समाज

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

धरानबाट प्रहरीले २ थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार करिब २ बजे धरान १५ सयपत्री मार्गबाट पक्राउ परेकाहरुलाई प्रहरीले आज मंगलबार मात्र सार्वजनिक गरेको हो।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा २७ वर्षिय देवीबहादुर लिम्बु र २६ वर्षिय रनसुर राई रहेका छन्। उनीहरु दुवै देवीबहादुरको घरबाट नै पक्राउ परेका हुन्। डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरीलाई लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचना आएको थियो। सोही आधारमा प्रहरी देवीबहादुरको घरमा पुगेर कोठा खानतलासी लिएको थियो। सोही क्रममा देवीबहादुर सुत्ने लो बेडको घर्रामा २ थान पेस्तोल फेला परेको डिएसपी बस्नेतले बताए।

प्रहरीले लिम्बुको कोठाबाट मेड इन यु.एस.ए. लेखिएको म्याग्जिनसहित अटोमेटिक एक थान पेस्तोल र अर्को म्योग्जिन नभएको पेस्तोल बरामद गरेको जनाएको छ। दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले हतियार कहाँबाट ल्याएको हो भनेर अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए। ‘उनीहरुको साथबाट पेस्तोल भेटिए पछि के प्रयोजनको लागि ल्याएको हो, कहिले र कहाँबाट ल्याएको भनेर अनुसन्धान गरिरहेका छौं,’डिएसपी बस्नेतले भने,‘तर अहिलेसम्म उनीहरुले त्यस बिषयमा बोलेका छैनन्।’

 

प्रकाशित: ७ पुस २०७७ १२:४० मंगलबार

पक्राउ