समाज

जब चिनीले रुवाउँछ...

सार्लाहीबाट काठमाडौं आएका विकाउ मण्डल। तस्बिर : केशव थोकर, ग्राफिक्स : कमल सुवेदी

गत वर्ष यहीबेला उखु किसान काठमाडौं आएका थिए। उनीहरुको एउटै मात्र माग थियो, 'हाम्रो उखु किन्ने पैसा दिनुपर्यो।' मिलका मालिकले किसानको उखु पेलेर चिनी निकाले, चिनी बेचेर नाफा पनि निकाले। तर किसान भने उखु लगाउँदाको ऋणले पिल्सिइरहेका छन्। आफुले पाउनु पर्ने रकम नपाएपछि त्यो माग्न जिल्लाबाट राजधानी नै आउनु परेको छ त्यो पनि पटक पटक। मिल मालिकको कार्यालयमा पुगेर मात्र भएन सिंहदरवार नै धाउनु परिरहेको छ। मागेर नभएपछि आन्दोलनमा नै उत्रिनु परेको छ किसानलाई।

अघिल्लो वर्षको पुसमा उनीहरु करिब दुई हप्ता माइतीघर मण्डलामा बसे। सरकारसँग २०७६ पुस १८ गते सहमति पनि भयो। माघ ७ गतेसम्म भित्र बक्यौता भुक्तानी गरिसक्ने सहमति भयो। अब आफ्नो बक्यौता पाइने भयो भन्ने आशा लिएर किसान घर फर्किए। तर अँ हँ, समस्या उस्तै। माघ आयो, किसान पैसा माग्न पुगे। तर पाए आश्वासन मात्रै। यसरी नै उखु किसानका १ वर्ष बिते। यो बीचमा केही किसानले थोरै रकम पाए पनि अझै करिब ९० करोड रकम किसानले पाउन बाँकी रहेको बताउँछन् उखु किसान संघर्ष समितिका सचिव हरि श्याम राय।

गत वर्ष उपप्रधानमन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले भुक्तानीको आश्वासन दिँदै किसानसँग छलफल गरेका थिए। पछि आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसानसँग ५ बुँदेहमति भएको थियो। त्यो सहमति पनि १ वर्ष वितिसक्दा पनि उखुको मूल्य जस्तै उधारो नै छ।  

वर्ष दिन अघि आफ्नो बक्यौता रकम माग गर्दै यही माइतीघरमा धर्ना बसेका थिए सर्लाही सिसौटियाका विकाउ मण्डल। उनी फेरि त्यही माग र आशा लिएर शुक्रबार काठमाडौं आइपुगे। तर अहिलेको परिस्थिति गत वर्षको जस्तो छैन, सहरमा कोरोनाको त्रास छ। तर पनि उनी र उनी जस्तै करिव १ सय जना किसान आफ्नो पैसा पाउनु पर्ने माग राख्दै काठमाडौं आइपुगेका छन्। उमेरले ६ दशक नाघेका विकाउको पसिनाको मूल्य छोड्न नसकेको बताउँछन्। 'मैले पाउनु पर्ने ५० हजार हो। तर आफ्नो पसिनाको मूल्य कसले छोड्न सक्छ र ?', उनी भन्छन्, 'उखु खेती गर्दा लिएको ऋण पनि तिर्न सकिएको छै।'

उनी पैसा आउने आशामा बसिरहे तर आउने छाँट नदेखेपछि अन्य किसानहरु सँगै काठमाडौं आइपुगे। उनलाई यो पटक पैसा नलिइ घर जान मन छैन तर भन्छन्, 'सरकारको भर छैन।'

यसैले त किसानले कालो ब्यानरमा लेखेका छन् :

सानो छ खेत सानो छ बारी सानै छ जहान

सानो छ देश, ठूलो छ सरकार, अटेन किसान

विकाउले दुई विघामा उखु खेती गरेका थिए तर यो वर्ष उनले उखु लगाएनन्। 'पैसा आउने बालीको रुपमा उखु थियो तर अहिले लगेर पैसा दिँदैनन्। केका लागि खेती गर्नु भनेर छोडिदए', उनी भन्छन्। उनले अन्नपूर्ण सुगर मिलबाट पैसा लिन बाँकी रहेको बताए। अहिले मिल बन्द गरेर मालिक काठमाडौंमा बसेको उनी बताउँछन्।  

सर्लाहीकै राजेन्द्र मण्डल उमेरले ६ दशक भन्दा बढीका भए। उनी पनि विकाउ जस्तै आफ्नो उखुको पैसा माग्दै काठमाडौंमा आइपुगेका छन्। 'यो चिसोमा काठमाडौं आएका छौं। गौशालाको धर्मशालामा बसेका छौं', उनी भन्छन्, 'उखुको तीन लाख मुल्य लिन बाँकी छ। पैसा नहुँदा केटाकेटीले पढ्नसमेत पाएका छैनन्।' उनले पनि यो वर्ष उखु लगाएका छैनन। तर उखु लगाउँदा लाएको ऋणको ब्याजले थलिँदै गएका छन्। त्यै सावा ब्याज तिर्ने सकिन्छ कि भनेर यो महामारीमासमेत आफु काठमाडै आएको बताउँछन्। उनी मैथलीमा भन्छन्, 'डरायब की भुखे मरो।' अर्थात डाराउने की भोकै मर्ने। अन्नपूर्ण सुगर मिलले विस्तारै पैसा दिन्छु भने पनि श्रीराम सुगर मिलले नदिएको उनी बताउँछन्। २०७० सालदेखिको बक्यौता रकम लिन रहेको किसान बताउँछन्।  

अहिले काठमाडौं आएका किसानहरुले गत वर्ष पुसमा भएको सहमति कार्यान्वयन हुनु पर्ने बताएका छन्। किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भुक्तानी पाउनेबारे ५ बुँदे सहमति भएको थियो। तर एक वर्ष वितिसक्दा पनि किसानको पीडा उस्तै छ। यस यघि पनि किसानले पैसा पाउने भनेर पटक पटक सहमति भएका थिए। त्यसैले त सरकारसँग उनीहरुको आश टुट्दै गएको छ।  

गत वर्ष उपप्रधानमन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले भुक्तानीको आश्वासन दिँदै किसानसँग छलफल गरेका थिए। पछि आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसानसँग ५ बुँदेहमति भएको थियो। त्यो सहमति पनि १ वर्ष वितिसक्दा पनि उखुको मूल्य जस्तै उधारो नै छ।  

 

यो पनि पढ्नुहोस्

गुलियो उखुको तीतो कथा

 

 

प्रकाशित: २८ मंसिर २०७७ १०:४३ आइतबार

उखु किसान