समाज

सगरमाथाको उचाइ थोरै बढ्यो

नेपालले आफै गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरभन्दा घटेको पाइएन। बरु केही बढेको भूमि व्यवस्था मन्त्रालय उच्च स्रोतले जनाएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार ८ हजार ८ सय ४८ बाट बढीमा एक मिटरसम्म बढेको हुन सक्ने सम्भावना छ।

तर यसको औपचारिक घोषणा आज मंगलबार हुने छ। यसबारेमा भूमि व्यवस्था र नापी विभागका कर्मचारीहरूले औपचारिक रूपमा बोल्न चाहन्नन्। स्रोतले भन्यो,‘बढीमा एक मिटरसम्म बढेको सम्भावना छ।’

मंगलबार विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गर्ने भएका छन्। २०७२ सालको भूकम्पको कारण सगरमाथाको उचाइ केही बढेको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्। सगरमाथाको उचाइको रिपोर्ट नापी विभाग तथा भूमि व्यवस्था मन्त्रालयले अत्यन्त गोप्य राखेको छ।

मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताब गरेको छ। यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयको भनाइ छ। स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाई सार्वजनिक गर्ने भएका छन्।

दुबै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो।

सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए। २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट सगमारथा मापनमा जाने टोलीलाई विदा गरेका थिए। ४ जनाको टोली मध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोेसेसिङ गरेका थिए। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका एक कर्मचारीले बताए।

सगरमाथाको मापन सुरु गर्नु अघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठि गरी विज्ञहरूको सल्लाह सुझाव मागेको थियो। उक्त गोष्ठिमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्याण्ड, बेलायत लगायतका देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो। 

हाल चीनले पनि मापन पुरा गरेको छ। हाल सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिदै आएको छ। यस मापनलाई अन्तर्राष्ट्रिय जगतले मान्यता दिएको छ। यो मापन सन् १९५७ मा जिएल गुलाटी कम्पनीले गरेको थियो।

प्रकाशित: २३ मंसिर २०७७ ०४:३८ मंगलबार

सगरमाथाको उचाइ विश्वको सबैभन्दा अग्लो चुचुरो