समाज

इतिहासको अभिलेखीकरण गर्न कन्जुस्याइँ

संकलित शब्द अर्थ्याउँदै रमानन्द आचार्य । तस्बिर: डिबी/नागरिक

जुम्ला चन्दननाथ नगरपालिका १ का रमानन्द आचार्य चन्दननाथ मावि खलंगाबजारका नेपाली विषयका शिक्षक हुन्। उनले २०६५ सालमा शिक्षक जागिरबाट अवकाश लिए। सानै उमेरदेखि खस भाषा संरक्षणमा चासो राख्दै आएका आचार्यले अवकाश लिएको भोलिपल्टदेखि नै आफ्नो समय खस शब्द संकलन तिर खर्चिन थाले। 'मैले शिक्षक हुँदै देखि शब्द संकलन गरिरहेको थिए।' आचार्यले भने,‘अहिले सबै समय शब्द संकलन र सम्पादनमा लगाईरहेको छु। घरायसी कामलाई गौण ठानेको छु। शब्द निर्माण र सम्पादनको कार्यलाई प्राथमिकताका साथ लिएको छु।’

७५ वर्षका आचार्य टन्टलापुर घामदेखि माइनसको कठ्यांग्रिदो जाडोमा पनि शब्द संकलनमै लागेका भेटिन्छन्। 'म नेपाली विषयको विद्यार्थी हुँ। केही समय शिक्षण पनि गरे।' आचार्यले थपे,‘नेपाली भाषाको जननी जुम्लाको ईतिहास मेटिन दिनुहुँदैन भन्ने हेतुले अघि बढेको छु। साथ नपाउँदा निकै दुखि छु। यो शब्दकोष समग्र कर्णालीको अमूल्य सम्पति बनोस र तत्कालिन कर्णालीको शान उजागार होस भन्ने चाहान्छु।’

आचार्यले अ देखि ह सम्मका शब्दका अर्थ लेखिसकेका छन्। आफ्नो हिसाबले शब्दकोष तयारीका लागि गर्नु पर्ने सबै काम सकाईसकेका छन्। आर्थिक जुट्न नसकेकोले एक दशकको मेहनतले प्रतिफल पाउन सकेको छैन। आचार्य भन्छन्,‘म भाषा जोगाउने अभियानमा छु। यहाँका सरोकारवाला विदेशी भाषाको वयान गर्छन्। थोरै खर्चले ईतिहासको अभिलेखीकरण गरौं भन्छु,अरूको चासो जादैंन। मैले एक दशकदेखि संकलन गरेर राखेका शब्द दराजको र्‍याकमा थन्किएका छन्। म चाहान्छु मैले संकलन गरेका शब्दको शब्दकोष म जीवित हुँदै प्रकाशन गर्न पाउँ। यही अन्तिम धोको छ।’

सहयोगी निकायाले प्रकाशकीय अधिकार लिन सक्ने भन्दै लेखकीय अधिकार आफूमा निहित हुनु पर्ने उनी बताउँछन्। उमेरका हिसाबले डाँडो काटिसकेका आचार्यको जोश मरेको छैन। खस शब्द र अर्थका विषयमा भाषाविद्संग परामर्श भईराखेको छ। विकास निर्माणका नाममा लाखौं लुट्छन्। तर एक उदाहरणीय काममा रकम खर्च गर्न मान्दैनन्,उनले दुःख पोखे।

एक दशकमा तीन वर्ष शब्द संकलनमा बित्यो। त्यसपछि निरन्तर रुपमा सम्पादनको कार्य चलिरहेको छ। शब्दको अर्थ लगाउने काम भइरहेको छ। पछिल्लो समयमा भाषा विज्ञसंग पनि शब्द अर्थका विषयमा छलफल भइरहेको आचार्य बताउँछन्। सुरुको अवस्थामा तत्कालिन जिल्ला विकास समिति जुम्लाले दुई लाख रुपैयाँ विनियोजन गरेर खस शब्द संकलनको काम अघि बढेको थियो। दुई वर्ष लगातार दुई दुई लाख रुपैयाँ दियो। तेस्रो वर्षमा एक लाख रुपैयाँ छुट्यायो। चौथो र पाँचौ वर्षमा ५०/५० हजार रुपैयाँ प्रदान गर्यो। त्यसपछि रकम दिइएन। पछिल्ला वर्षहरुमा पूर्ण रुपमा निःशुल्क काम भइरहेको छ। खस भाषाको शब्दकोष यहाँको अमूल्य सम्पतिका रुपमा रहनेछ। आचार्यले भने,‘तर यहाँका सरोकारवालाले त्यो बुझ्दैनन्। सबै बजेट विकास निर्माणमै हाल्छन्। यो पनि त भाषा संस्कृति संरक्षणको एक आधार हो। यो कसैले बुझ्दैनन्। एक दशकदेखि शब्द संकलनको काम बाहेक प्रकाशनको काम तिर अघि बढिको छैन।’

तत्कालिन स्थानीय विकास अधिकारी हरिनारायण बेलबासेले शब्दकोष प्रकाशनका लागि बजेट दिन नसकिने बताएपछि प्रकाशनको प्रक्रिया नै अवरुद्ध भएको आचार्य बताउँछन्। एक पटक सम्पादन भइसकेका शब्द टाइपिङका लागि एक जना ज्यालादारीमा कर्मचारी राखियो। उसको तलब जोहो गर्न नसकिने अवस्था देखिएपछि बन्द गरियो। शब्दको निर्माणको लागि चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एक एक लाख रुपैयाँ सहयोग गरेका छन्। कनकासुन्दरी र सिँजा गाउँपालिकाले सहयोग गर्ने बचन दिएका छन्।

कर्णाली प्रदेश सरकारको बजेट बक्तब्यको १३० को ख मा शब्दकोष प्रकाशनका लागि सहयोग गर्ने उल्लेख छ, आचार्यले थपे,‘त्यो बुदा कार्यन्वयन नहुँदासम्म भरोसा गर्नु छैन। यो शब्दकोषमा तत्कालिन कर्णाली अञ्चलका पाँच जिल्लासहित कर्णालीसंग जोडिएका अछाम, बाजुरा, दैलेख र जाजरकोट जिल्लामा बोलिने भाषा अनुसारका शब्द पनि समावेश गरिएको छ। आचार्य भन्छन्,‘शब्दकोष प्रकाशनका लागि सबै म्याटर तयारी अवस्थामा छ। तर दाता नभेटिदा प्रकाशन अन्यौलमा छ।

प्रकाशित: ८ पुस २०७७ ०८:०४ बुधबार

इतिहासको अभिलेखीकरण