समाज

उच्च भेगमा भेटियो पाटेबाघ

इलामको सन्दकपुर गाउँपालिकास्थित नेपालमा चौडापात जंगलमा हालसम्मकै अग्लो उचाइमा स्वचालित क्यामेराद्वारा खिचिएको जंगली पाटेबाघ।तस्बिर सौजन्य : रेडपान्डा नेटवर्क

नेपालमा हालसम्मकै उच्च भेगमा जंगली पाटेबाघ फेला परेको छ। इलामको सन्दकपुर गाउँपालिकास्थित चौडापात जंगलमा स्वचालित क्यामेरामार्फत ३ हजार १ सय ६५ मिटरको उचाइमा जंगली पाटेबाघको तस्बिर खिचिएपछि यसको पुष्टि भएको हो। यसरी अग्लो उचाइमा जंगली पाटेबाघ देखिनु महत्वपूर्ण सफलता रहेको वन तथा भू–संरक्षण विभागले बताएको छ।

रेड पान्डाको गतिविधि अनुगमन गर्न राखिएको क्यामेरा ट्र्यापमा जंगली पाटेबाघको तस्बिर खिचिएको हो। कलर गरिएका १० रेडपान्डाको अनुगमन गर्न सो क्षेत्रमा २० वटा क्यामेरा राखिएका छन्। पूर्वी क्षेत्रमा जंगली पाटेबाघ पाइएको पहिलो प्रमाण फोटोग्राफी रहेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। योसँगै कञ्चनजंघा भू–परिधि क्षेत्रमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ। यसअघि चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो प्रजाति रेकर्ड भइसकेका छन्।  

जंगली पाटेबाघको तस्बिर स्वचालित क्यामेराले नोभेम्बर १३ र २१ मा खिचिएको विज्ञप्तिमा उल्लेख छ। केही समयअघि सुदूरपश्चिम क्षेत्रको डडेल्धुरामा २ हजार ५ सय मिटर उचाइमा यस्तो बाघ पाइएको थियो। अहिलेसम्मको प्रमाणका आधारमा भारतमा ३ हजार ६ सय ३० र भुटानमा ४ हजार ४ सय उचाइमा यो बाघ पाइएको छ। वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘बाघ स्थलीय पारिस्थितिक प्रणालीको सबैभन्दा माथिल्लो तहमा अवस्थित प्राणी हो। प्राकृतिक बासस्थानमा यसको उपस्थितिले त्यहाँका सबै प्राणीको अवस्था राम्रो भएको संकेत गर्छ। बाघको यस उपस्थितिले उच्च पहाडी क्षेत्रका वनमा जंगली बिरालाको बासस्थान हुन सक्ने महत्वलाई दर्साउँछ।’

रेडपान्डा नेटकर्वले पाँचथर, इलाम र ताप्लेजुलाई पिआइटी करिडोर मानेर रेडपान्डा संरक्षणसम्बन्धी काम गरिरहेको छ। यही रेडपान्डा पाइने स्थानमा जंगली पाटेबाघ फेला परेको हो। रेडपान्डाको गतिविधि अध्ययन गर्न इलाम र पाँचथरमा १० वटा रेडपान्डामा जिपिए कलरिङ गरिएको छ। यहाँ राखिएका क्यामेरा ट्र्यापमा नेपालकै अग्लो स्थानमा बाटेबाघ खिचिएको हो। रेडपान्डाको उक्त अध्ययन नेदरल्यान्डस्थित रोटरड्याम चिडियाखानाको आर्थिक सहयोगमा सञ्चालित छ।  

पाटेबाघलाई अन्तर्राष्ट्रिय स्तरमा संकटापन्न र सरकारले संरक्षित स्तनधारी जनावारका रूपमा सूचीकृत गरेको छ। रेडपान्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरी शेर्पाका अनुसार इलाम जिल्लामा बाघको पहिलो रेकर्डले पूर्वी नेपालमा रहेको पिआइटी जैविक मार्गको महत्व र त्यसको संरक्षण आवश्यकतालाई इंगित गरेको छ। यो जैविक मार्ग नेपालको कञ्चनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। नेपालमा बाघको उपस्थिति १८ जिल्ला र नौ जैविक मार्गमा पाइएको छ। नेपाल सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्ने प्रयासमा छ। नेपालमा सन् २००९ मा गरिएको गणनामा १ सय २१ र २०१८ मा २ सय ३५ बाघको संख्या देखाएको थियो।

प्रकाशित: २८ मंसिर २०७७ ०१:५० आइतबार