथा सामाजिक परिवर्तन देखिन थालेको छ। ‘केही वर्षअघिसम्म यी बजारमा सामान्य चहलपहल थियो, पछिल्लो समय व्यापार व्यवसाय बढ्दै गएको छ,’ मिर्चैयाका अरूणकुमार साह भन्छन्।

पहाडी–मधेसी दुवै समुदायका मानिसको मिश्रित बसोबास भएका ठाउँमा अन्य ठाउँको तुलनामा छिटो विकास हुने भएको उनको अनुभव छ। ‘मिश्रित रहनसहन र संस्कृति भएका ठाउँमा सहरीकरण तथा बजार बिस्तार चाँडो हुँदै गएको छ,’ उनी भन्छन्। सुरक्षित व्यापारको रौनकका कारण बैंक तथा वित्तीय संस्था, उद्योग थपिँदै छन्। गोलबजारदेखि मिर्र्र्चैयासम्मको राजमार्ग क्षेत्र औद्योगिक करिडोरमा रूपान्तरित हुँदै गएको अरूणकुमार बताउँछन्। हिमालय सुगर मिल्स, मारुती सिमेन्टस, सौर्य सिमेन्टसले यस क्षेत्रका धेरै मानिसलाई रोजगार दिएको उनले बताए।  

व्यापारको उर्वर अवस्थाले केही वर्षयता यी क्षेत्रमा बसोबास गर्न आउनेको संख्या पनि बढेको छ। जग्गाको मूल्य पनि बढ्दै गएको छ। एक दशकयता मिर्चैयामा जग्गाको भाउ अत्यधिक बढेको स्थानीय व्यापारीको भनाइ छ। ‘व्यापार–व्यवसाय उँभो लागेकाले यहाँ घडेरीको मूल्य तीव्र रूपमा बढेको हो, एक कट्ठा घडेरीका लागि न्यूनतम ४०/५० लाखदेखि १ करोडभन्दा माथि पर्छ,’ अशोकले भने।

गोलबजार, लालपुरका ६५ वर्षीय शुभलाल राईका पुस्ता खोटाङबाट यहाँ आएका हुन्। उनका तीन पुस्ताले यहीँ बिताइसकेका छन्। कृषि कार्य गर्दै आएका राईले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिए। उनका छोराछोरी अहिले विदेशमा छन्। यादव, साह, महतो, क्षत्री, बाहुन र राईको मिश्रित बसोबास रहेको लालपुरमा राई परिवारको प्रेरणाले तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका मधेसी समुदायले पनि छोराछोरीको शिक्षामा विशेष ध्यान दिन थालेका छन्।  

‘शुभलाल पहाडी मात्र होइन, मधेसी समुदायका लागि पनि प्रेरणाका स्रोत हुन्। उनले छोराछोरीको शिक्षामा लगानी गर्नुपर्छ भन्ने सन्देश दिएका छन्। गोलबजारका व्यापारी अजित जयसवालको अनुभवमा पहाडी समुदायको कारण यस क्षेत्रका बजारमा व्यापार फस्टाएको हो। यहाँ मुख्यतः कपडा, हार्डवेयर, चामल, फर्निचरजन्य सामान खरिदबिक्री हुन्छ।  

गोलबजारमा व्यापारको उर्वर भविष्य देखेरै यहाँ जिल्लाकै पहिलो व्यापारिक मल सञ्चालन गरिएको छ। ‘पहाडी समुदायका ग्राहक नआउने हो भने यहाँको व्यापारले यो उचाइ पाउँदैनथ्यो,’ उनी खुसी व्यक्त गर्छन्। तथ्यांकअनुसार अहिले मिर्चैयाको १ लाखभन्दा बढी, गोलबजारको करिब १ लाख र लहानको जनसंख्या २ लाखभन्दा बढी छ।

लहानमा वर्षौंदेखि मधेसी तथा पहाडी समुदायका मानिस समन्वयात्मक रूपमा बस्दै आएका छन्। आपसी मेलमिलाप तथा सांस्कृतिक अन्तर्सम्बन्धले लहान समृद्धिको बाटोमा अगाडि बढेको स्थानीय बुद्धिजीवी बताउँछन्। मारवाडी समुदायको आगमनले लहानलाई व्यापारिक सहर बनाउन थप ऊर्जा प्रदान ग¥यो। मारवाडी समुदायले व्यापार सुरुवात गरेर लहानलाई व्यापारिक सहरको पहिचान मात्र दिएन, अन्य समुदायलाई समेत व्यापारमा आकर्षित गरेका छन्।पहिला व्यापारी भनेको मारवाडीलाई चिनिन्थ्यो, अहिले सबै समुदायका व्यापारी छन्। जातीय सद्भाव र सहकार्यले लहानको औद्योगिक, शैक्षिक र सामाजिक विकासमा योगदान पुर्‍याएको बुद्धिजीवीको धारणा छ।

सगरमाथा चौधरी आँखा अस्पताल स्थापना भएपछि लहानको नाम देशभित्र मात्र होइन, विदेशमा पनि फैलिँदै छ। आँखा शल्यक्रियाका आधारमा यो अस्पताल विश्वकै दोस्रो ठूलो हो। लहानका समाजसेवी रवीन्द्रलाल चौधरीको बुझाइमा पछिल्लो समय लहान सबै जातजातिको साझा फूलबारी बन्दै गएको छ। ‘सधैं द्वन्द्व र कलह मात्र गरेर हुँदैन, विकासको काममा एकजुट हुनुपर्छ भन्ने भावना विकास भएको छ, जुन सकारात्मक हो,’ चौधरी भन्छन्।  

एक अर्काको चाडपर्वको सम्मान गर्ने संस्कारले सामाजिक सद्भाव बढाएको समाजसेवीको भनाइ छ। मधेसका गाउँसहरमा हिन्दु मुस्लिमको चाडपर्वमा सरिक हुने अनि मुस्लिम रमाउँदै हिन्दुको पर्वमा सामेल भएको भेटिन्छ। पछिल्लो समय मधेसमा भौतिक पूर्वाधारको पहुँचमात्र फैलिएको छैन, जातीय तथा धार्मिक सद्भाव गाढा हुँदै गएको छ। राजनीतिक उथलपुथल नहुने हो र शान्ति तथा स्थायित्व हुने हो भने मधेसको परिवर्तनले देशलाई उज्यालो देखाउनेछ।

प्रकाशित: २० पुस २०७७ ०३:२६ सोमबार