समाज

गोरखाको धार्चेमा हेलिकप्टर अवतरण गर्दा शुल्क लाग्ने

धार्चे गाउँपालिकाले गाउँपालिका भित्र अवतरण गर्ने हेलिकप्टरसँग अवतरण शुल्क असुल्ने भएको छ । आईतवार भएको नवौं हिउँदे गाउँसभाले गाउँपालिकाभित्र अवतरण गर्ने हेलिकप्टरसँग शुल्क असुल्ने निर्णय गरेको हो ।  

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले गाउँपालिका भित्र ल्याण्ड गर्ने हेलिकप्टरसँग दस्तुर लिने निर्णय गाउँसभाले गरेको बताए । ‘इमरजेन्सी’ उद्वार गर्नुपर्ने बाहेक सरसामान ओसारपसार, पर्यटक ल्याउने र लैजाने गर्दा हेलिकप्टरसँग अवतरण शुल्क लिइने उनले बताए ।  ‘हरेक पटक अवतरण गर्दा एकहजार रुपैयाँ तिर्नुपर्छ’ अध्यक्ष गुरुङले भने । गाउँपालिका भित्र केही ठाउँमा हेलिप्याड समेत रहेको र अन्य आवश्यक ठाउँमा पनि निर्माण हुने उनले बताए ।  

त्यस्तै गाउँपालिकाले मोवाईल फोन चलाउने तरिकाबारे पनि गाउँलेलाई सिकाउने निर्णय गरेको छ । मोवाइल भएपनि इन्टरनेटसम्म पहुँच पु¥याउन नजान्दा समस्या भएको भन्दै मोवाइल चलाउने तरिका सिकाउने गरि तालिम दिइने उनले बताए । प्रत्येक वडाका बासिन्दालाई मोवाईल फोन चलाउन सिकाउने तयारी गरेको हो । त्यसका लागि नजान्नेहरुलाई तालिम दिने निर्णय गरेको हो ।  

‘एन्ड्रोईड फोन चलाउन रहर भएका तर नजानेकाहरु हरेक वडाबाट एक–एक सयजना तालिममा सहभागी हुनेछन्’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘इन्टरनेटको पहुँच बढाउन पनि यो कार्यक्रम गर्न लागिएको हो ।’ गाउँपालिका भित्रका गोठ, दुर्गम गाउँहरुमा पुग्दा स्थानीयले मोवाईल चलाउन नजानेको, इन्टरनेटको पहुँच नभएको गुनासो गरेपछि गाउँसभाबाट तालिम दिने निर्णय गरिएको उनले बताए ।  

आईतवारको गाउँसभाले व्यवसायिक रुपमा खच्चड पाल्ने किसानलाई पनि करको दायरामा ल्याएको छ । १० वटा सम्म खच्चड पाल्ने किसानले एकहजार र १० भन्दाबढि पाल्नेले एकहजार पाँचसय रुपैयाँ गाउँपालिकालाई वार्षिक रुपमा तिर्नुपर्ने निर्णय भएको पनि उनले बताए । त्यस्तै सार्वजनिक जग्गा उपभोग गर्नेसँग पाँचसय देखि दुईहजार सम्म कर लिने निर्णय गाउँपालिकाले गरेको छ । म्युजिक भिडियो छायाङ्कन गरेबापत पाँचसय र फिल्म छायाङ्नको दुई हजार दस्तुर तिर्नुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।  

गैरसरकारी संस्था सुचिकृत दस्तुर, मेला महोत्सव स्टल शुल्क, न्याउली झरना प्रवेश शुल्क, वडा अध्यक्षहरुलाई प्रविधिमैत्री तालिम दिने निर्णय पनि हिउँदेसभाले गरेको छ । सार्वजनिक खरिद नियमावली, विपद् प्रतिकार्य योजना २०७७, धार्चे जलस्रोत कार्यविधि, गाउँपालिकाको सामाजिक समावेशिकरण नीति लगायतका ऐन नियम पनि गाउँसभाले पास गरेको उपाध्यक्ष फुलमाया गुरुङले बताईन ।  

गाउँसभाको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीलाई एकलाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो । उनले गाउँपालिकाको भबनका लागि जग्गा ब्यवस्थापन, कार्यालय चुस्त संचालन लगायतका काममा महत्वपूर्ण योगदान गरेको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित: १३ पुस २०७७ ०७:५४ सोमबार

गोरखा