समाज

चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान

जुलोजिकल पार्कभित्र क्यामेरा जडान गर्र्दै प्राविधिकहरु । तस्बिर नागरिक <div><br></div>

लेखनाथस्थित पचैभयामा निर्माणाधिन जुलोजिकल पार्कमा १५ वटा क्यामेरा जडान गरिएको छ । १३५ हेक्टर क्षेत्रफलको पार्कभित्र भएका वन्यजन्तुको अवस्था अध्ययन गर्न क्यामेरा जडान गरिएको हो । जडान गरिएको क्यामेरा मार्फत वनमा रहेका सबैजसो वन्यजन्तुको अध्ययन गरिनेछ । डिभिजन वन कार्यालयले पार्कभित्र वन्यजन्तु हिड्ने ठाँउ पहिचान गरेर क्यामेरा जडान गरेको हो ।  

‘पार्क अन्तर्गतको सामुदायिक वनभित्र जंगली जनावरको अवस्थाको बारेमा अध्ययन गर्न क्यामेरा जडान गरिएको हो,’ डिभिजन वन कार्याालय कास्कीका जिल्ला वन अधिकृत केदार बरालले भने, ‘१५ वटा क्यामेरा जडान गरिएको छ ।’ उनका अनुसार क्यामेरा भने शिरिष भण्डारीले सहयोग गरेका हुन् । भण्डारी आफैं पनि अनुसन्धानकर्मी भएको अधिकृत बरालको भनाई थियो । जडित क्यामेराबाट वनभित्र चितुवाको संख्या र अवस्थाको बारेमा अध्ययन गर्न सकिनेछ ।  

डिभिजन वन कार्यालय कास्कीको अध्ययन अनुसार पार्कको वनक्षेत्रमा ३ वटा चितुवा रहेको अनुमान छ  वनमा बँदेल र दुम्सी समेत भेटिने सम्भावना रहेको छ । पार्कलाई अहिले डिभिजन वन कार्यालयले आफ्नो मतहतमा राखेर काम गर्दै आएको छ । पार्कभित्र बनाइएको ठुला केजहरुमा केही जनावरलाई राखिएको छ । विभिन्न ठाँउमा घाईते भएका जनावरलाई एम्बुलेन्स मार्फत उद्दार गरेर उपचार गरी पार्कभित्र संरक्षण गरिएको उनले बताए ।  

पार्कलाई प्रदेश सरकार वन मन्त्रालय मार्फत डिभिजिन वन कार्यालयले गतवर्ष एककरोड रुपैयाँको बजेटबाट जनावर राख्न केज निर्माण गरिएको थियो । ‘योवर्ष पार्कभित्र संरचना बनाउन (केज मर्मत तथा लिङ्करोड, टिकट घर) डेढ करोड बजेट छ,’उनले भने, ‘टेण्डर प्रक्रियाको तयारीमा छौं । संरचना तयार भएपछि सर्वसाधारणको लागि खुला गरिनेछ ।’ पार्कमा रतुवा, निलगाई, गिद्धका प्रजाति, बाँदर, स्याल, अजिंगर लगायतका जनावर छन् । उनका अनुसार मृगको इनक्लोजर, वन्यजन्तुका लागी पानी ट्याङकी निर्माण, वांँदरको इनक्लोजर, विभिन्न इनक्लोजरसम्म पुग्ने गोरेटो बाटो लगायतका पुर्वाधार तयार गरिने छ । केही पुर्वाधार तयार भईसकेका छन् ।  

पोखराका अमरसिंह चोकस्थित युनाईटेड क्लबको पहलमा चिडियाखाना निर्माणाको अवधारणासँगै जुलोजिकल पार्क बनाईएको छ । छ वर्ष अघि शुरु गरिएको पार्कले अहिलेसम्म पूर्णता भने पाईसकेको छैन् । क्लबले विभिन्न समयमा आयोजना गरेको पोखरा महोत्सवबाट बचतको केही हिस्सा रकम पार्कमा खर्च गर्दै आएको छ ।

 ‘पार्क बनाउन क्लबले ५८ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ’ युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले भने, ‘क्लबकै अगुवाईमा शुरु गरिएको पार्क अभियानलाई पूर्णता दिन क्लव तत्पर छ ।’  

यद्यपी पछिल्लो समय पार्क विवादित हुँदा सबैजसो कामकाज ठप्प छ । कम्पनी दर्ता गरेर कम्पनि मार्फत सञ्चालन गर्ने योजना अघि बढाइएपछि स्थानीयले विरोध गर्दै आएका छन् । मुद्दा विचराधिन अवस्थामा छ । अदालती निर्णयपछि पूर्वाधार लगायतका काम थपिने डिभिजन वन कार्यालयले जनाएको छ । पोखरा–३०, ३१ र ३२ वडामा पर्ने पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक बनलाई लिएर पोखराको युनाईटेड क्लबले पार्क निर्माण शुरु गरेको हो । पार्क पूर्ण रुपमा सञ्चालनमा आए पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटकको बसाई लम्बिने आशा र विश्वास छ ।

प्रकाशित: १० पुस २०७७ ०७:४२ शुक्रबार

जुलोजिकल पार्क