समाज

रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गराउने पक्राउ

बालिकाहरुलाई ललाइफकाइ रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागी जबरजस्ती गरेको आरोपमा भक्तपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडामा बाटो माथिको रिसोर्टमा हिडिरहेका उमेर नपुगेका १७ वर्षीया बालिकालाई काम दिन्छु भनी ललाइफकाइ गरेर लगी रिसोर्टमा आएका ग्राहकसँंग जबरजस्ती यौनजन्य काममा पठाउने, यौनजन्य क्रियाकलाप गर्न खोज्ने ग्राहकसहित चारजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

ग्राहकसँंग यौनजन्य कार्य गर्न दवाव दिने व्यक्ति, ग्राहक र अनुसन्धानमा पुगेका प्रहरीमाथि अभद्र व्यवहार गर्ने थप दुईसहित चार जनालाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाई बालिका काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसंग यौनजन्य कार्यका लागि बालिकाहरुलाई जबरजस्ती पठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको गिरीले बताए।  

पक्राउ पर्नेमा ग्राहकको रुपमा रिसोर्ट आई जबरजस्ती गर्न खोज्ने बझाङ थलारा गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २६ का निश्चल उपाध्याय, रिसोर्टमा वेटरको रुपमा कार्यरत रही ग्राहकहरुसंग यौनजन्य कार्यका लागि जबरजस्ती गर्ने तनहु म्याग्दे गाउँपालिका वडा नं. ७ रानीश्वारा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ७ स्थित बाटो माथिको रिसोर्टमा काम गर्ने वर्ष २० का प्रदिप कुँवर रहेका छन्। पक्राउ पर्ने अन्य दुई जनामा खटिएको प्रहरी टोलीलाई चेकजाँच तथा सोधपुछ गर्दा अवरोध पुर्‍याई अभद्र ब्यवहार गर्ने सोही रिसोर्टमा काम गर्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नं. २ डटुवा स्थायी घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित बाटोमाथिको रिसोर्टमा काम गर्ने वर्ष २१ का प्रदिप के.सी.र गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजार स्थायी घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ बाटोमाथिको सोही रिसोर्टमा काम गर्ने वर्ष २२ को अश्विन कुँवर रहेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक शशीधर शर्माको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उक्त प्रहरी टोलीले चेकजाँच गर्दा एक जना १७ वर्षीय बालिकाले मलाई ईच्छा बिपरित प्रलोभनका साथै डर, धाक धम्की दिई जबरजस्ती ग्राहकसंग पठाई निश्चल उपाध्यायले रिसोर्टको कोठामा ढोका बन्द गरी जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा उक्त कार्य गराउन जबरजस्ती रिसोर्टको कोठामा पठाउने सोही रिसोर्टमा वेटरमा काम गर्ने उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पीडित बालिकाले निजको फुपुको रोहबरमा दिएको जबरजस्ती करणीको जाहेरी दरखास्तको आधारमा भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान गर्न दिन बुत्रबारबाट पाँंच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ पुस २०७७ ०५:१३ बिहीबार