समाज

जुम्ला सिडिओका ६ महिना उपलब्धिपूर्ण

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा आइपुगेको ६ महिना बित्यो। उनी जुम्लामा स्थायी बासिन्दा भएकोले निकै ठूलो आशा थियो। शान्ति सुरक्षा, अमनचयन, सुशासन र चुस्त प्रशासनिक सेवा प्रवाह हुनेमा जुम्लावासी निकै आशावादी थिए। पहिलो पटक स्थानीय सिडिओ आउँदा निकै खुसी थिए। साथमा केही आशंका पनि।  

तर यहाँको सिडिओले आफ्नो ६ महिने कार्यकाल निकै उपलब्धिपूर्ण नै बताए। उनले प्रशासनिक सेवालाई छिटो छरितो र सहज बनाउन निकै ठूलो कसरत गरेका छन्। कोभिडको संकटपूर्ण घडिमा जुम्ला आइपुगेका सिडिओ थापाले कोभिडविरुद्धको कार्यक्रमलाई तीव्र बनाए। क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन निर्माणदेखि संक्रमितको उपचार र संक्रमण फैलन नदिनको लागि सचेतनाका क्रियाकलाप एकैसाथ अघि बढाए। २०७७ जेठ १९ गतेदेखि हाजिर भएको सिडिओ थापाले निकै मेहनत गरेर शान्ति सुरक्षा भन्दा पनि कोभिड व्यवस्थापनमा ध्यान केन्द्रित गरे। जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गराउने देखि प्रत्यक्ष फिल्ड खटिएर सजगता अपनाउनको लागि आग्रह गरे।

सिडिओ थापाले भने,‘जुम्लामा कोरोना संक्रिमत बढेपनि मृत्युको खबर सुन्नु परेन। यही नै सुखद पक्ष हो। कोरोनाबाट मृत्युको खबर सुन्न नपरोस र सबै संक्रमित नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा होस भन्ने ध्यायले काम गरियो। यो बीचमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय प्रशासनको भूमिका र सक्रियता निकै राम्रो रह्यो। स्थानीयको जागरुकता पनि उत्तिकै।’

लोकप्रिय हुनुभन्दा पनि संकट व्यवस्थापन र रोगथाममा बढी केन्द्रीय भएको सिडिओ थापाले बताए। कोरोना संक्रमण फैलन नदिनको लागि थालिएको प्रयास संगसंगै प्रशासनिक सेवालाई सदृढ बनाउन पनि ६ महिना निकै महत्वपूर्ण रहे। अहिले प्रशासन कार्यालयमा डिजिटल सिटिजन चार्ट राखिएको छ। सेवा लिनेदिने प्रक्रिया, समय, शुल्क र सेवाको किसिमका बारेमा जस्तोसुकै सेवाग्रहीले जानकारी लिन सक्ने भएका छन्। खस भाषामा रेकर्ड गरिएको वडापत्र व्याक राउण्डमा बजिरहेको हुन्छ। साथै डिजिटल चार्ट मार्फत साक्षर सेवाग्राहीले सबै जानकारी हासिल गरिरहेका हुन्छन्।  

वेभसाइटबाट वेभसाइट डिस्प्ले गर्न सकिने अवस्था छ। डिजिटल टोकन मेसिनका बारेमा अध्ययन भइरहेको छ। अहिले क्यारेमबोर्डका गोटीका टोकन बनाएर सेवा दिने कार्य भइरहेको छ। जसले गर्दा सेवा दिनमा कुनै भेदभाव हुँदैन। सेवाग्राहीले कर्मचारीले गर्ने भाषा शैलीका विषयमा समेत पटक पटक निर्देशन गरिन्छ। जसका लागि सातामा दुई पटक स्टाफ बैठक बस्छ।  

