समाज

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अर्को सातादेखि

कोभिड १९ को कारणले  १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ। यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागेको बताए।

‘लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा पुसको दोस्रो सातादेखि सुरु गर्ने तयारीमा जुटिसकेका छौं,’ उनले भने,‘यातायात व्यवस्था कार्यालयलाई पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्न अनुरोध गरिसकेका छौं।’

महानिर्देशक हमालले विभागले सम्भवत् शुक्रबार मुलुकभर रहेका १७ वटा यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेर आगामी सातादेखि सञ्चालन गर्न अनुरोध गर्ने दावी गरे। ‘कोभिड १९को जोखिमको बावजुत आवश्यक स्वास्थ्य सतर्कता अपनाए लाइसेन्स सेवा दिन खोजेका हौं,’ उनले भने,‘ कार्यालयले पनि आवश्यक तयारी गरिसकेका छन्।’ गत चैतदेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन नहुँदा करिव पाँच लाखभन्दा धेरै सेवाग्राही प्रभावित हुदैं आइराखेका छन्। संघीय सरकारले गत असोज १ गतेदेखि मुलुकभर लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा ल्याएको थियो। चैतदेखि लाइसेन्सको ट्रयाल नखुल्दा सेवाग्राही मर्कामा पर्दै आइरहेका छन्।  

यातायात व्यवस्था कार्यालय सवारीचालक  सुकेधाराका प्रमुख विष्णु भट्टराईले लाइसेन्स खोल्नको लागि विभाग तथा प्रदेश सरकारबाट अहिलेसम्म आधिकारिक  पत्र आइनसकेको बताए।‘अहिलेसम्म कुनै निकायबाट पत्र आएको छैन,’ उनले भने,‘सेवाग्राहीबाट खोल्नुपर्ने भनेर चर्को दबाब भने आइरहेको छ। सम्भवत् छिट्टै खोल्ने आशा राखेका छौं।’  यातायात कार्यालयले अहिले निश्चित कोटा तोकेरै सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन्। यातायात कार्यालयले दैनिक एक सय स्कुटर एक सय मोटरसाइकल र  चार पाङग्रे एक सय दैनिक गर्न सकिने कोटा तोकिने सक्ने अनुमान छ।

 

 

 

प्रकाशित: ९ पुस २०७७ १२:३७ बिहीबार

सवारी चालक