समाज

चार महिनामा पाँच सय ४६ दुर्घटना, एक सय ४६ को मृत्यु

गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–८ का भरत शर्माले मृत्यु भयो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । बिहीबार बर्दियाको मधुवनमा पनि त्यस्तै दुर्घटना भयो । नगरपालिका–४ भुरीगाँउ जाँदै गरेको कारलाई टिप्परले ठक्कर दिँदा दुईजनाको घटना स्थलमै मृत्यु भयो । उक्त घटनामा तीनजना गम्भीर घाइते भए । सोही दिन रूपन्देहीको सखुवानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो ।  

गत शनिबार गुल्मीको इश्मा हुलमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै निधन भएको थियो । दुर्घटनामा घाइते दुईजना घाइते भए । यी पछिल्ला केही दिनमा भएका दुर्घटना हुन् । लुम्बिनी प्रदेशमा पछिल्लो एक सातामा मात्रै सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । लुम्बिनीमा सुरक्षा निकाय, प्रदेश सरकार र विभिन्न संघ संस्थाले दुर्घटना न्युनिकरणका लागि अभियान सञ्चालन गर्दै आएपनि दुर्घटनामा भने कमी आएको छैन ।  

कोरोना भाइरसका कारण लामो समय लकडाउन हुँदा पनि दुर्घटनाको दर गत वर्षकै अनुपातमा बढेको छ । दुर्घटनाले समाजमा मानविय, सामाजिक तथा आर्थिक रूपमा ठूलो क्षति पुर्‍याएको छ । दुर्घटनाको बढ्दो तथ्यांकले अहिलेको सडक सुरक्षा कार्ययोजना र अभियानको प्रभावकारीता माथिनै प्रश्न उब्जाएको छ ।  

पछिल्लो चार महिनामा प्रदेशका १२ जिल्लामा पाँच सय ४६ वटा सवारी साधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी एक सय ४६ जनाले ज्यान गुमाए, भने पाँच सय ८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई सय ५२ जना गम्भीर अवस्थाका छन् । गत वर्षको यहीँ अवधिमा चार सय ६८ वटा सवारी साधन दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

सबैभन्दा बढी दुर्घटना प्रदेशको अस्थायी राजधानी समेत रहेको रुपन्देहीमा भएका छन् । त्यसपछि दाङ, पश्चिम नवलपरासी र बाँकेमा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । रुकुम पूर्वमा सबैभन्दा कम दुर्घटना भएको बताइएको छ । यो वर्ष सबैभन्दा बढी दुई सय ९७ वटा मोटरसाइकल, ७३ वटा जिप÷भ्यान, ४१ वटा ट्रक/ट्यांकर, ३२ ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

अधिकांश दुर्घटना तीव्रगतिकै कारण हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताए । दुर्घटना न्युनिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको उनले बताए । डिएसपी पाण्डेकाअनुसार दुर्घटना नियन्त्रणका लागि बढी दुर्घटना हुने क्षेत्रमा गति नियन्त्रणका लागि लेजरगन मार्फत सवारी साधन चेकजाँच गरीएको, टिप्परका लागि टाइमकार्ड लागु गर्ने, लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य, बाटोमै चालकको स्वास्थ्य परीक्षण, छड्के जाँच, मापासे चेकिंगजस्ता कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित: २३ मंसिर २०७७ ०१:५१ मंगलबार

दुर्घटना लुम्बिनी प्रदेश