समाज

मिटर ब्याजले उठिबास, दुई लाख साँवाको १ करोड भन्दा बढी तिर्न दवाव

मिटर व्याजले उठिवास लाग्ने अवस्था आएको गुनासो गर्दै पीडितहरू। तस्बिर : नागरिक

विराटनगर–८ का महानन्द रायले २०६३ सालमा २ लाख रूपैयाँ ऋण लिएका थिए।  विराटनगर–८ स्थित घरजग्गा धितो राखेर ऋण लिएका उनले १२ लाख रुपैयाँ साहुलाई तिरिसकेका छन्।  

अझै साहुले १ करोड ३५ लाख रुपैयाँ बाँकी रहेको भन्दै ऋण तिर्न ताकेता गरिरहेको छ।  ‘यति धेरै रकम कहाँबाट ल्याउने’ रायले भने,‘रकम नतिरे घर जग्गा खाली गर्न साहुले बारम्बार  चेतावनी दिइरहेको छ। ’  उनको मात्रै हैन  धनपाल थान –१ का हरिलाल मण्डलको व्यथा पनि उस्तै छ।  हरिलालले २०६७ सालमा लिएको ५० हजार रुपैयाँ ऋण अझै तिर्न सकेका छैनन्।  उनले १० लाख रुपैयाँ साहुलाई तिरीसके पनि साहुले अझै ऋण बाँकी नै रहेको भन्दै तिर्न ताकेता गरिरहेको गुनासो गरेका छन् । ‘ ५० हजार रुपैयाँ ऋण जति धेरै रकम तिरे पनि कहिलै सकिएन’ हरिलालले भने।   जति रकम तिरेपनि सहुले तमसुक फिर्ता नगरेर ऋणको व्याज, स्याजको हिसाव जोड्दै अत्याधिक धेरै रकम पुर्याउने गरेको पीडितहरूले बताएका छन्।  विराटनगरका सञ्जय रौनियारसँग ऋण लिनेहरू अधिकाँशले ऋण चुक्ता गरे पनि चुक्क्ता नभएको भन्दै रौनियारले मुद्धा हालिदिने धम्कीसमेत दिने गरेको धनपालधानकै बेवी खातुनले बताइन्।  

खातुनकी सासुले  रौनियारसँग घर खर्चका लागि ३ लाख रुपैयाँ ऋण लिएकी थिइन्।  २०६९ सालमा लिएको ३ लाख रुपैयाँ ऋणको व्याज २२ लाख र साँवा ३ लाख तिरिसके पनि अझै ५ लाख बाँकी रहेको हिसाव देखाउने गरेको खातुनले बताइन्।  २२ लाख व्याज र ३ लाख रुपैयाँ सावाँ तिरेपछि जग्गा फिर्ता गरेपनि तमसुक फिर्ता नगरेको खातुनले बताइन्।  तमसुक फिर्ता गरिहाल्ने भने पनि आलटाल गर्दै अझै ५ लाख रुपैयाँ तिर्नुपर्ने हिसाव देखाइरहेको खातुनले बताइन्।  ‘ आफ्नै मान्छे भन्दै रौनियारले साधारण व्याजमा ऋण लैजानु भने पनि तिर्ने बेलामा मिटर व्यजका दरले असुली गरे ’ खातुनले भनिन्,‘त्यति मात्रै हैन सावाँ व्याज तिरिसके पछि पनि जालसाजी गरी अझै ५ लाख रुपैयाँ मागिरहेका छन्। ’ रौनियारसँग ऋण लिनेहरू साँवा व्याज तिर्दा तिर्दा हैरान भइसकेका छन्।  मिटर व्याजमा ऋण लिएकाहरू साहुले घरवार नै उठिवास लगाउने त्रासमा छन्।  ‘ जति तिरे पनि ऋण सकिंदैन ’ मोरङ रंगेलीका विनोद सिंहले भने‘ साहुले कहिले उठिवास लगाउने हो टुंगो छैन। ’  साहुले ऋणको चर्को व्याज लिएर हैरान पारेको भन्दै मोरङका विभिन्न स्थानका ५० जनाले रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको पीडितहरूले बताएका छन्।  यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले ठगी गरेको सूचनाका आधारमा रौनियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।  राईले भने‘ठगी गरेको सूचना आएपछि रौनियारलाई पक्राउ गरि अनुसन्धान थालिएको छ। ’ अनुसन्धान पछि थप कुरा खुल्ने राईले  बताए।  

 

प्रकाशित: ३० मंसिर २०७७ १३:४२ मंगलबार

मिटर ब्याज