सप्तरीको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ। कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ। निर्मम कुटाइबाट उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
छिमेकी रहेकी साह थरकी एक महिलाले सुमिन्द्राले ‘बोक्सी’ लगाएकाले आफ्नो उन्नति नभएको आरोप लगाउँदै आएकी थिइन्। उक्त आरोप सहन नसकेर आफूले ‘बोक्सी’ लगाएको प्रमाण माग्दा ती महिलाले आफन्त बोलाएर कुटपिट गरेको सुमिन्द्राले बताइन्। कपाल लुछेर भुइँमा लडाएपछि आफूमाथि लात्तीमुक्का प्रहार भएको सुमिन्द्राले बताइन्। कुटपिटमा संलग्नको यकिन बयान गर्न नसके पनि सबै परिचित नै रहेको उनले जानकारी दिइन्। सुमिन्द्राले कुटपिट गर्नेहरूको हुलियासमेत बताइसकेको प्रहरीले जनाएको छ।
कात्तिकको दोस्रो साता सिरहाको कर्जन्हा नगरपालिका–३ की ७५ वर्षीया वृद्धा सुदामादेवी साह आफ्नै छोराबाट कुटिइन्। ती वृद्धा छोराबाट कुटिइरहँदा टोलछिमेकका कोही चुइँक्क बोलेनन्। दुई छोराबाट छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन्। उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा भएको घाउ लामो समयदेखि निको भएको थिएन। रामऔतारले बुहारीलाई बोक्सी लगाई घाउ निको हुन नदिएको आरोप आफ्नै आमामाथि लगाउँदै आएका थिए। छोराले नै कुटपिट गरी घाँटी बटारिदिएपछि उपचारकै क्रममा सुदामादेवीको मृत्यु भएको थियो। बोक्सीको नजर झर्छ भन्दै रामऔतारले आमालाई दिसा खुवाउने प्रयाससमेत गरेका थिए। तर घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले त्यसो गर्न भने नभ्याएको छिमेकीले बताए।
वडाध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेपछि घाइते वृद्धालाई उद्धार गरी उपचारका लागि जनकपुर पुर्याइएको थियो। जनकपुरका चिकित्सकले सुदामाको घाँटीको हाड मोडिएकाले सुधार नहुने भन्दै घर पठाइदिए। सास लिन गाह्रो भएपछि जिल्ला अस्पताल सिरहा पुर्याएपछि उनको मृत्यु भएको थियो। रामऔतारलाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा मुद्दा चलाइएको सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पन्जियारले बताए। ‘आरोपितले आरोप स्विकारिसकेका छन्, अब कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने।
असोज ३ गते मध्यराति सिरहाको नवराजपुर गाउँपालिका–५ कुसन्डीका धर्मनाथ यादवकी छोरी बिरामी परिन्। निको नभएपछि धर्मनाथ परिवारले भारतीय गाउँ तोरियाहीबाट झाँक्री बोलाए। झाँक्रीले स्थानीय महिला मूर्तिदेवी यादवले बोक्सी लगाइदिएको ठहर गरे। धर्मनाथ परिवारले उनीमाथि पञ्चायत राखे। मूर्तिदेवीका पति रामनारायण यादवलाई गाउँका दुईजना आएर जबर्जस्ती पञ्चायतमा लगे। उनलाई ‘मूर्तिदेवी बोक्सी हो’ भन्न दबाब दिइयो। उनले मानेनन्। मूर्तिदेवीलाई घरबाट कुटपिट गर्दै घिसारेर पञ्चायतमा ल्याइयो। बाटोभरि गरिएको कुटपिटबाट अर्धचेतजस्तै भएकी उनलाई बोतलमा घोलेर तयार पारिएको मलमूत्र खुवाइयो।