गुनासो सुन्ने अधिकारी नियुक्त गरिएको छ। उजुरी पेटिकालाई प्रभावकारी बनाइएको छ। गुनासो सर्भेक्षण फारम बनाएर सेवाग्राहीको गुनासोको सर्भेक्षण भइरहेको छ। प्रत्येक ६/६ महिनामा सेवाग्राहीको गुनासोको विश्लेषण हुन्छ। सर्भेक्षणका आधारमा आगामी योजना तर्जुमा हुन्छ। प्रत्येक तीन तीन महिनाका स्थानीय प्रशासनले आफ्नै सेवाप्रवाह र कामका बारेमा वुलेटिन प्रकाशन गरिरहेको हुन्छ। सिडिओ थापाले भने,‘सेवाग्राहीको समस्यासंग केन्द्रित रहेर योजना बनाउँछौं। सेवासुविधा चुस्तदुरुस्त, सहजताका लागि स्थानीय प्रशासन निकै चिन्तित बनेको छ।’

यो अवधिमा हरेक विषयगत कार्यालय, प्रदेश, संघ र स्थानीय तह माताहतका कार्यालयको बजेट तथा आगामी कार्यक्रमका बारेमा छलफल समेत भयो। गत वर्षको प्रगति समिक्षा समेत गरिएको थियो। यो कार्यले सरकारी कार्यालयका सेवा, सुविधा र कार्यक्रमका बारेमा सबैले जान्ने र सुन्ने अवसर पाए। सबै सरकारी संयन्त्रलाई जवाफदेहीता प्रति सहज गराएको स्थानीय प्रशासनको दाबी छ। यो ६ महिना भित्र ५२ पृष्ठको जिल्ला प्रशासन सुधार योजना बनेको छ।  

हरेक मोवाइलनमा गुनासो सुन्ने अधिकारी तोक्न निर्देशन गरिएको छ। गुनासो सुन्ने अधिकारीले प्रयोग गर्ने सिम छुट्टै बनाएर मोवाइलको व्यवस्थापन गरिएको छ। गुनासो सुन्ने अधिकारी फेरिए पनि पुरानै नम्बरमा फोन गरेर सेवाग्राहीले गुनासो राख्न पाउनेछन्। हरेक कार्यालय बीचका समस्या जोडिन थालेका छन्। समाधानका उपायका विषयमा समेत गम्भीर रुपमा छलफल हुन थालेको छ।  

स्थानीय स्तरमा समाधान गर्ने समस्या र माथिल्लो निकायले समाधान गर्ने समस्या पहिचान हुन थालेको छ। जिल्ला मालपोत कार्यालयमा देखिएको समस्या समाधानका लागि पहल थालिएको छ। सेवालाई गुणस्तर र छिटो छरितो बनाउन सरोकारवालासंग छलफल भइरहेको छ। जुम्लामा देखिएको विद्युत समस्या समाधानका लागि सर्वपक्षीय छलफल गर्नेदेखि विद्युत सेवा नियमित बनाउन नेपाल विद्युत प्राधिकरणलाई बारम्बार ताकेता लगाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।  

यहाँ आवश्यक पर्ने भेण्टिलेटर, कोभिड संकट व्यवस्थापन र शववहानका बारेमा केन्द्रमा पहल भइहेको छ। जिल्ला ठूलो छ। सेवाग्राही बढिरहेका छन्। जनशक्ति अभाव छ। सिर्जनात्मक काम गर्ने समय त छैन। तर दैनिक तालिका पुरा गरेर भएपनि केही समय सिर्जनात्मक कार्यमा लगाउने गरेको प्रमुख जिल्ला अधिकारी थापा बताउँछन्। यो बीचमा केही अनुसन्धानका कार्य अघि बढेका छन्। केही काम गर्न अझै बाँकी छन्। सिडिओ थापा भन्छन्,‘सुशासन प्रर्वद्धनमा जुटेका छौँ। यो अवस्थामा सबैको साथ अनिवार्य छ।’

सिडिओ थापाले आगामी दिनमा यहाँका मुख्य सवाल पहिचान गर्न, समस्या समाधान गर्न र रचनात्मक कार्य गर्नको लागि साथ दिन जुम्लावासीलाई आग्रह गरेका छन्। सेवा गरिरहेको नाममा रिस साँध्नेदेखि शान्ति सुरक्षा अमनचयनमा खलल पुर्‍याउने कार्य नगर्न पनि सुझाव दिइएका छन्।

प्रकाशित: २४ मंसिर २०७७ ०५:५८ बुधबार

जुम्लाका प्रमुख जिल्ला अधिकारी