समाज

आजदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ, सजग रहनुहोला : मौसमविद्

फाइल तस्बिर : हिमपात

पश्चिमी वायुबाट निम्न चापीय प्रणाली विकास भएकाले आजदेखि केही दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा र हिमपात हुने सम्भवना रहेकाले सजगता अपनाउन मौसमविद्ले सबैमा आग्रह गरेका छन्।  

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो ‘विशेष मौसम बुलेटिन’ जारी गर्दै मंगलबारसम्म मौसमप्रति सचेत रहन चेतावनी दिएको हो।  

महाशाखाका अनुसार पश्चिमी वायुमा विकसित निम्न चापीय प्रणालीको प्रभावले आजदेखि केही दिनसम्म देशका धेरैजसो भूभागमा बदली, वर्षा र हिमपात हुने सम्भावना छ। यो प्रणाली पुस २२ गते (बुधबार) देखि मात्र कमजोर हुँदै जानेछ।

आजदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात तथा पहाडी तथा तराईका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज रातिदेखि पुस २१ गते मंगलबारसम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।  

बुलेटिनमा भनिएको छ- ‘बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहनु हुन सबैमा अनुरोध छ।’

प्रकाशित: १९ पुस २०७७ ०८:५८ आइतबार

हिमपात वर्षा