समाज

सुत्केरीलाई भाले उपहार

सुत्करीलाई स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।      

गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्ष पनि उपहारको कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ । संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको छ । साथै गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरेको छ।      

गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत घर–घरमै पुगेर भाले उपहार दिने गरेको बताए।  

“कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावास्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ।”    

चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ। छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताए।      

 

 

प्रकाशित: २९ मंसिर २०७७ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App