समाज

पाथीभरा क्षेत्रमा डढेलोः जंगलका हरिया रुखहरु नै बलेपछि आगो झन् नियन्त्रण बाहिर

पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलोमा त्यहाँ हरिया रुखहरु पनि बल्दै । तस्बिर : सौजन्य कमल बिष्ट

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ। यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। ‘आगो नियन्त्रण सम्भव छैन’उनले भने। उनका अनुसार एकातर्फबाट बढेको आगो मन्दितर्फ बढ्दै गएको छ भने अर्कोतर्फको आगोले मन्दिर जाने बाटो भेट्न लागेको छ।

बाटोको चौडाइ दूरी धेरै नभएकोले आगोले फावाखोलापछि फुरुम्बुतर्फको जंगल समेत भेट्ने जोखिम बढेको छ। हावाको बेग उकालो भागतर्फ केन्द्रित भएकोले आगो बढ्न अझ सघाउ पुगिरहेको उनले बताए। आगो पाथीभरा क्षेत्रको खानेपानी मुहानबाट उकालो निकै उकालो बढेर मन्दिर नजिक पुगेकोले मन्दिर क्षेत्र झनै जोखिममा परेको उनले बताए। जंगलमा रहेका हरिया रुखहरु समेत धमाधम बल्न थालेपछि आयो नियन्त्रण बाहिर गएको छ।  

पाथीभरा क्षेत्रमा पहिलेबाट नै पानीको अभाव छ। गुराँससहितका रुखहरु भएको मन्दिर क्षेत्रमा गुराँसका काँचा रुख समेत अचाक्लि बल्न थालेका छन्। ‘अब उपाय नै रहेन’डढेलो लागिरहेको क्षेत्रमै पत्रकार महासंघ ताप्लेजुङका सदस्य कमल बिष्टले भने। सुख्खा मौसम छ,भुईमा भएको बस्तु देखि रुख समेत बल्दै गएका छन्’मन्दिर क्षेत्र जोखिममा परेको अवस्था सुनाउँदै उनले भने। आगो नियन्त्रण गर्न हेलिकोप्टर बाहेक अर्को कुनै बिकल्प नभएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य राजा मादेन(राजेन)ले जानकारी दिए। त्यहाँ पानीको समेत अभाव रहेको छ।  

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागि क्षेत्रतर्फ प्रस्थान गरेका बताए। यहाँस्थित नेपाली सेनाका गुल्मपति सेनानी निरजबिक्रम थापा मगर आफैं डढेलो लागेको क्षेत्रतर्फ गएका छन्। ‘आगो नियन्त्रणमा लिने बैकल्पिक केहि उपाय नै हो’प्रमुख जिल्ला अधिकारी चापागाँइले भने।

प्रकाशित: ११ पुस २०७७ ०७:११ शनिबार

पाथीभरा क्षेत्रमा डढेलो नियन्त्रण बाहिर