समाज

अज्ञात रोगले धमाधम बोएर बाख्रा मर्न थालेपछि किसान चिन्तित

बाख्रीखोरमै पुगेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहितको टोली । तस्बिर: डिबी/नागरिक

जुम्लामा अज्ञात रोगले बोएर जातका बोका बाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका छन्। निकै मेहनतका साथ महंगोमा खरिद गरेर पालिएका बोका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित बन्न थालेका हुन्। एक हप्ताअघिदेखि बाख्रा मर्न थालेको चन्दननाथ नगरपालिका ३ का भक्तबहादुर कठायत बताउँछन्। भक्तबहादुरका ६ वटा बोका बाख्रा मरिसकेका छन्। ४ बाख्रा बिरामी छन्।  

२०६४ सालदेखि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै भक्तबहादुरको बाख्रा पालन गरेर मनग्गे आमदानी गर्ने लक्ष्य थियो। पछिल्लो समयमा देखिएको रोगका कारण उनी चिन्तित छन्। मरेका बाख्राबाट मात्र झण्डै साढे दुई लाख रुपैयाँको क्षति भइसकेको उनले बताए।  

खरिद गर्दा प्रति बाख्रा झण्डै ५० देखि ६० हजार रुपैयाँसम्म मूल्य हालिएको थियो। पाँच दिनमा ६ वटा बाख्रा मरिसके, अझै ४ बाख्रा बिरामी छन्। भक्तबहादुरले भने,‘रोगको पहिचान हुन नसकेकोले उपचारमा समेत अन्यौल छ। ’पशु चिकित्सकले बाख्रा खोरमै पुगेर दुई दुईवटा सुई लगाएर फर्किएका छन् तर रोग नियन्त्रण हुन सकेको छैन।  

पालिएका सबै बाख्रा मर्न थालेपछि रोजीरोटी समेत गुम्ने खतरा बढेको भन्दै सरोकारवालासंग रोग नियन्त्रणको पहल गरिदिन आग्रह गरेका छन्। पातलो दिशा गर्ने, काम्ने, र्‍याल निकाल्ने, झोक्र्याउने, जस्ता लक्षण देखिन्छन्।  लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन्। झक्तबहादुरले भने,‘व्यवसायिक हिसावले पालिएका बाख्रा  अज्ञात रोगका कारण मर्न थालेपछि किसानलाई निकै क्षति हुनेछ। भेटेनरी अस्पतालबाट गएको पशु चिकित्सकको टोलीले सुई लगाएर औषधि दिए पनि बाख्रा मर्ने क्रम रोकिएको छैन।’

बाख्राका बीमा गरिएको छैन। न कुनै निकायबाट राहत पाउने संभावना छ। नत बीमाङ्क रकम नै। किसान निकै मर्कामा छन्। रोग नियन्त्रणको विकल्प छैन। भक्तबहादुरले बोएर बाख्रा धमाधम मरिरहेको दुखेसो पोखेपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बाख्रापालन गरिएको स्थानमै पुगेका थिए। उनले बिरामी बाख्रा र मरेका बाख्राको प्रत्यक्ष जानकारी लिए।  

तत्काल भेटेनरी अस्पतालका प्रमुखलाई फोन गरेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिए। बाख्राको बीमा नगर्दा बीमाङ्क रकम पाउने संभावना छैन, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘मुचुल्का गराएर सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोस्। आवश्यक राहतका लागि पहल गरौँला। नियमित पशु प्राविधिकको सम्पर्कमा रहनुहोला।’

प्रमुख जिल्ला अधिकारी थापाले भविष्यमा हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै तत्काल बाँकी बाख्राको बीमा गर्न सुझाव दिए। विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी थापासंगै जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्ले, नेपाली सेनाका गणपति दिवाकर रायमाझी, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठसहितको टोली बाख्राको खोरमै पुगेको थियो।

यो रोग अहिले भक्तबहादुरको खोरमा मात्र देखिएको भएपनि अन्यत्र फैलनसक्ने खतरा भएकोले उच्च सतर्कता अपनाउनको लागि विपद् व्यवस्थापन समितिको टोलीले किसानलाई अपिल गरेको छ। सदरमुकाम नजिकै भएकोले नियमित रेखदेख र उपचारमा जोड दिन पशु प्राविधिकलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ।

प्रकाशित: १६ पुस २०७७ ०४:४० बिहीबार

अज्ञात रोग बोएर जातका बाख्रा