समाज

बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने

पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ। बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो।

गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बङ्गलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ देखि १ बजेसम्म र साँझ ५ बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पूजारी माधवश्याम शर्माले बताए।

उनले भने, कोभिड महामारी अघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णोद्वार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका हौँ। माहामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बङ्गलामुखी आउथे। बङ्गलामुखीलाई दशमहाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको शर्माले जानकारी गराए।

बङ्गलामुखी देवीको जन्मबार मङ्गलबार भए पनि उनलाई ग्रह वृहस्पतीका रुपमा मानिने हुँदा बिहीबार पुजिने गरिन्छ। मानिसको जीवनमा वृहस्पती प्रवल भयो भने कुनै पनि शङ्कल्प वा मनोकामना सिद्ध हुन्छ भन्ने कथन छ। ललितपुर शहर बस्नुभन्दा अघि बङ्गलामुखीलाई तान्त्रिक विधिले साधना गरेर स्थापना गरिएको भनाइ छ। बङ्गलामुखीलाई सतीदेवीको रुप मानिने हुँदा शनिबार पनि पुज्ने गरिन्छ। जो कोही मानिसले आफ्नो कूलदेवता नमान्दा र बङ्गलामुखीलाई ग्रह वृहस्पतीका रुपमा मान्दा कूलका साथै पितृदेवता पनि दुबै प्रसन्न हुने बुझाइ छ।

बङ्गलामुखी परिसरमा रहेको कुम्भेश्वर महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन्। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउछ भन्ने मान्यता रहँदा यहाँ हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ।रासस

प्रकाशित: ५ पुस २०७७ ०७:५२ आइतबार

बङ्गलामुखी मन्दिर पाटन दरबार क्षेत्र