लामो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएर घर फर्केकी मूर्तिदेवी अझै मान्छे देखेपछि तर्सिन्छिन्। उनी केही बोल्दिनन्, टोलाइरहन्छिन्।
गत माघ १७ गते सप्तरीको राजगढ गाउँपालिका–४ की ३५ वर्षीया ललितादेवी रामलाई स्थानीयले बोक्सी आरोपमा कुटपिट गरे। तीन दिनपछि माघ २० गते कुटपिटमा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएर ललिताले न्यायका लागि गुहार मागिन्। उजुरी दिएको १४ दिनपछि फागुन ४ गते दर्ता बल्ल उजुरी दर्ता भयो। प्रहरीले अझै आरोपित पक्राउ नगरेको पीडितको गुनासो छ।
गत फागुन १६ गते सिराहाको भगवानपुर गाउँपालिका–२ की ७५ वर्षीया जलेश्वरीदेवी यादवमाथि बोक्सीको आरोपमा कुटपिट भयो। उनीमाथि मलमूत्र खुवाउने प्रयाससमेत भयो। जलेश्वरीले बोक्सी लगाएर आफ्नो घरका मानिस र गाईवस्तु बिरामी भएको भन्दै स्थानीय दुनियालालसहितले कुटपिट र दुव्र्यवहार गरेको पीडितको आरोप छ। पीडितले कुटपिटमा संलग्नलाई प्रतिवादी बनाएर इलाका प्रहरी कार्यालयमा फागुन २३ गते हुुलाकमार्फत उजुरी दिइन्। प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडित हुलाकमार्फत उजुरी दिन बाध्य भएकी थिइन्। घटनाका आरोपित अहिलेसम्म पक्राउ परेका छैनन्।
गत माघ २ गते सिराहको सखुवानन्कारकट्टी गाउँपालिका–५ की ६० वर्षीया चन्द्रकला देवीले बोक्सीको आरोपमा छिमेकीबाटै कुटाइ खाइन्। गाउँकै ५० वर्षीय राजेन्द्रप्रसाद यादवसहितले बोक्सी भन्दै कुटपिट गरेको उनको आरोप छ। चन्द्रकलाले घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिइन्। तर आरोपित अझै पक्राउ परेका छैनन्।
व्यवस्था परिवर्तनसँगै यतिखेर बहुमतको निर्वाचित सरकार छ। स्थानीय सरकारअन्तर्गत न्यायिक समिति छ। बोक्सीको आरोप कसुर र सजाय ऐन, २०७२ ले कारबाहीका लागि कानुनी बाटो खोलिदिएको छ। तर पनि यस्ता घटनाको शृंखला रोकिएको छैन। पछिल्लो समयमा बोक्सीका घटना पहिलाको भन्दा बढेको भन्ने होइन। हिजो पनि महिला हिंसा र महिला अधिकार हननका घटना हुन्थे तर पछिल्लो समयमा अधिकारकर्मीको प्रयास, सञ्चारमाध्यमको पहुँचले पीडित पक्षमा घटना उजागर गर्न आत्मविश्वास बढेको बताइन्छ।
मूर्तिदेवीको घटनामा नजिकै रहेको सरकारको भूमिका देखिएन। घटना रोक्नदेखि पीडितप्रति सहानुभूति देखाउन स्थानीय सरकार चुकेको देखियो। हाम्रा लागि सरकार नजिक भएर पनि टाढा रहेको भन्दै पीडितका छोरा गणेश यादवले दुखेसो पोखे। नवराजपुर पालिकाका अध्यक्ष विश्वमोहन यादवले सुरुमा पीडित पक्षले लिखित निवेदन नदिएकाले केही गर्न नसकेको भन्दै उम्किन खोजे। पालिका अध्यक्षको भनाइले स्थानीय स्तरमा हुने गम्भीर घटनाप्रति स्थानीय सरकारको हेल्चक्रयाइँलाई प्रस्ट्याउँछ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको मंसिर २० सम्म बोक्सी कसुरमा आठवटा मुद्दा दर्ता गरिएको छ।
प्रकाशित: २३ मंसिर २०७७ ००:४३ मंगलबार