समाज

बुटवलको कोरोना अस्पतालको आईसीयूबाटै बिरामी फरार

बुटवलको कोरोना अस्पतालबाट एक जना बिरामी भागेका छन्। अस्पतालको आईसीयूमा भर्ना भएका बिरामी आज बिहान साढे ५  बजेपछि अस्पतालबाट भागेका हुन्। बुटवल १३ का ५५ वर्षिय पुरुष बिहान स्वास्थ्यकर्मीहरुको अगाडिबाटै शौचालय जान्छु भनेर जंगलतीर भागेको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। कोरोना संक्रमण देखिएका ती पुरुषलाई स्वासप्रश्वासमा समस्या देखिएपछि  पुष ८ गते कोरोना अस्पताल लगिएको थियो।  ति बिरामीलाई आईसीयूमा राखेर उपचार गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। ‘शौचालय जान्छु भनेका बिरामी स्वास्थ्यकर्मीहरुकै अगाडिबाट अस्पताल नजिकैको जंगलतिर भाग्नु भएछ’ डा गौतमले घटनाको पुष्टि गर्दै भने।  

अस्पतालबाट भागेका ति पुरुषले  करिब दुई किलोमिटर दक्षिणतर्फ योगीकुटीको होटलमा पुगेर ति पुरुषले चिया/कफि  मागेर खाएपछि त्यहाँबाट पनि हिँडेको अस्पताल प्रशासनले जनाएको छ। ती पुरुषले हिजो (शनिबार) साँझनै आफुलाई अस्पतालमा कसैले ख्याल नगरेको, स्लाइन पनि नफेरीदिएको र आफु त्यहाँ निको नहुने बरु मर्न सक्ने भन्दै परिवारसँग छुटाएर घर लैजान गुनासो गरेको उनको परिवारले जनाएको छ।

परिवारका सदस्यले बिहानभरी फोन गर्दा नउठेपछि अस्पतालमा सम्पर्क गर्दा बल्ल ति पुरुष भागेको जानकारी गराएको बताएका छन्। अस्पतालले समयमै जानकारी नगराउनु  र आईसीयुमा राखिएका बिरामीलाई जंगलतिर पिसाव फेर्न पठाउनु नै गम्भिर लापरबाही भएको ती बिरामीका परिवारको भनाई छ।

ति पुरुषले अस्पताल आउनु अघि नै मानसिक स्वास्थ्य सम्बन्धी औषधी लिने गरेको र सो जानकारी अस्पतालका चिकित्सक नर्सलाइ गराएपनि उनीहरुले लापरबाही गर्दा आफ्ना श्रीमान् अस्पतालबाटै बेपत्ता भएको उनकी श्रीमतीको गुनासो छ। तर अस्पतालका डा गौतमले भने सुरक्षा व्यवस्थाको जिम्मा सुरक्षाकर्मीको भएको र परिवारले पनि स्पष्ट रुपमा मानसीक औषधी लिएको भन्ने जानकारी नगराएको बताएका छन्। ति पुरुषलाई भोलीसम्ममा डिष्चार्ज दिने तयारी गरीएको भएपनि एक दिन अघि नै उनी अस्पतालबाट भागेको डा गौतमले बताए।

 

प्रकाशित: १२ पुस २०७७ ०७:०५ आइतबार

कोरोना भाइरस कोरोना बिरामी