समाज

मास्क नलगाए मन्दिर छिर्न नपाइने

कोरोना भाइरस संक्रमणको त्रासका कारण भक्तजनका लागि नौ महिनासम्म बन्द रहेका म्याग्दीका मठमन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भएको छ । बुधबारदेखि भक्तजनका लागि खुला गरिएको मन्दिरमा मास्क नलगाई प्रवेश गर्ने भक्तजनलाई पूजाआजा र दर्शनमा रोक लगाउने निर्णय मन्दिर व्यवस्थापनका पदाधिकारीले गरेका छन् ।  

मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दुरीलाई अनिवार्य पालना गर्नुपर्ने र कोरोनासँग मिल्ने लक्षण देखिएकालाई मन्दिरमा पूजाआजा गर्दा विषेध सावधानी अपनाउने सर्तमा दर्शनको ब्यवस्था मिलाइएको उनीहरुको भनाई छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि यहाँ मठ मन्दिर गत चैत ११ गतेदेखि बन्द थिए ।  

बन्द रहेका प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजापाठमा संलग्न हुन पाउने गरि  मन्दिरमा भक्तजन आउन थालेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए । ‘मास्क नलगाएका भक्तजनलाई प्रवेश गर्न दिएका छैनौ,’ उनले भने, ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी भक्तजनलाई निगरानी समेत गरेका छौ ।’ मन्दिरभित्र प्रवेश गर्ने र बाहिर निस्कने क्रममा साबुनपानीले हात धुने, भौतिक दुरी कायम गर्नुपर्ने उनले बताए ।

विषेशगरी भिडभाड हुने सोमबारको दिन भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाउने, भित्रिने र बाहिरिने ढोका समेत फरक हुने उनले बताए । सदरमुकाम बेनीको महारानीथान मन्दिरमा समेत भक्तजनलाई जनस्वास्थ्यको मापदण्डको पालना गरी पुजाआजाको ब्यवस्था मिलाइएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । जिल्लाको सबै स्थानीय तहमा भिडभाड हुने मठमन्दिर भक्तजनलाई खुल्ला गरिएपनि  विशेष पूजा, भजनलगायत क्रियाकलापमा समेत कडाई गरिएको छ । 

प्रकाशित: २ पुस २०७७ ०८:३६ बिहीबार

गलेश्वर मन्दिर